ताजा अपडेट »

निहारिकाको माग पूरा नगर्ने सरकारमाथि बालेनको प्रश्न - 'यो अत्ति हो..कानूनी राज्य यस्तो हुँदैन'

शनिबार, २८ साउन २०७९, १५ : ५२
22 Shares

बुटवल । काठमाण्डौं महानगरका मेयर बालेन शाहले न्यायको लडाइमा रहेकी निहारीका राजपुतको माग सरकारले पूरा नगरेपछि प्रश्न उठाएका छन् । बलात्कार पीडित निहारिकालाई शनिबार भेटेका उनले सामाजिक सञ्जाल फेसबुकमा प्रश्न गर्दै लेखेका छन् 'कानूनी राज्य यस्तो हुँदैन ।'

निहारिकाले आफ्नो बच्चाको डिएनए टेष्ट गर्न माग गर्दा पनि सरकारले पूरा नगरेको भन्दै शाहले प्रश्न उठाएका हुन् । 'आफ्नो बच्चाको डिएनए टेस्ट गरिदे मात्रै त भनेको रैछ । यति गर्न एउटी आमाले जल्न तयार हुनु पर्ने ? यो अत्ति हो । यो अत्याचार हो । कानुनीराज्य यस्तो हुँदैन । अभिभावक भनिने राज्य यस्तो हुनु हुँदैन ।'- मेयर बालेन शाहले आफ्नो फेसबुक वालमा लेखेका छन् ।

शुक्रबार निहारिकाले राष्ट्रपति भवन शितलनिवास अगाडि आत्मदाहको प्रयास गरेकी थिइन् । उनी बसन्तपुरमा अनसन बस्दै आएकी थिइन्। उनले आफूमाथि पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेकी हुन् । पछि प्रहरीले उनको उद्धार गरी शिक्षण अस्पताल पुर्याएको थियो। 

आफू १७ वर्षको हुँदा जनकपुरका शिवराज श्रेष्ठले बलात्कार गरेको भन्दै उनी न्यायका निम्ति अनसन बस्दै आएकी छन्। यसअघि उनले गत जेठ १७ गतेदेखि लगातार अनसन बस्दै आएकी थिइन्। त्यसपछि गत असार ३ गते सरकार र निहारिका बीच पाँच बुँदे सहमति भएपछि उनले अनसन तोडेकी थिइन्।

प्रतिवादी शिवराम श्रेष्ठ र अनसनकर्ता निहारिकाका छोराको डिएनए परीक्षणको कानुनी प्रक्रिया अघि बढाउन पहल गर्ने, अनसनकर्ता र उनको छोराको सुरक्षा आवास व्यवस्थापनका लागि गृह मन्त्रालय र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमार्फत् पहल गर्ने, अनसनकर्ताको आर्थिक सहायताका लागि गृह मन्त्रालयमार्फत् पहल गर्ने, राज्यका सम्पूर्ण निकायका कानुन पीडितमैत्री बनाउन पहल गर्नेलगायत सहमति भएको थियो।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।