बुटवल । नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा रुपन्देहीको सैनामैनामा ‘सैनामैना तीज महोत्सव ’ हुने भएको छ । स्थानीय दुधराक्ष युवा क्लब र उमङ्ग म्यूजिक प्रा.लिको आयोजना तथा जय माता दि एम्यूजमेन्ट प्रा.लिको ब्यवस्थापनमा महोत्सव हुन लागेको हो ।
यहि भदौ २ गते देखि १४ गते सम्म चल्ने महोत्सव बारे आयोजक क्लबले मंगलबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
महोत्सवको तयारी करिब पूरा भएको जनाउँदै नेपाली लोकसंस्कृतिलाई संरक्षण गरि सैनामैनालाई व्यापार क्षेत्रमा उत्पादित वस्तु, सेवा, सीप, पर्यटकहरुको आर्कषणको केन्द्र बनाउन महोत्सव गर्न लागिएको अध्यक्ष पोख्रेलले बताएका छन् । विशेषगरी तीज महोत्सवमा तीज नृत्य प्रतियोगिता लगाएत विभिन्न कलाकारहरुको प्रस्तुती रहने उनले जनाए ।
उनका अनुसार महोत्सवमा पर्यटन प्रवर्द्धन गोष्ठी,औद्योगिक प्रदर्शनी,उत्पादित वस्तुको खरीद बिक्री,दैनिक उपभोग्य वस्तु तथा सेवाहरुको प्रदर्शनी तथा खरीद बिक्री,बालउद्यान हुनेछ भने राष्ट्रिय हास्यव्यङ्ग कलाकारहरुको बेजोड प्रस्तुती समेत रहने छ ।
साथै महोत्सवमा बालउद्यान,अन्तरविद्यालय तीज गीत प्रतियोगिता, खुल्ला तीज गीत प्रतियोगिता,डान्सिङ आइडल समेत हुने जनाइएको छ । महोत्सव सम्पन्न गर्न अनुमानित ५० लाख लाग्ने अनुमान गरिएको छ भने सैनामैना नगरपालिका, प्रदेश मन्त्रालय,विभिन्न ब्यापारिक संघ–संस्थाहरुबाट आर्थिकको प्रबन्ध गरिने आयोजकले जनाएको छ ।
महोत्सवमा १ लाख बढी दर्शकहरु भित्रिने अनुमान गरिएको छ भने महोत्सवमा बिक्री भएको प्रतिटिकट बापत रु.१ रुपैयां सामाजिक क्षेत्रमा खर्च गरिने बताइएको छ ।
सैनामैना वडा न.७ देउवपार स्थित होटल द दारीमा भएको पत्रकार सम्मेलनमा सचिव पदम पाण्डेको सञ्चालन रहेको थियो ।
प्रतिक्रिया