ताजा अपडेट »

लामो समयदेखि प्रयोगविहिन लुम्बिनीका विद्युतीय गाडी दशैं अघिनै सञ्चालनमा आउने

मंगलबार, २४ साउन २०७९, २१ : ३७
27 Shares

भैरहवा । वर्षौदेखि विभिन्न बहानामा लुम्बिनीमा थन्काएर राखिएका बस दशैं अगावै सञ्चालनमा आउने लुम्बिनी बिकास कोषले जनाएको छ ।
विद्युतिय गाडी सञ्चालन गर्न बनेको कार्यदलले अहिले आफ्नो कामलाई तिव्रता दिए संगै उक्त गाडी सञ्चालनको आशा पलाएको छ ।

लुम्बिनी बिकास कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराई (सिद्धिचरण) को संयोजकत्वमा विद्युतीयय गाडी सञ्चालन सम्बन्धि कार्यविधि बनाउने र यस बारे प्रतिवेदन समेत पेश गर्ने गरि जेठ १९ गते कार्यदल बनाइएको कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिए ।

कार्यदलले अहिले बिभिन्न चरणको कामहरु गरिरहेको छ । बौद्ध परिपथमा बिद्युतिय गाडीहरु कसरी सञ्चालन गर्ने, चार्जिङ्ग स्टेशन कहाँ राख्ने, कुन मोडेलमा सञ्चालन गर्ने लगाएतका बिषयमा बिभिन्न छलफल भई रहेको सदस्य सचिव शाक्यले बताए ।

शाक्यका अनुसार बिद्युतिय गाडीहरु कोषलाई हस्तान्तरण भए पनि अहिले पनि पर्यटन मन्त्रालयकै नाममा रहेको र यसलाई कोषको नाममा नामसारी गराउने प्रक्रिया पनि अगाडी बढाईएको छ । “अहिले गाडीहरुको नम्बर प्लेटको बिषयमा अन्यौलता रहेका छ ।” शाक्यले भने “गाडीहरुमा हरियो नम्बर प्लेट, कालो नम्बर प्लेट अथवा अन्य राख्ने बिषयमा छलफल भई रहेको छ ।”

यसको साथै गाडीहरु लुम्बिनी बिकास कोषले आफै सञ्चालन गर्ने कि तेश्रो पक्षलाई सञ्चालन गर्न दिने भन्ने बिषयमा पनि छलफलकै क्रममा रहेको उनले बताए ।कार्यदलका संयोजक समेत रहेका कोषका कोषाध्यक्षले कार्यदलले यी सबै बिषयमा कार्यविधि बनाई प्रतिवेदन समेत पेश गर्ने बताए । उनले जिम्मेवारी प्राप्त गरे देखी नै समितिले काम सुरु गरेको बताउदै भदौको पहिलो साता सम्म प्रतिवेदन र कार्यविधि बोर्डलाई बुझाउने दावी गरे ।

“कार्यदलले पहिलो काम बिद्युतिय गाडीहरुको अवस्था बुझ्ने काम गरेको छ ।” कार्यदल संयोजक भट्टराईले भने “५ वटा भ्यान र ५ वटा बस समय समयमा सञ्चालन भई आएकोले ठीक अवस्थामा छन्, बाँकी ९ वटा भ्यानको ब्यट्री डाउन भएको छ ।”

यसको मर्मतको लागि सप्लायर्सलाई भनेको बताउदै उनले गाडीहरुको बिमा र यसको नम्बर प्लेटको बारेमा अध्ययन गरि रहेको जनाए । संगै बसको रुट परमिटको बारेमा पनि छलफल चलाईएको भट्टराईले बताए । उनले बौद्ध परिपथमा र भैरहवाको गौतम बुद्ध अन्र्तराष्ट्रिय बिमानस्थल देखी लुम्बिनी सम्म बस सञ्चालन गरिन सक्ने सम्भावना रहेको जानकारी दिए ।

“साउनमै सबै काम सकिएर भदौको पहिलो साता प्रतिवेदन पेश गर्नेछौं ।” उनले भने “दशै अगावै वा ढिलो भए पनि घटस्थापनाको दिनमा उद्घाटन गर्नेछौं ।” सुरुमा अफिसियल रुपमा सञ्चालन, त्यसपछि परिक्षण र दशै अगावै औपचरिक रुपमा सुरुवात गर्ने योजना रहेको उनले सुनाए ।

एडिबीको सहयोगमा लुम्बिनीमा आउने पर्यटकको सुविधाको लागी कोषलाई १४ वटा बिद्युतिय भ्यान र ५ वटा बिद्युतिय बस प्राप्त भएको थियो । एडीबीको अनुदान सहयोगमा क्लिन इनर्जी प्रोजेक्ट अन्तर्गत १३ करोड लागतमा बस र ट्याक्सी लुम्बिनी ल्याइएको हो । नेपाल सरकारले साढे तीन करोड रुपैयाँ भन्सार शुल्क व्यहोरेको छ ।

लुम्बिनीलाई विभिन्न बुद्धस्थल तिलौराकोट, रामग्राम र देवदहसँग जोड्न र त्यहाँ आवतजावतका लागि सजिलो बनाउन यी बस र ट्याक्सी ल्याइएका हुन् । अत्याधुनिक बसमा १९ सिट छन् भने उभिएर यात्रा गर्दा ३५ जना अटाउँछन् । ट्याक्सीमा भने पाँच सिट छन् । पूर्ण वातानुकूलित बस अपाङ्गमैत्री छ भने स्वचालित ढोका छन । एक पटक फूल चार्ज गरे चार सय किलोमिटर सम्म गुड्छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।