ताजा अपडेट »

रुपन्देहीको तुरिया खोलाको बाँध फुट्यो, सयौँ बिगाहा जग्गा डुबानमा (फोटोफिचर)

मंगलबार, १७ साउन २०७९, १८ : ११
4 Shares

भैरहवा । स्थानीय तहहरुमा कत्तिको गुणस्तरहिन कार्य हुने गरेको छ, त्यसको ताजा उदाहरण हो रोहिणी गाउँपालिका वडा नम्बर-५ को “तुरिया बाँध” । असार महिनामा हतार-हतार गरि बनाएको बाँध एक महिना नपुग्दै भत्केको छ । बाँध निर्माण पछि हौसिएर भर्खर रोपाई गरेका किसानको सयौ बिगहा खेत डुबानमा परेको छ । खेतमा धानको सट्टा तुरिया खोलाले बगाएर ल्याएको माटो र गेग्रान थुप्रिएको छ ।

साउन दोश्रो सातामा भएको पहिलो बर्षाले नै बाँध भत्किए पछि स्थानीयहरुमा चिन्ता थपिएको छ । हिजो आएको सामान्य बाढीले नै तुरिया खोलामा १० लाखमा निर्माण भएको बाँध भत्किएको छ । बाँध भत्किएर खोला खेतमा पस्दा ठूलो क्षेत्रफल डुबानमा परेको छ । स्थानिय पञ्चराम सहानीका अनुसार गत बर्ष पनि यस्तै बाढीले खेतमा माटो थुपारेको थियो । “धानको सट्टा खेतमा थुप्रिएको माटो प्रति ट्राली २ सय रुपैया दरले बिक्रि गर्यौ ।” सहानीले भने “त्यसको पनि रकम पाएका छैनौं । गाउँपालिकाबाट स्विकृति नलिई माटो बिक्रि गरेको भन्दै रकम नै पाएका छैनौं।”

उनले गत बर्ष जेनतेन चामल किनेर परिवार पालेको बताए । यस बर्ष पनि यस्तै अवस्था आईपुगेकोले अब परिवार कसरी पाल्ने भनेर उनलाई चिन्ता थपिएको छ । बाँध भत्किएर खेतमा पसे पनि स्थानीय सरकारका कोही पनि प्रतिनिधि गाउँको अवस्था बुझ्न नआएको जिल्ला समन्वय समिति रुपन्देहीका निर्वतमान उप प्रमुख समेत रहेका स्थानिय पशुपति यादवले गुनासो गरे । उनले किसानको सयौ बिगहा जग्गा डुबानमा परे पनि बिपद् ब्यवस्थापन समिति लगायतले लापारवाही गरेको आरोप लगाए । “वडा अध्यक्ष नै पालिकाको बिपद् ब्यवस्थापन समितिको अध्यक्ष छन् तर अहिले सम्म उनि पनि आएका छ्रैनन् ।” यादवले भने

रोहिणी गाउँपालिका वडा नम्बर ५ अन्र्तगत तरकुलहा गाउ नजिक गत वर्ष पनि तुरिया खोला तट तोडेर किसानको खेतमा पसेको थियो । गत बर्ष बाढीको कारण धान काट्न नपाएको उक्त क्षेत्रका किसानले हार गुहार गर्दै गाउँपालिका समक्ष तटबन्धको लागी अनुरोध गरे । गाउँपालिकाले पनि तटबन्धको लागी १० लाख रुपैया छुट्टयाएको थियो । त्यसको लागी स्थानीय नन्दलाल यादवको अध्यक्षतामा उपभोक्ता समिति समेत तयार भयो ।

उपभोक्ता समिति गठन भएर गाउँपालिकामा लागत अनुमान गराउन पुगेका नन्दलाललाई १० मिटर चौडाईको बाँध बनाउने गरि लागत अनुमान तयार भएको थियो । १० मिटर चौडाईको बाँध बनाउन स्थानियले नदिएको कारण काम नै सुरु नै नगरि उपभोक्ता समितिको पदबाट राजीनामा दिएको यादवको भनाई छ ।लागत अनुमानको ठिक बिपरीत करिब ५ फिटको बाँध खोला छेउकै बलौटे माटो प्रयोग गरि पूर्व स्थानीय विकास राज्यमन्त्री घनश्याम यादवको नेतृत्वमा बनाईएको स्थानीयहरुको भनाई छ । तर रोहिणी गाउँपालिकाको कार्यालयले उक्त योजनाको सम्झौता नै नगरिएको दावी गरेको छ । पूरानो उपभोक्ता समितिले काम नगरे पछि वडा कार्यालयले आफै आफ्नै तरिकाले उपभोक्ता समिति गठन गरिपालिकामा पठाएको थियो । सोही अनुसार समितिले काम पनि गर्यो ।

पछि कार्य सम्पादन मूल्यांकन गर्ने क्रममा काममा लापारवाही गरिएको पाईए पछि प्राविधिकहरुले भुक्तानीको लागी सिफारीस गर्न हच्किए । पूर्व राज्यमन्त्रीले धेरै जोडबल लगाए पनि उक्त योजनाको अहिले सम्म भुक्तानी भएको छैन् । कार्यसम्पादन मूल्यांकनमा करिब १ लाख ६० हजारको मात्र काम भएको छ । तर १० लाखौको काम भएको भन्दै भुक्तानी माग्न थालेपछि गाउँपालिकामा नै हल्लीखल्ली मच्चिएको थियो । श्रोतका अनुसार भने अनुसारको कार्य सम्पादन मूल्यांकन गर्नको लागी पालिका प्राविधिक विवेक आचार्य, बिशाल चौधरी लगायतलाई पालिकाकै वर्तमान जनप्रतिनिधिबाट नै ठूलै दबाब आएको थियो । तर प्राविधिकहरु दबावका बावजुद भने अनुसारको काम नगरे पछि उक्त योजनाको भुक्तानी नै रोकिएको छ ।

यसको पुष्टि रोहिणी गाउँपालिका अध्यक्ष बिद्या प्रसाद यादवले पनि गरेका छन् । उनले अनुगमनको क्रममा गुणस्तरहिन काम गरेको भन्दै भुक्तानी नगरिएको बताए । गुणस्तरहिन कामको कारण नै भत्केको बाँधलाई प्रदेश र संघ सरकारको सहकार्यमा चाडै मरम्मत गरिने उनले जनाए । रोहिणी गाउँपालिका अध्यक्षले प्रभावकारी अनुगमन गरिएको भने पनि उक्त योजना कसरी सम्पन्न भयो ? कसले ग¥यो ? र प्रभावित कृषकहरुको बारे भने पालिकाले अहिले सम्म कुनै योजना बनाएको छैन । एक वर्ष अघिदेखि नै बाढी जन्य बिपद् ब्यवस्थापनको तयारी गरि रहेको बिपद् ब्यवस्थापन समिति पनि अहिलेसम्म घटना स्थलमा पुग्न सकेका छैनन् । यसले स्थानीय सरकार र बिपद् ब्यवस्थापन समिति किसानहरुको समस्यामा कत्तिको अनुदार छ भन्ने पनि स्पष्ट बनाएको छ ।

राधेश्याम विश्वकर्मा
लेखकको बारेमा
राधेश्याम विश्वकर्मा