ताजा अपडेट »

एक चौथाईले घट्यो लुम्बिनीको आन्तरिक आय, दानपेटिकामा भारतीय र नेपाली मुद्रा मात्र

मंगलबार, २१ असार २०७९, १७ : ०२
4 Shares

भैरहवा । कोभिडको मारमा नेपालको पर्यटन क्षेत्र परेको छ । त्यस मध्ये पनि सबै भन्दा बढी प्रभावित लुम्बिनी भएको छ । यसको प्रत्यक्ष असर लुम्बिनीको आन्तरिक आयमा परेको छ ।

लुम्बिनीको प्रमुख आम्दानीको श्रोत मानिने दानपेटिकामा पहिलेको तुलनामा एक चौथाईले रकम घटेको छ । आईतबार देखी गणना सुरु गरिएको दानपेटिकामा मंगलबार सम्म साढे ८ लाख रुपैया मात्र रहेको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले जानकारी दिए । उनले आज पनि गणना जारी रहेको कारण यो रकममा केही वृद्धि हुने जनाए ।

ठूला नोटहरु गणना गरेर सकिएका छन् । बुधबार २० रुपैयाँ, १० रुपैयाँ, ५ रुपैयाँ र भारतीय १० रुपैयाँका नोटहरु गणना भई रहेको थियो । यसले कुल रकममा केही रकम वृद्धि गरे पनि पहिलेको तुलनामा एक चौथाई मात्र हुने छ । चैत्र १८ गते खोलिएको दान पेटिका त्यसको ३ महिना पछि मात्र असार १८ गते खोलिएको थियो ।

लुम्बिनी विकास कोषको विनियममा प्रत्येक १५/१५ दिनमा दानपेटिका खोली जम्मा भएको रकम बैंक दाखिला गर्नु पर्ने प्रावधान रहेको छ । तर पछिल्लो समय कोभिडको कारण लुम्बिनीमा पर्यटकको आगमन अत्यन्तै न्यून रहेको र दान पेटिकाको रकम गणना प्रक्रिया खर्चिलो रहेको बताउदै कोषले ३ महिना पछि दान पेटिका खोलेको हो ।“कोभिड अघि प्रत्येक १५ दिन अथवा १ महिनामा दान पेटिका खोल्दा ३५ देखी ४० लाख सम्म भेटी रकम हुने गरेको थियो ।” कोषाध्यक्ष भट्टराईले भने “अहिले श्रद्धालुहरुको आगमन कम हुदा यो रकम ह्वात्तै घटेको छ ।”

कोभिड अघि दानपेटिकामा डलर लगायत बिभिन्न बौद्धमार्गी देशहरुको बिदेशी मुद्रा आउने गरेको थियो । कोभिडका कारण तेश्रो मुलुकका श्रद्धालु आउन नसक्दा दानपेटीमा अहिले भारतीय र नेपाली मुद्रा मात्र हुने गरेको कोषको भनाई छ । यसले पनि आम्दानी घटेको भट्टराईले बताए ।आन्तरीक आम्दानीबाटै कर्मचारी र अन्य व्यवस्थापन गर्दै आएको कोषलाई अहिले आम्दानी घटे पछि कर्मचारी ब्यवस्थापन गर्नै हम्मे हम्मे पर्ने गरेको छ ।

दानपेटिकामा संकलित रकमलाई पारदर्शी बनाउँन सिसिटिभि क्यामेरा जडान गरि गणना शुरु गरिएको छ । लुम्बिनी भ्रमणमा आएका पर्यटकहरुले पवित्र ह्ृदयले गरेको दानलाई लुम्बिनीको विकासमा लगाउने गरि दानपेटिका राजस्व शाखा, लुम्बिनि सुरक्षा प्रतिनिधि, नेपाल प्रहरी, दंगा प्रहरी बल, सशस्त्र प्रहरी र लुम्बिनी साँस्कृतिक नगरपालिका प्रतिनिधिहरुको रोहवरमा खोलिने गरेको कोषका कोषाध्यक्ष भट्टराई को भनाई छ । उनले आफूले कोषाध्यक्ष पद समालेदेखि दानपेटिकामा संकलित दान पारदर्शी बनाउने र यसको सदुपयोग भएको सन्देश दिन सञ्चारकर्मीलाई समेत बोलाएर गणना थालिएको बताए ।

राधेश्याम विश्वकर्मा
लेखकको बारेमा
राधेश्याम विश्वकर्मा