ताजा अपडेट »

यु-२० टिममा स्थान बनाउन डेनमार्कदेखि काठमाडौंसम्मकाे यात्रा

बुधबार, २२ असार २०७९, १६ : १२
6 Shares

काठमाडौं । अघिल्ला तीन संस्करण यु–१८ र यु–१९ संरचनामा आयोजना भएको साफ च्याम्पियनसीप यस संस्करण भने यु–२० को हुने भएकाे छ । एकेडेमीबाट उत्पादित खेलाडीहरूको उमेर हद नाघ्दा र एकेडेमीका खेलाडी पर्याप्त नहुँदा अखिल नेपाल फुटबल संघ(एन्फा)ले खुला छनोटका लागि सूचना सार्वजनिक गरेकाे थियाे । 

एन्फाकाे सूचनासँगै ७७ जिल्लाका करिब सात सय खेलाडी एन्फा कम्प्लेक्समा आयोजना भएको खुला छनोटमा सहभागी भए । सात सयभित्रै थिए, सुगम सुवाल । सुगम एन्फाले सूचना सार्वजनिक गरेसँगै युरोपेली मुलुक डेनमार्कबाट नेपालका आएका थिए । पाँच वर्षदेखि आमा बुबासँग डेनमार्कमा बिताइरहेका सुगम युवा टोलीमा स्थान बनाउने सपना साकार पार्न यतिबेला सातदोबाटोस्थित एन्फा मैदानमा आफूलाई निखारी रहेका छन् । 

मुख्य प्रशिक्षक मेघराज केसीले छनोटमा सहभागी करिब सात सयबाट ३० सदस्यीय टिम बनाएका छन् । यो टिमले नै आगामी साफ च्याम्पियनसीप र एएफसी यु–२० एसियन कप छनोटमा नेपालको यात्रा, योजना र लक्ष्य  बनाउनेछ । केसीले तयार पारेको ३० सदस्यीय टोलीमा सुगम पनि समेटिएका छन् । डेनमार्कको तेस्रो श्रेणीको ‘भीएसके ओरुस’ एकेडेमीमा अनुबन्ध सुगमको लक्ष्य अन्तिम २३ भित्र रहेको छ । 

‘देशको प्रतिनिधित्व गरेर खेल्ने ठूलो योजना छ । यहि सपना साकार पार्न डेनमार्कबाट नेपाल आए ।’ बुधबार बिहान एन्फा मैदानमा अभ्याससत्र पछि सुगमले  भने । ‘एन्फा साइटमा हेरेको थिए । बाबा ममीलाई यस्तो छ भनेर भने । उहाँहरूको पनि सपना होला, राष्ट्रिय टिममा देख्ने ।’ सुगमको जन्म काभ्रे जिल्लाको धुलिखेलमा भएको हो । १४ वर्षको उमेरमा सुगम आमा (सकुन)सँग डेनमार्क गएका थिए । त्यसअघि नै बुबा श्याम क्यानडामा थिए । बुबा क्यानडाको स्थायी बसाेबास प्राप्त नागरिक भएसँगै सुगमले पनि मातृभूमि छाड्ने योजना बनाए । 

त्यसयता, सुगम दोस्रो पटक नेपाल फर्किएका हुन् । गत दसैंमा पनि उनी नेपाल झरेका थिए । ‘बुबा फ्रान्समा ‘पिएचडी’ सक्काएर अमेरिका जानुभयो । त्यसपछि सन् २०१७ मा क्यानडा गएपछि म र ममी पनि क्यानडा नै गयाैं । क्यानडामा दुई महिना बसेपछि हामीसँगै डेनमार्क गयाै‌ं ।’ १९ वर्षीय सुगम भन्छन् । सुगमले क्यानडा पुगेपछि एक एकेडेमीमा २–४ महिना खेले । जहाँ सुगमले एकेडेमीको यु–१५ र १६ टिमबाट खेलेका थिए । यसपछि बुबासँगै डेनमार्क पुगेपछि सुगमले क्यानडाको ‘ओरुस क्लब’मा ट्रायल दिए ।  

‘डेनमार्क पुगेपछि स्कुलबाट खेले ।  स्कुलका कोचले क्लबमा पुर्याउनु भयो । यु-१७ र यु-१९ खेल्न पाए । सिटी परिवर्तन भएपछि ‘भिएसके ओरुस’ मा ट्रायल दिए । कोरोनाले गर्दा यु-१७ खेल्न पाइन । यु-१९ दुई वर्ष खेले । अब, नेपालमा खेलेर फर्केपछि क्लबको सिनियर टिमबाट खेल्छु,’ सुगम भन्छन् । सुगम लेफ्ट र राईट विंगसँगै आवश्यकता अनुसार फरवार्ड पनि खेल्न सक्छन् । हाल यु-२० को अभ्यासमा भने सुगम लेफ्ट विंगमा अभ्यस्त बनाउँदै छन् । जहाँ उनले प्रशिक्षकको निर्णयमा न्याय गरेका पनि छन् । 

त्यसो भए के सुगम युवा टिममा पर्छन् त ? ‘खोई हेर्नुपर्छ ।’ हाँस्दै सुगम भन्छन् । राष्ट्रिय टिमबाट खेलिरहेका आयुष घलान र सुगमको पोसिजन समेत एउटै छ । यता, राइटमा समेत ए डिभिजन लिगमा आफूलाई प्रमाणित गरिसकेका कृतिसरत्न छुन्जु छन् । त्यसैले पनि सुगमलाई अब ठूलै चुनौतीको सामना गर्नु परेको छ । ‘मेरो पोजिसनमा म र मनज्ञ (नकर्मी) छौं । अब, आयुषलाई पनि लेफ्टमै खेलाए गाह्रो पर्छ ।’ हाँस्दै सुगम भन्छन् । ‘तर राइटको लागि पनि म तयार छु । तर, त्यसमा पनि कृतिसरत्न छ ।’ 

नेपाली टिमका प्रशिक्षक मेघराज केसी सुगममा केही खुबी भएकै कारण यो स्थान (छनोट ३० भित्र) सम्म आईपुगेको बताउँछन् । ‘अहिले नै मैले २३ छनोट गरेको छैन । यहि ३० ले नै साफ र एएफसी खेल्ने हो । यहाँ हरेक दिन खेलाडी छनोट भइरहेको छ । यहाँ रहँदैमा टिममा परिन्छ भन्ने छैन ।  उ (सुगम) पक्कै यहाँसम्म आइपुगेको छ । केही खुबी भएर नै आएको हो ।’ ए डिभिजन क्लब सातदोबाटो युथ क्लबका प्रशिक्षक समेत रहेका केसीले भने । 

उता, बुबा श्यामले छोरो ३० भित्र छनोट भएपछि बधाई दिँदै गर्वको विषय भएको सामाजिक संजालमा ‘पोष्ट’ गरेका छन् । ‘बधाई छ, सुगम । तिम्रो राष्ट्रिय टिमबाट खेल्ने सपना नजिक छ । मेहनत जारी राख । हामीलाई गौरव छ ।’   हाललाई भने सुगम आफ्नो लक्ष्य यु-२० नै रहेको र यसमा डेब्यु भएमात्रै राष्ट्रिय टिमलाई लक्ष्य बनाउने बताउँछन् । उनी भन्छन्, ‘अहिलेको लक्ष्य भनेको यही टिममा पर्ने हो । यु-२० मा डेब्यु पाउनु पर्याे । त्यसपछि मात्रै राष्ट्रिय टिमको लक्ष्य बनाउनेछु । लक्ष्य भनेकै राष्ट्रिय टिम हो ।’

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।