ताजा अपडेट »

सिमेण्ट र छड निर्यात: उत्पादन र अर्थतन्त्रमा आशाको किरण

विहीबार, ०५ साउन २०७९, १३ : १७
24 Shares

नेपाली औद्योगिक उत्पादन पनि विदेश निर्यात हुन थालेका छन् । हालै नवलपरासीस्थित पाल्पा सिमेण्टले आफ्नो उत्पादन तानसेन सिमेण्ट भारत निर्यात गरेको छ । त्यसैगरी हालै रुपन्देहीमा रहेको श्री स्टील्सले पनि आफ्नो उत्पादन श्री स्टील्स टिएमटी फलामे छड भारत निर्यात शुभारम्भ गरेको छ । सियोदेखि जहाजसम्म, गुन्दु्रकदेखि चामलसम्म आयात गर्ने देशमा औद्योगिक उत्पादन निर्यात हुनु आँफैमा सुखद हो। यस अगाडि पनि नेपालका उत्पादन र वस्तु निर्यात नभएका भने होइनन् । तर, सिमेण्ट र छड जस्ता औद्योगिक उत्पादन तथा अत्यावश्यक , महङ्गा र ठूलो मात्रामा निर्यात हुने बस्तु हुन्।

गत असारमा नवलपरासीस्थित पाल्पा सिमेण्टले नेपालबाट भारत सिमेण्ट निर्यात सुरु गरेको हो । उद्योगले उत्तर प्रदेशको गोरखपुरस्थित ‘मा’ इन्टरप्राजेज कम्पनीलाई पहिलोपटक एक पटकमा ७ ट्रक सिमेण्ट पठाउन सुरु गरेको छ । दैनिक १८ सय टन उत्पादन गर्दै आएको कम्पनीले नेपाली बजारसँगै भारतीय बजारमा पनि आफ्नो बजार विस्तार गरेको छ । त्यस्तै नयाँ आर्थिक वर्ष शुभारम्भसँगै साउनको पहिलो हफ्ता रुपन्देहीस्थित श्री स्टील्स प्रा.लि.ले टिएमटी फलामे छड भारत निर्यात शुभारम्भ गरेको छ । रुपन्देहीको रोहिणी गाउँपालिकामा रहेको करिब ३ अर्ब लागतमा सञ्चालित उद्योगले पनि भारतको यूपिमा निर्यात गरेको छ । उद्योगले पहिलो पटक करिब ३५ टन फलामे छड निर्यात गर्दै शुभारम्भ गरेको हो ।

औद्योगिक क्षेत्रका रुपमा परिचित नवलपरासी र रुपन्देहीका ती उद्योगले गरेको निर्यातले राष्ट्रिय रुपमा चर्चा पाएको छ । नेपालबाट सिमेण्ट र छड भारत निर्यात हुनु सुखद तथा खुशीसँगै नेपालले औद्योगिक उत्पादन निर्यात गर्न सक्छ भने उदाहरुण पनि हो । त्यस्तै भारत जस्तो ठूलो र विकसित राष्ट्रमा नेपालले औद्योगिक उत्पादन निर्यात गर्नु नेपाली उद्योगी व्यवसायीसँगै मुलुककै गर्वको सवाल पनि हो । अझै अर्को रोचक पक्ष दुबै प्रकारका उत्पादनका कच्चा पदार्थ भने भारतबाटै आउन गर्दछन् । सिमेण्ट उत्पादनका लागि आवश्यक क्लिंकर भारतबाटै र छड निर्माणका लागि फलाम पनि भारतबाटै आउने गर्दछ ।

सरकारले ल्याएको पछिल्लो बजेटमा सिमेण्ट, छड, जुत्ता, चप्पल निर्यातमा ८ प्रतिशत अनुदान दिने व्यवस्था गरेपछि उद्योगीहरु उत्साहित भएका छन् । निर्यात सुरु गरेका दुबै कम्पनीले आगामी दिनमा मात्रा बढाउने योजना बनाएका छन् । त्यसैगरी पाल्पा सिमेण्ट र श्री स्टील्स टिएमटी छड निर्यातसँगै अन्य उद्योगरुहले पनि निर्यातको तयारी गरेका छन् । अरबौं लगानी र सयौंलाई रोजगार प्रदान गरेका यी उद्योगले निर्यात गरेर अन्तराष्ट्रिय व्यापारमा पनि बढाउने योजना बनाएका छन् । आयात घटाई निर्यात बढाउँदैछन्।

नेपालको व्यापारमा आयात र निर्यातको ग्राफ तुलनानै गर्न नमिल्ने छ । आयातको ग्राफ उच्च बिन्दुमा छ भने निर्यात शुभारम्भकै बिन्दुमा यस्तो अवस्थामा अझैं भनौं लामो समयको कोभिड महामारी र आर्थिक संकटमा समयमा उद्योगले निर्यात शुरु गरेका छन्। मुलुकनै आर्थिक संकटबाट गुज्रिरहेको अवस्थामा बस्तु निर्यात गरेर आम्दानी गर्नु आशाको किरण हो । नवलपरासी र रुपन्देहीमा मात्रै होइन, देशैभर हाल दजनौं सिमेण्ट उद्योग र छड उद्योग छन् । नेपाल सिमेण्ट र छडमा आत्मनिर्भर बनिसकेको छ ।

सिमेण्ट र छडको निर्यात शुभारम्भसँगै निरन्तरता तथा उत्पादन र निर्यात दुबै बढाउँदै लान जरुरी छ । त्यसैगरी अन्य ठूला उद्योगलाई निर्यात र साना उद्योगलाई आत्मनिर्भरका लागि सरकार र सरोकारवालाले जोड दिनु पर्दछ । शुलभ र सहज कर्जा,नियमिति विद्युत आपूर्ति, आवश्यक जनशक्तिको उपलब्धता र उत्पादति वस्तुको सहज बजारीकरण र उपर्युक्त मूल्य उद्योगका लागि अत्यावश्यक आधार हुन् । ती आवश्यकता र आधार परिपूर्ति गर्दै औद्योगी र बजारीकरणको लागि सरकारको स्पष्ट नीति आवश्यक पर्दछ।

सरकारले पछिल्लो बजेटमा ल्याएको ८ प्रतिशत निर्यात अनुदानले निर्यातलाई प्रोत्साहन गरेसँगै यसको सही कार्यान्वयन पनि आवश्यक रहन्छ, लाभ लिनकै लागि भन्दा पनि नियमित र दिगो निर्यातमा उद्योगीले जोड दिन आवश्यक छ। निर्यातले आन्तरिक तथा अन्तराष्ट्रिय प्रतिष्पर्धा बढाउँछ । जसले गुणस्तर र मूल्यमा पनि प्रतिष्पर्धा यसबाट स्वेदशी उपभोक्ता र विदेशी उपभोक्तलाई बस्तु छनौट र मूल्यमा पनि टेवा पुग्दछ । हाल मुलुकमा रहेका सिमेण्ट र फलामे छडका उद्योगहरुबाट निर्यात गरेता पनि वार्षिक अरबौं रकम आयात हुने देखिन्छ ।

लुम्बिनी प्रदेशको नवलपरासीस्थित पाल्पा सिमेण्ट र रुपन्देहीमा रहेको श्री स्टील्स प्रालिे पहिलो पटक शुरु गरेको सिमेण्ट र छड भारत निर्यातले नेपाली उद्योग र अर्थतन्त्रमा आशाको किरण झल्किएको छ । यससँगै निरन्तरता र निर्यातवृद्धि आवश्यक रहेको छ भने यसरी नै अन्य उद्योगले मुलुकमा आत्मनिर्भरतासँगै निर्यातमा जोड दिई शुभारम्भ र निरन्तरता दिन आवश्यक छ । साथै लगानीकर्ता, तीनै तहका सरकार र सरोकारवालाहरुले पनि नेपाली उद्योगबाट उत्पानद, आत्मनिर्भरता र निर्यातमा वृद्धि गरी आयात विस्थापन र निर्यात वृद्धिगरी अर्थतन्त्रलाई चलायमान तथा बलियो बनाउन जरुरी छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।