ताजा अपडेट »

बुटवल उपमहानगरको न्यायिक समितिले गर्‍यो ६ वटा विवाद निरुपण

आइतबार, २९ साउन २०७९, १७ : ४२
30 Shares

बुटवल । बुटवल उपमहानगरपालिकाको न्यायिक समितिले ६ वटा विवाद निरुपण गरेको छ । स्थानीय तहमा नयाँ जनप्रतिनिधि आएपछि दर्ता भएका २० वटा विवादमध्ये ६ वटा विवाद निरुपण गरेको हो ।

उपप्रमुख तथा न्यायिक समिति संयोजक सावित्रादेवी अर्यालले २० वटा विवाद दर्ता भएकोमा ६ वटा विवाद निरुपण गरेको र १४ वटा प्रक्रियामा रहेको बताइन् । न्यायिक समिति संयोजक अर्यालका अनुसार ७ वटा इजलास र २ वटा न्यायिक समितिको बैठक बसेको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४७ (१) अन्तरगत अघिल्लो आर्थिक वर्षबाट २ वटा मुद्दा जिम्मेवारी सरेर आएका छन् । चालु आर्थिक वर्षमा ३ वटा मुद्दा दर्ता भएका छन् भने एउटा मुद्दाको फैसला भएको र ४ वटा मुद्दा चालु अवस्थामा रहेको संयोजक अर्यालले जानकारी दिए।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४७ (२) अन्तरगत अघिल्लो आर्थिक वर्षबाट ९ वटा मुद्दा जिम्मेवारी सरेर आएका छन् । न्यायिक समितिमा सबैभन्दा बढी जग्गा, सार्वजनिक बाटोसम्बन्धी विवाद न्यायिक समितिमा आएका छन् । यस्तै श्रीमान् श्रीमतीबीचको विवादलाई श्रीमतीलाई खानलाउन र बालबच्चालाई शिक्षादिक्षाको व्यवस्था मिलाउने गरी मेलमिलाप गराएको न्यायिक समिति संयोजक अर्यालले जानकारी दिए।

संविधानको धारा २१७ अनुसार बनेको न्यायिक समितिले विभिन्न ११ विषयमा मिलापत्र गर्न सक्छ भने मेलमिलापको नीतिले नछुने विषयमा भने सुनुवाई कक्षले निर्णय गर्न सक्ने व्यवस्था छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।