ताजा अपडेट »

खस्कियो एसईई

विहीबार, १२ साउन २०७९, १४ : ३९
26 Shares

माध्यमिक विद्यालय तह परीक्षा एसईई–२०७८ को नतिजा प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बुधबार माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा आज सार्वजनिक गरेको हो । विद्यालय तहको शिक्षाको मापन र उच्च शिक्षाका लागि द्वारका रुपमा मानिने एसईई परीक्षा महत्वपूर्ण र चासोको परीक्षा हो । एसईईको नतीजालाई सम्भवत सबै तहको नतिजा भन्दा बढी चासो र महत्वका साथ हेरिने, लिइने गरिन्छ । यस परीक्षा तथा नतिजामा सर्वसाधारणदेखि उच्च र सबै तहबाट प्राथमिकताका साथ हेरिन्छ ।

राष्ट्रिय परीक्षा बोर्ड यस पटक लेटरग्रेडिङ निर्देशिका २०७८ लागू गर्नबाट पछि हटेको छ । बोर्डले कोरोना प्रभावको कारण देखाउँदै पुरानै पद्धतिबाट नतीजा प्रकाशन गरेको छ । सरकारले न्यूनतम् ३५ प्रतिशत अंकभन्दा कम ल्याउनेलाई अवर्गीकृत अर्थात् ननग्रेडेड हुने निर्णय गरे पनि परीक्षा बोर्डले पुरानै व्यवस्थाअनुसार नतिजा सार्वजनिक गरेको हो । कोभिडका कारण विद्यार्थीले राम्रोसँग पढ्न नपाएको भन्दै धेरै विद्यार्थी ३५ प्रतिशतभन्दा कम नम्बर ल्याउने अवर्गिकृतमा पर्ने देखिएपछि विद्यालय सञ्चालकहरुको दवावमा बोर्डले पुरानै व्यवस्था अनुसार नतिजा सार्वजनिक गरेको हो । कोभिडका बेला २०७६ र ०७७ मा भने आन्तरिक मूल्यांकनका आधारमा विद्यार्थीको नतिजा बोर्डले प्रमाणित गरेको थियो ।

यस वर्ष ४ लाख ९५ हजार सात सय ५१ जनाले एसईई परीक्षा दिएका थिए। अहिलेको नतिजा अनुसार यस वर्षको ३.६ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या ९ हजार ६३३ रहेको छ । त्यस्तै ३.२ देखि ३.६ जीपीए ल्याउनेको संख्या ४१ हजार ६२७ रहेको परीक्षणा बोर्डले जनाएको छ । २.८ देखि ३ दशमलब २ जीपए ल्याउनेको संख्या ६९ हजार ९०० रहेको छ । २.४ देखि २.८ जीपीए प्राप्त गर्ने परीक्षार्थीको संख्या ९० हजार ७५८ रहेको छ भने २ देखि २.४ ल्याउनेको संख्या १ लाख १२ हजार ७३३ रहेका छन् । यस्तै १.२ देखि २ ल्याउनेको संख्या १ लाख ५९४, १.२ देखि १.६ ल्याउने विद्यार्थीको संख्या ४४ हजार ५८६ र जीपीए ०.८ देखि १.२ ल्याउनेको संख्या ३ हजार २८० रहेको छ ।

परीक्षा बोर्डले यस वर्षको एसईई नतिजा सन्तोषजनक रहेको दावी गरेको छ । बोर्डले २०७५ अनुसार ७८ को नतिजा सन्तोषजनक रहेको बताएको छ । तर पछिल्लो ५ वर्षको तुलना गर्दा यसवर्षको नतिजा कमजोर देखिएको छ । समान परीक्षा किसिम र मूल्यांकनको ग्रेडिङ पद्धति हुँदा २०७४ मा ७४ जना र २०७५ मा १ सय ६ जनाले जीपीए ४ ल्याएका थिए । गत वैशाख ९ देखि २० सम्म सञ्चालित एसईईको नतिजाअनुसार ९ हजार ६ सय ३ जना अर्थात् १ दशमलव ९४ प्रतिशतले मात्र सबैभन्दा उच्च (३.६–४) जीपीए प्राप्त गरेका छन्। उच्च अंक र ग्रेड मात्रै परीक्षाको मापन होइन, विद्यार्थीको अन्तरनिहित क्षमता,रुचि र प्रस्तुति पनि हो । तर, अंकगणितीय रुपमा जीपीए ४ र ३.६–४.० ल्याउने विद्यार्थीको संख्या घटेको छ । हरेक विषयमा ३५ प्रतिशत नल्याउने विद्यार्थीलाई फेल बनाउने कार्यविधि स्थगित गर्नुबाट पनि एसईईको नतीजा खस्किएको पुष्टि हुन्छ ।

यस वर्ष प्रदेशअनुसार मूल्यांकन गरिएको छ । सबैभन्दा धेरै उत्तीर्ण हुनेमा बाग्मती छ भने कम हुनेमा कर्णाली र लुम्बिनी प्रदेश दोस्रोमा रहेको छ । त्यस्तै तुलनात्मक रुपमा यसपटक मधेश प्रदेशको नतीजा राम्रो आएको छ । बोर्डले प्रदेशगत रूपमा पहिलो पटक नतिजा सार्वजनिक गरेको हो । एसईईको नतीजा सार्वजनिक भएतापनि २०७५ साल अगाडि जस्तो रौनक,उत्साह र चासो भने देखिएको छैन । के एसईईको महत्व र चासो घटेको हो ? वा परीक्षा र नतिजा प्रणाली सहज र सामान्य बनेको हो ? पक्कैपनि बहसको विषय भने बनेको छ ।

शिक्षाको पहुँच र शिक्षित संख्या बढेको छ । त्यस्तै उच्च शिक्षा पनि सामान्य बन्दै गएको छ । यीनै कारणले मावि तह शिक्षा र नतिजा सामान्य बनेको हो ? शिक्षाको पहुँच र संख्याको कुरा गरिरहँदा गुणस्तरका विषयमा शंका र गम्भीर प्रश्न उठिरहेका छन् । यदि उच्च शिक्षाको कुरा गर्ने हो भने कक्षा छोड्नेको संख्या बढ्दै छ । पछिल्ला वर्षमा स्वदेशमा भन्दा उच्च शिक्षाका लागि विदेशमा जाने विद्यार्थीको संख्या बढ्दो छ । तसर्थ केवल कक्षा १०को परीक्षा र नतीजाको मात्रै नभई समग्र मावि तहको अर्थात् विद्यार्थीको १–१० कक्षा , १०–१३ वर्षको अध्ययनको मूल्यांकन तथा मापन गर्ने एसईई परीक्षा ,पद्धति र प्रणालीको बारे गम्भीर समीक्षा हुन आवश्यक छ ।

मुलुक संघीय प्रणालीअनुसार अगाडि बढेसँगै स्थानीय तह,प्रदेश र केन्द्रिय सरकारसँगै शिक्षासँग सम्बन्धित संघसंस्था,व्यक्ति र सरोकारवालाले मावि तह शिक्षा सुधार र गुणस्तरमा जोड दिन आवश्यक छ । विद्यालय,प्रविधि लगाएत दक्ष जनशक्तिको पहुाच बढेतापनि शैक्षिक गुणस्तर नबढ्नुका कारण पत्ता लगाई एसईई सुधार तथा गुणस्तरमा जोड दिन जरुरी देखिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।