ताजा अपडेट »

डोजर चलाएर बाँकी रहेको गोपी बुटवलमा

मंगलबार, २२ माघ २०७५, १३ : ३६
20 Shares

विद्यार्थीद्वारा किसानलाई सम्मान


राज्यले नगरेको सम्मान बिद्यालयले गर्यो : किसान महतो

माघ २२,

ग्लोबल आवाज
बुटवल । चितवनका एक किसानले उत्पादन गरेको बन्दा गोपीको मुल्य नपाएपछि डोजर चलाएको समाचारले मुलुकमा कृषि र किसानको अवस्था बारे छर्लङ्ग पारेको छ । खैरेनी नगरपालिका–६,चितवनका किसान पूरन महतोले आफ्नो बन्दाकोपीले उचित बजार भाउ नपाएको भन्दै गत माघ ११ गते डोजर लगाएको समाचार सार्वजनिक भएपछि बुटवलको एक विद्यालयका विद्यार्थीहरुले किसानको समस्यामा केही राहत प्रदान गर्नुका साथै सम्मान गर्ने सोँचका साथ केही गोपी खरिद गरी उनलाई सहयोग गर्दै विद्यालयमा नै ल्याएर उनलाई सम्मान गरेका छन् ।


सञ्चार माध्यममा खबर थाहा पाएपछि बुटवल स्थित दीप वोडिङ स्कुलका प्राचार्य टिकाराम न्यौपानेलाई असहय लाग्यो । उनले सो कुरा आफ्ना विद्यार्थीहरुलाई पनि जाकारी गराएपछि उनीहरु एक पत्रकारमार्फत किसान महतोको सम्पर्कमा पुगेका थिए । सोमबार करिब ५० क्विण्टल गोपी गाडीमा राखेर बुटवल आएका किसानलाई उत्पादनको उचित मुल्य प्रदान गर्दै सो विद्यालयका विद्यार्थी तथा शिक्षकहरुले बन्दागोपी आ–आफ्नो घरमा लगेका छन् । विद्यालयमा रहेका करिव २ हजार विद्यार्थीहरु मध्ये कक्षा ४देखि माथीका प्रत्येक विद्यार्थीले एक–एक थान बन्दागोपी घरमा लगेका थिए ।


महतोले उनले २७ कट्ठा जग्गामा बन्दागोपी लगाएका थिए । उचित मुल्य नपाएपछि १७ कट्ठामा डोजर चलाएका थिए । सो क्रममा उनले करिब ६० टन बन्दागोपी नष्ट गरेको उनले बताए । डोजर लगाएर बाँकी रहेको १० कट्ठाको गोपीबाट विद्यार्थीहरुले सामुहिक रुपमा खरिद गरिदिएपछि किसान महतो हर्षितसँगै भावुक पनि भएका थिए । विद्यालयमा रहेको नेपाल युवा रेडक्रस सर्कल तथा इन्ट्रयाक्ट क्लब अफ दीप बोर्डिङ हाई स्कूलका विद्यार्थीहरूको पहलमा किसानललाई आफ्नो उत्पादन सहित विद्यालयमा वोलाइएको थियो ।

सम्मानपछि कृषक महतोले राष्ट्रले दिन नसकेको सम्मान विद्यालयले दिएकोमा खुसी लागेको भन्दै आभार व्यक्त गरे । विद्यालयका प्राचार्य टीकाराम न्यौपानेले कृषिप्रधान देशमा कृषककै श्रमले मुल्य नपाएकोप्रति खेद प्रकट गर्दै समाज र राष्ट्रलाई कृषि उत्पादनमा अभिप्रेरित गर्न र कृषकहरूलाई उत्साहित गराउनुका साथै कृषिप्रति विद्यार्थीको सम्मान बढाउन यस प्रकारको कार्यक्रम गरिएको बताए ।


त्यसैगरी सो अवसरमा ताजा तरकारी सहकारी संस्था चितवनका अध्यक्ष पूर्णभक्त जोशी भुसालले विद्यार्थीहरुले किसान र कृषि उत्पादनलाई प्रोत्साहनका लागि गरेको सहयोग सम्मान कार्यक्रम सराहनिय रहेको बताउँदै नयाँ पुस्ताले कृषिलाई महत्वका साथ लिनुुपर्ने बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र ध्वजूले विद्यालयका तर्पmबाट गरिएको कृषक सम्मान कार्यक्रमले विद्यार्थीहरूमा समाज,कृषक,कृषिप्रति जिम्मेवारीको बोधसँगै सम्मान बढाउने बताउँदै विदालयको तर्फबाट आभार प्रकट गरे । कार्यक्रमको सञ्चालन गर्दै शिक्षक दिनेश खड्काले रु.३५देखि १५० सम्म पर्ने कफी,रु ९५ देखि २५०सम्म पर्ने रेडबुल,रु ३५देखि १०० पर्ने कोकाकोला खपत गर्ने नेपालीहरुले किसानद्वारा उतपादित महत्वपूर्ण उत्पादन बन्दा गोपीको उचित मुल्यप्रदान गर्नुपर्ने बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।