ताजा अपडेट »

गाली गलौजको संस्कृति बन्द गरौँ !

मंगलबार, ०३ साउन २०७९, २० : १३
6 Shares

एकदिन कान्तिपुर टेलिभिजनमा हरिदास जी महाराज प्रवचन गरिरहेका थिए । प्रवचनको क्रममा उनले एउटा उदाहरण पेस गरे । कुनै एक घरमा ६ जनाको परिवार थियो । बुबाआमा छोरा बुहारी र २ छोरीहरु १० वर्ष अगाडि छोराको बिहे भएको थियो । तिनिहरुको बीचमा गहिरो प्रेम थियोे । उनीहरु एकले अर्कोलाई अत्यन्तै माया र सम्मान गर्ने गर्दथे ।

उनीहरुको जोडि साँच्चैनै राधा कृष्णको जस्तो या भनौ लैला मज्नुको जस्तो थियो । श्रीमान अफिसमा जागिर खाने गर्दथे । उनी अफिसमा जाने समयमा श्रीमतीले कोट र टिफिन बक्स बोकेर घरको गेटसम्म पुग्ने गर्दथिन् । दुवैले हात हल्लाएर टाटा बाई–बाई गर्दथे । त्यसरी नै साँझ श्रीमान अफिसबाट आउने समयमा उनी गेटसम्म पुग्दथिन्, श्रीमानको ब्याग समाएर कोठामा जान्थिन् । कोट फुकाएर ह्याङ्गरमा टाङदथिन् । पानीको गिलास उनलाई दिन्थिन् । उनिहरुको परेवाको जस्तो जोडी र गाढा माया प्रेम देखेर सबै लोभिने गर्दथे ।

एक दिन उनि अफिस गइसके पश्चात् घरका परिवारले अप्रिल फुल मनाउने विचार गरे । दुई ओटी छोरीहरुले एउटा लभ लेटर लेखेर तयार गरे । त्यो माया प्रेमका शब्दहरुले भरिएको लभ लेटर पढेर आमा बुबा र भाउजूलाई सुनाइयो । त्यो लभ लेटर कुनै अर्कै केटाले भाउजूलाई लेखेको भनेर सम्बोधन गरिएको थियो । पाँचै जनाको सल्लाहमा त्यो लभ लेटर दाई र भाउजू सुत्ने पलङमा उनिहरुले राखिदिए ।

बेलुकी उनि अफिसबाट आउँदा सदाझै उनि गेटमा लिन गइन् । ब्याग समातिन् टिफिन बक्स समातिन र श्रीमानसंग सँगसँगैकोठामा पसिन, कपडा फेरिसकेपछि उनले त्यो चिठी आफ्नो पलङमा देखेँ । कसको चिठी रहेछ भनेर उनले पढेँ । चिठी पढ्दापढ्दै उनको चेहरा बिग्रदै गयो । उनी रातो पिरो हुँदै गए । उनको शरिरले जमिन छोडे जस्तो लाग्यो । उनले पसिना छाडे, चक्कर आउला जस्तो हुन थाल्यो । यहि बीचमा श्रीमतीले पानी लिएर आइ पुगिन् । तर, उनले पानी पिउनुको साटो गिलासलाई खोसेर जोडसँग जमिनमा फालिदिए श्रीमतीको कपाल समातेर लछारपछार गर्दै नानाथरी गाली गर्न थाले । ए ! त ता वेश्या पो रहिछस् तलाई मैले दश वर्षसम्म चिन्न सकिन । त्यो लभ लेटर लेख्ने नाठो को हो ! उसैसँग गई हाल, तँलाई एक मिनेट पनि यहा बस्ने अधिकार छैन । तँ विश्वासघाती, बेइमानी होस् ।

यही बीचमा उनका आमा बुबा र दुई बहिनी हरु कोठामा आइपुगे आमाले सोध्नुभयो के भयो र बाबु ! उनि रिसाउँदै भने अझ के भयो र बाबु भन्नुहुन्छ । तपाईंले पुलपुलाएर पालेकी बुहारीको चरित्रको बारेमा के तपाइँले थाहा पाउनु भएको छ ! ‘यी लौ हेर्नुस् तपाइँकी प्यारी बुहारीको चर्तीकला’ भन्दै आफूले पढेको लभ लेटर आमाको हातमा थमाइदिए । तर, आमामा कुनै परिवर्तन आएन, कुनै प्रतिक्रिया देखिएन । बहिनीहरुलाई सम्बोधन गर्दै लौ हेर बहिनीहरु तिमीहरूकी भाउजूको चर्तीकला ! उनिहरुमा पनि कुनै बदलाव देखा परेन । सबै शान्त छन्, धैर्य छन् सबैको मुखमा मुस्कान छ । कुनै क्रिया प्रतिक्रिया देखा पर्दैन । अनि उनि आँफै अचम्मित हुँदै आमालाई प्रश्न गर्दछन कि आमा ! यति ठूलो घटना घटिरहँदा पनि तपाइँहरुमा कुनै प्रतिक्रिया, उत्तेजना देखा पर्दैन के कुरा हो, मैले बुझ्न सकिन।

अनि आमाले भन्नुहुन्छ ‘हेर बाबु आज अप्रिल फुल मनाउने दिन भएकाले हामी पाँचै जनाले सल्लाह गरेर यो लभ लेटर लेखेका हौँ तिमीले बुहारी माथि कुनै शङ्का गर्न पर्दैन । त्यो पत्र कुनै अर्को परपुरुषले लेखेको होइन तिम्रा बहिनीले लेखेका हुन, अक्षर पनि बहिनीकै छन्।’ आमाको यो कुरामा सबैको सहमति देखेपछि उनी क्रमशः सन्तुलनमा आइपुगे । उनका पसिना पनि सुक्दै जान थाले । परिस्थिति सामान्य बन्यो । यो दृष्टान्तपछि अगाडि हरिदासजी थप्दछन्– मानिसको स्वभाव कस्तो हुँदो रहेछ । १० वर्षदेखि उनले जानेको बेहोरेको र भोगेको श्रीमतीलाई एउटै घटनाले कसरी घृणा आक्रोश र अविश्वासमा रुपान्तरण गर्याे ! महाराज अगाडि भन्दछन् ‘कि मानिलिउ उनको मन साच्चै नै अर्को परपुरुषसँग गएको हो भने पनि के उनको शरिरलाई यहाँ बन्धक बनाउन उचित हुन्थ्यो र ! किनकि मन स्वतन्त्र छ, मनलाई बाँधेर राख्ने कुनै यन्त्र रहेको छैन । मनलाई बाँधेर राख्न सकिँदैन जसको मन जहाँ गएको छ, शरीर पनि त्यही पुग्नु अनिवार्य हुने गर्दछ ।

यो दृष्टान्तपछि अब हामी राजनीतिमा फर्काै । कस्तो छ हाम्रो राजनैतिक चेतना एक जमाना थियो । हामी गद्धार पुष्पलालको किताब झोलामा राखेर हिड्ने गर्दथ्यौ । ०४० साल तिर निर्मल लामा सिआइडी हो, दक्षिणपन्थी हो, भनेर हामीलाई पढाउने गरिन्थ्यो । ०४७/०४८ मा कांग्रेसको सदस्य मर्याे भने कम्यूनिष्ट घटकहरु मलाम नजाने । अनि कम्यूनिष्टको सदस्य मर्याे भने कांग्रेसहरु मलाम नजाने , कांग्रेसकी छोरी कम्यूनिष्टले विवाह नगर्ने अनि कम्यूनिष्टकी छोरी कांग्रेसले विवाह नगर्ने, यो डर लाग्दो भयावह चक्र हामीले पार गरेका छौँ।

पाँच वर्ष अगाडी सम्म एमालेहरु दक्षिणपन्थी एमाओवादीहरु उग्रपन्थी जडशुत्रवादी भन्ने हरुको बीचमा राता–रात पार्टी एकता हुन पुग्यो । सबै दक्षिणपन्थी सबै उग्रपन्थीहरु राता–रात अव्वल दर्जाका बामपन्थी बन पुगेँ । सबै महान बने,अनि जब आफ्नो स्वार्थ मिलेन, झगडा बन्यो त्यसपछि तथानाम गाली, आरोप र प्रत्यारोपको प्रारम्भ भयो । त्यो चक्र अहिले पनि चलिरहेकै छ । तर, हेक्का रहोस् कि ‘जब यिनीहरु बीचको सत्ता स्वार्थमा भागबण्डा हुनेछ अनि सबै गाली पुराणहरु समाप्त हुनेछन्, सबै महान भयको क्लास प्रशिक्षण चल्ने छ।

केहिदिन अगाडि उप्रेन्द र बाबुराम पक्षको बीचमा कुरा मिलेन एकथरी उपेन्द्रको निम्तोमा विरगंज पुगे, एकथरी बाबुरामको निम्तोमा काठमाडौँ पुगे । आज त्यहि गालीपुराणको इतिहासको पुनरावृत्ति भइरहेकोछ विरगंज जानेले काठमाडौँ जानेहरुलाई तथानाम गाली गरेका छन् भने काठमाण्डौं जानेहरुले विरगंज जानेहरुलाइ त्यसरी नै तथानाम गाली गरेका छन् । अरे लाल बुझक्कडहरु हो ! तिमीले आजसम्म के पढेका छौं, के सिकेका छौँ, के राजनीति गरेका छौं, के कारणले उत्तेजित भएका छौँ, तिमी कहाँ जान खोजेका छौँ, कस्तो संस्कृति निर्माण गर्न खोजेका छौं ? तिमीले गद्दार भनेको नेता दुई दिनपछि तिम्रो पार्टीमा प्रवेश गर्याे भने तिम्रो चेतनाले महान देख्न थाल्दछ । के यही हो दर्शन राजनीति ! प्रचण्ड झलनाथ र माधवलाई गाली गर्ने अन्धभक्त हरुले २ महिनापछि पार्टी एकता भयो भने महानताको पगरी गुथाउन अघिल्लो पङ्तिमा भेटिने छन् ।

मानिस स्वतन्त्र प्राणी हो उसको व्यक्तिगत स्वतन्त्रतामा हस्तक्षेप गर्नु किमार्थ न्यायसंगत हुँदैन । कसैको मन मोहन बिक्रमजीको मसालमा बस्यो भने किन लाञ्छना लाउनु पर्याे! कसैले प्रचण्ड र माओबादीलाई राम्रो देख्दछ भने अरुले टाउको दुखाउन किन पर्याे । कसैले ओलिजी एमालेलाई राम्रो ठान्दछ भने त्यो उसको मनको कुरा हो, इच्छाको कुरा हो, अरुले धारे हात किन लगाउनु पर्याे ।

त्यसरीनै आज कसैले उपेन्द्रजी लाई र कसैले बाबुरामजीलाई राम्रो देखेको छ भने उसको मनको कुरा हो । भावनाको कुरा हो, स्वतन्त्रताको कुरा हो हामीले हस्तक्षेप नगरौँ । जस्को मन जँहा गएको छ शरीर पनि सहि ठाउँमा हुन पर्दछ । मन र शरीर अलग गराउनु हुँदैन । कसैको मन उपेन्द्रजी कँहा गएको छ भने यता बाबुरामजीको समूहमा बसिरहनु न्यायसंगत हुँदैन ।

यदि कसैको मन बाबुरामजी को विचारमा गईराखेको छ भने उपेन्द्रजी को समूहमा बसिरहनु उचित र न्यायसंगत हुँदैन । त्यसैगरि कसैलाई एमाले राम्रो लाएको छ भने अर्को पार्टीमा बसिरहनु मन प्रतिको अन्याय ठहर्छ । कसैलाई माओवादी या कांग्रेसतिर जाने इच्छा छ भने जानु नै न्यायसंगत कुरा हो मनलाई बन्धक बनाउनु हुँदैन । हरिदासजी महाराजको दृष्टान्तबाट यहि कुरा सिक्न पर्ला कि !

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।