ताजा अपडेट »

शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको २४ औँ वार्षिक साधारण सभा

बुधबार, ०१ भदौ २०७९, १२ : ३७
52 Shares

बुटवल । शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको २४ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साथै संस्थाले तिलोत्तमा नगरका नवनिर्वाचित प्रमुख, उपप्रमुख तथा वाड नम्बर एकदेखि चारसम्मका जनप्रतिनिधिलाई सम्मान समेत गरेको छ ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि नगर प्रमुख रामकृष्ण खाँडले स्वच्छ खानेपानी खान पाउनु नागरिकको नैसर्गिक अधिकार भएको र खानेपानी वितरण गर्दा आर्थिक स्थिति कमजोर भएका नागरिकलाई विशेष ध्यान दिनुपर्ने बताए । तीन तहका सरकार र हरेक संघसंस्थालाई पारदर्शी बनाउन आवश्यक रहेको बताउँदै धेरै खानेपानी संस्था स्थापित गर्नुभन्दा हरेक किसिमले व्यवस्थापन गर्न जरूरी भएको बताए । अघिल्लो सरकारले गरेका राम्रा कामलाई प्राथमिकता दिँदै हरेक संघ संस्था नयाँ सोँचका साथ अघि बढ्न आग्रह गरे । अब हरेक क्षेत्रबाट तिलोत्तमा नगरलाई अझ उत्कृष्ट बनाउन सबै जुट्नुपर्ने बताए ।

त्यस्तै विशिष्ट अतिथि नगर उपप्रमुख जागेश्वर देवी चौधरीले सुरक्षित र स्वच्छ खानेपानी सबैलाई आवश्यक रहेको भन्दै सबै नागरिकलाई यसको पहुँचमा ल्याउनु पर्ने र यसको गरिमालाई सधै कायम राख्न आग्रह गरिन् । खानेपानी विस्तारमा धेरै समस्या रहेको बताउँदै हरेक किसिमका निर्णयमा सधै उपभोक्तालाई प्राथमिकता दिनुपर्ने बताइन् । उपप्रमुख चौधरीले खानेपानीको विषय सरसफाइमा जोडिएको विषय भएकोले यसलाई पनि विशेष ध्यान दिन आवश्यक रहेको बताइन् ।

कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै संस्थाका निवर्तमान अध्यक्ष तथा सल्लाहकार हरि प्रसाद तिवारीले आगामी दिनमा सबै जुटेर अघि बढ्न आग्रह गरे । शंकरनगर आनन्दवन खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष केशवराज न्यौपानेले नगरमा रहेका चारवटै खानेपानीको महसुललाई एकरूपता दिन जरूरी रहेको बताउँदै विभिन्न विषयमा लाग्ने महसुललाई पनि एकरूपता दिएमा आम उपभोक्तालाई सहज हुने बताए । सबै महिला पार्षदको प्रतिनिधित्व गर्दै पार्षद दुर्गा देवी खड्काले स्वच्छ खानेपानी खान र खुवाउन पाएकोमा गर्वको महसुस भएको बताइन् ।

साथै पुरूष पार्षदको प्रतिनिधित्व गर्दै पार्षद काशीराम काफ्लेले यो नितान्त सामाजिक संस्था भएको र यसलाई जोगाउनका लागि सबै जुट्नु आवश्यक रहेको बताए । यस्तै वडा नम्बर २ का अध्यक्ष डिल बहादुर भट्टराईले खानेपानी भनेको जीवन भएको र यहाँको पानीलाई सहि सदुपयोग गर्न जरूरी रहेको बताए । सबैको सहकार्यले यसलाई अझ उत्कृष्ट बनाउन जरूरी रहेको बताए । कार्यक्रममा नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष बेल प्रसाद शर्माले आम उपभोक्तालाई सहज हुने गरि सेवा प्रदान गर्नुपर्ने भन्दै यसलाई अझ शशक्त बनाउन आफ्नो पार्टीको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए ।

नेकपा एमाले नगर अध्यक्ष तामनाथ पाण्डेले खानेपानीसँगै सरसफाइ र ढलनिकासको समस्यातर्फ पनि ध्यान दिनुपर्ने बताए । खानेपानी महासंघ जिल्ला अध्यक्ष ध्रुव धितालले यस उदाहरणीय संस्थालाई सधै जीवन्त राख्न जरूरी रहेको बताए । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख गुणनिधि पाेखरेलले गुणस्तर, मात्रा, समानता र विश्वस्वस्नियतालाई सधै कायम राख्नुपर्ने बताउँदै उपभोक्तालाई पानी उपभोगबाट वञ्चित नगराउ आग्रह गरे ।

कार्यक्रममा जनमोर्चाका नगर अध्यक्ष रूकबहादुर पराजुली, संघिय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका निमित्त कार्यालय प्रमुख अतुलेश कुमार कर्णलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । संस्थाका अध्यक्ष झविन्द्र भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष केशव प्रसाद शर्मा तिवारीको स्वागत र सचिव कमला ज्ञवालीले कार्यक्रमको सञ्चालन गरेकी थिइन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।