ताजा अपडेट »

रुकुममा प्रहरीको गाडी दुर्घटना : एक सुरक्षाकर्मीको मृत्यु, ५ घाइते

शनिबार, २८ साउन २०७९, १३ : ३०
24 Shares

रुकुम । रुकुम(पूर्व) मा प्रहरीको गाडी दुर्घटनामा परी एक सुरक्षाकर्मीले ज्यान गुमाएका छन् । सदरमुकाम रुकुमकोटबाट पुथा उत्तरगंगा गाउँपालिकाको तकसेरा जाने क्रममा गाडी पुथा उत्तरगंगा गाउँपालिकाको ११ नम्बर वडा तल्लो सेरामा दुर्घटनामा परेको हो । गाडी सडकबाट झण्डै सय मिटर तल खसेको गाउँपालिकाका प्रवक्ता एवम् ५ नम्बर वडाध्यक्ष टिकासाई घर्तीले जानकारी दिए ।

उनकाअनुसार गाडीमा चालकसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीका डिएसपी र अन्य गरी ६ जना सवार थिए । नेपाल प्रहीका डिएसपी प्रकास डाँगी र सशस्त्र प्रहरीका डिएसपी रविन्द्र श्रेष्ठसहित अन्य ५ जना घाइते भएको जानकारी प्राप्त भएको छ । सशस्त्र प्रहरीका डिएसपी पनि प्रहरीकै गाडीमा सवार थिए ।

घाइतेलाई उद्धारको लागि हेलिकप्टर बोलाइएको छ । बिरामीलाई अहिले हेलिकप्टर ल्याण्ड गर्ने ठाउँ दखिउ डाँडाँमा यम्बुलेन्समार्फत लगिएको प्रवक्ता घर्तीले बताए । जिल्लाबाट अन्य प्रहरी टोली घटनास्थलतर्फ गइरहेको बताइएको छ । फोन नेटवर्कले काम नगरेको कारण पूर्ण विवरण प्राप्त भइनसकेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी एवम् प्रहरी निरीक्षक कृष्ण खत्रीले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।