ताजा अपडेट »

रुस्दीमाथि हमलाः इरानी पत्रिका लेख्छ- शत्रुको घाँटी च्यात्ने हातलाई चुम्बन गर्नुपर्छ

आइतबार, २९ साउन २०७९, ०९ : २३
19 Shares

तेहरान । शुक्रबार न्युयोर्क राज्यको एक कार्यक्रममा छुरा प्रहारमा परेका चर्चित लेखक सलमान रुस्दीप्रति सहानुभूति जनाउँदै अहिले उनको स्वास्थ्य लाभको कामना भइरहेको छ । तर, यही बेला उनीमाथिको हमलालाई प्रशंसा गर्ने पनि देखिएका छन् । रोयटर्सका अनुसार दी सटानिक भर्सेसका लेखक भेन्टिलेटरमा उपचार गराइरहेका बेला इरानका केही ‘हार्डलाईन’ सञ्चार माध्यमहरूले उनीमाथिको हमलाको प्रशंसा गरेका छन् । 

शुक्रबार उनीमाथि चक्कु प्रहार भएपछि इरानले कुनै आधिकारिक टिप्पणी गरेको छैन् । तर, इरानको क्याहान नामक कट्टरपन्थी अखबारले यस्तो टिप्पणी गरेको छ– ‘न्युयोर्कमा धर्मत्यागी र दुष्ट सलमान रुस्दीमाथि आक्रमण गर्ने साहसी र कर्तव्यनिष्ठ व्यक्तिलाई हजारौं वाहवाही । परमेश्वरको शत्रुको घाँटी च्यात्ने मानिसको हातलाई चुम्बन गर्नुपर्छ । ’

उक्त पत्रिकाका सम्पादकलाई इरानका सर्वोच्च नेता अली खामेनीले नियुक्त गरेका थिए । अधिकांश इरानी पत्रिकाले रुस्दीमाथिको हमलाको स्वागत गरेका छन् । त्यस्तै अर्को दैनिक पत्रिका खोरासानले उक्त हमलाबारे यस्तो शीर्षक राखेको छः ‘नरकको बाटोमा सैतान ।’ अर्को कट्टरपन्थी अखबार वतन इमरोजको शीर्षक यस्तो छः सलमान रुस्दीको घाँटीमा छुरी ।

यसअघि रुस्दीलाई इरानले आक्रमणको धम्की दिएको थियो । सन् १९८८ मा उनको उपन्यास द सटानिक भर्सेस प्रकाशित भएपछि उनलाई हत्या गर्ने धम्की आएको थियो । रुस्दीमाथि इस निन्दाको आरोप छ । पुस्तकमाथिको विवाद बढ्दै जाँदा बेलायत र इरानबीचको कूटनीतिक सम्बन्ध बिग्रिएको थियो । -एजेन्सी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।