ताजा अपडेट »

५ लाख बढी प्रतिस्पर्धी रहेको ड्रिम टोयोटा कार आर्ट प्रतियोगितामा नेपालबाट बुटवलकी निकिता बनिन् उत्कृष्ट

सोमबार, ३० साउन २०७९, १३ : ०१
16 Shares

काठमाडौं । टोयोटा जापानद्वारा हरेक वर्ष आयोजना गरिने टोयोटा ड्रिम कार आर्ट प्रतियोगिताको यस पटकको संस्करणमा बुटवलकी निकिता भट्टराई समूह ‘सी’ अन्तर्गत उत्कृष्ट प्रतिस्पर्धी बन्न सफल भएकी छिन् ।

विश्वका ७८ देशमा कोरिएका ५ लाख ३० हजार ड्रिम कारको तस्विर मध्येबाट २४ वटा चित्र उत्कृष्ट भएका थिए । ती मध्ये ‘आर्टिफिसियल इन्टेलिजेन्स वेस्ड कार’ नामक चित्र उत्कृष्टमा पर्न सफल भएको हो । टोयोटाले ड्रिम कार आर्ट प्रतियोगिता विश्वका ७८ देशमा आयोजना गर्दै आएको छ । सन् २००४ बाट सुरु भएको यो प्रतियोगिताको फाइनलमा गएर पहिलो पटक नेपालको चित्र पुरस्कृत भएको हो ।

टोयोटाले विद्यार्थीलाई उमेर समूहमा विभाजन गरेर प्रतिस्पर्धा गराउँदै आएको छ । जहाँ समूह ए अन्तर्गत ६ वर्षसम्मका बालबालिका, समूह बी अन्तर्गत ७ देखि १२ वर्षसम्मका बालबालिका र समूह सी अन्तर्गत १३ देखि १५ वर्ष उमेरका बालबालिकाले प्रतिस्पर्धा गर्ने गर्छन् ।

निकिताले टोयोटा मोटर्स कर्पोरेसनको तर्फबाट ३ हजार डलर नगद पुरस्कार समेत प्राप्त गरेकी छिन् । उनी विजेता भएसँगै नेपालको लागि टोयोटाको आधिकारिक विक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेट (यूटीएस) प्रालिले एक कार्यक्रम आयोजना गरी शिल्ड तथा सर्टिफिकेट वितरण गरेको छ । उक्त वितरण कार्यक्रममा यूटिएसका प्रबन्ध निर्देशक ऋतु सिंह वैद्य, बरिष्ठ निर्देशक कैलाशभक्त राजभण्डारी र महाप्रबन्धक महेश कुमार एमको उपस्थिति रहेको थियो ।

बुटवलको एभरेष्ट स्कुलबाट एसईई पास गरेकी निकिता हाल सेन्ट जेभियर्समा ए लेवल अध्ययतरत छिन् । उनी चित्रकलामा आफ्नो रुचि रहेको बताउँछिन् ।-नेपालअटो

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।