केहिदिन अगाडि इलाका प्रहरी कार्यालय बुटवलले रुपन्देहीको तिलोत्तमास्थित एक कल सेन्टरमा छापा मार्यो । कल सेन्टरमा अवैध तथा गैरकानूनी गतिविधि गतिविधिहरु हुने गरेको आशंका तथा सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो । प्रहरीले उक्त कल सेन्टरमा छापा मार्दा कल सेन्टरको नाममा ठगि धन्दा हुने गरेको पाइएको छ ।
कल सेन्टरको काम ग्राहकलाई सेवा प्रदान गर्नु हो । त्योपनि ग्राहकको आवश्यकतालाई सहज रुपमा परिपूर्ति गर्दै सेवा प्रदान गर्नु हो । प्रविधिको पहुँच र माध्यमबाट सूचना र जानकारी दिई सहज सेवा प्रदान गर्नु हो । तर,त्यहाँ त इन्टरनेट र प्रविधिको माध्यमबाट कल सेन्टरको नाममा ठगि कार्य गरिएको देखिनुका साथै भेटियो । कथित कल सेन्टरमा २ सय ५० को हाराहारीमा १६–२५ वर्षसम्मका युवाहरु कार्यरत भेटियो । ती युवा–युवतीहरु प्रतक्ष्य ठगि कार्यमा संलग्न भेटिएका छन् ।
कल सेन्टरको नाममा ‘इजि एण्ड फास्ट मनि’ को लागि जे पनि गर्न तयार हुने बेरोजगार तथा महत्वकांक्षी किशोर किशोरीहरुको प्रयोग गरी अवैध गतिविधि सञ्चालन गर्ने उक्त सेन्टरले दैनिक २ करोडसम्म कारोबार गरेको पाइएको छ । समयको माग र आवश्यकताअनुसार विभिन्न पेशा,व्यवसायहरु पनि सिर्जित भएका छन् । अझै भनौं नेट र इन्टरनेटको पहुँचसँगै आधुनिकता र प्रविधिसँग जोडिएका धेरै पेशा, व्यवसायहरु रहेका छन् । यस्ता पेशा व्यवसायको नाममा ठगि पनि बढ्दै गएको छ ।
तपाइँलाई लक्की ड्रमार्फत २५ लाख पुरस्कार परेको छ, पुरस्कारका लागि सम्पर्कमा आउनु, तपाइँलाई कम्पनीको वार्षिक अवसरको उत्सवमा लक्की ड्र परेको छ, सम्पर्कमा आउनुस्, जस्ता म्यासेज धेरैको मोबाइलमा आउने गर्दछ । त्यस्तै सामाजिक सञ्जालमा निःशुल्क ऋण,बम्पर अफर, रोजगारका अवसर , घरमै बसी आम्दानी गर्ने अवसर लगाएतका विभिन्न आकर्षक अफर तथा प्रलोभन प्रकाशित हुन्छन् । कैंयौंले त्यस्ता सूचना र अफरलाई विस्वास गरेर सम्पर्कमा गई सेवाप्राप्त गर्न भुक्तानी गर्ने गर्दछन् । र, उनीहरु ठगिन्छन् ।
यस्तै ठगि कार्यका लागि सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल भैरहवा सडकखण्डको तिलोत्तमा–२ जानकीनगरमा आधुनिक र व्यवस्थित कार्यालयको स्थापना नै गरिएको रहेछ । जहाँ २ सय ५० जना दैनिक ठगि कार्यमा संलग्न हुन्थे । विशेषगरी नेपालबाट भारतीय नागरिकलाई ठगि गर्ने उद्देश्यका साथ सञ्चालित कल सेन्टरबाट ऋणको अफर देखाई गैरकानूनी रुपमा अशुली गरेको पाइएको छ । गैरकानूनी रुपमा लगानी गरी केहिदिनमै ऋणको दोब्बर,तेब्बर अशुली गर्ने त्यसका लागि ऋणिको परिचयपत्रका आधारमा सम्पूर्ण विवरण लिई ब्ल्याकमेल समेत गरेको पाइएको छ ।
कल सेन्टरबाट ह्वाट्स अपको माध्यमबाट विभिन्न व्यक्तिलाई सम्पर्क गर्ने , ऋणका प्रकार र सेवाका लागि एप्स डाउनलोड गर्न लगाउने ,ऋणका लागि प्रोत्साहन गर्ने ऋणिले रोजेको ऋणमा ४० प्रतिशत अग्रिम कटौती गरेरमात्रै भुक्तानी गर्ने र केहि दिनमै पूरै पैसाको दोब्बर तेब्बर माग गर्ने जस्ता गतिविधि हुने गरेका थिए । यदि ऋणिले सहज रुपमा भनेजति रकम अशुल नगरे उसलाई अर्को प्रकारको ऋणको विकल्प दिने र त्यसमा पनि ४० प्रतिशत अग्रिम लिने कल सेन्टरको ठगि रहेको थियो । यसरी ऋणिलाई झनै तनाव र ऋणको भारी बोकोउने यदि नतिरे अश्लिल शब्दसहित धम्काउने, अश्लिल तस्वीर बनाई आफन्तलाई पठाउने भन्दै ब्ल्याकमेल गर्ने कल सेन्टरको धन्दा रहेछ ।
४ तल्ले भवनमा ३ तल्ला भाडामा लिई सञ्चालित उक्त कल सेन्टरले एउटा तल्लामा ८५÷८६ वटा कम्प्यूटर सेट जडान गरी अवैध कारोबार र गतिविधि सञ्चालन गर्दै आएको थियो । करिब २ सय ५० कम्प्यूटरमा सोही संख्यामै कामदार, युवायुवतीहरु परिचालित गरी अवैध रुपमा सञ्चालित कल सेन्टर प्रहरीको छापापछि अन्य स्थानमा पनि सोही प्रकृत्तिका कल सेन्टरमा छापा हानिएको छ ।
कल सेन्टरमा कार्यरत अधिकांश विभिन्न जिल्लाबाट आई बुटवल आसपास डेरामा बस्ने, कलेज अध्ययन गर्ने विद्यार्थीहरु कार्यरत थिए । यो समूहका किशोरकिशोरीहरुमा कम सजगता र बढी आकांक्षा हुने हुँदा सञ्चालकले उनीहरुलाई प्रयोग गरिएको पाइएको छ । मासिक १२ हजार देखि ४० हजारसम्म पारिश्रमिक दिई उनीहरुबाट ऋण लगानी, अशुली,धम्की अश्लिल तस्वीर,भिडियो पठाउन जस्ता गतिविधि गराई गैरकानूनी रुपमा करोडौं कमाउे गिरोहनै रहेको छ । प्रहरीले केहि सञ्चालक र कार्यरतलाई हिरासतमा लिई अनुसन्धान गरिरहेको छ । भारतीय र चिनिया मास्टरमाइण्ड र नेपालीको संलग्नतामा सञ्चालित कथित कल सेन्टरले प्रविधि र कलिला किशोर–किशोरीहरुको चरम दुरुपयोग गरी अवैध रुपमा हजारौंलाई ठगी गर्दै करोडौं आम्दानी गरेको देखिएको छ ।
प्रतिक्रिया