ताजा अपडेट »

पर्यटक तान्दै भूत छाँगा

सोमबार, २० असार २०७९, २३ : ०२
10 Shares

सिन्धुपाल्चोक । सुन्दै ज्यान नै झसङ्ग हुने नाम हो भूत । भूत भन्ने बित्तिकै मान्छेको मन तर्सिन्छ । सिन्धुपाल्चोकमा एउटा यस्तो छाँगा छ, जसको नाम भूत छाँगा राखिएको छ । नामले उक्त छाँगामा जाने आट धेरैले नगर्लान् । तर, नाम अनुसारको ठाउँ भने देखिँदैन ।

सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारासागाँचोकगढी नगरपालिका वडा नम्बर ७ मगुवामा अवस्थित छ भूत छाँगा । ओझेलमा पर्दै गएको भूत छाँगाले पछिल्लो समय ह्वात्तै पर्यटक तान्न थालेको छ । 

सदरमुकाम चौताराबाट करिब सात किलोमिटरको दूरीमा रहेको यो छाँगामा जानेहरूको अहिले लर्को लाग्ने गरेको छ । वरिपरि हरिया पहाडी जंगलले घेरिएको कोप्चो गहिरो ठाउँ, झण्डै ८० फिटमाथिबाट खसेको पानीको फोहोरा, सानो बगरले जो कसैलाई पनि आनन्दित तुल्याउँछ ।

गर्मी समय भएकाले छाँगामा रमाउन टाढाटाढाबाट मानिस पुग्न थालेका छन् । र, उनीहरूले सामाजिक सञ्जालको माध्यमबाट छाँगाको प्रचार गर्न थालेसँगै आन्तरिक पर्यटकको आकर्षण बढेको हो । अधिकांशले टिकटक र फेसबुकको माध्यमबाट थाहा पाएपछि रमाइलो गर्न यस छाँगामा पुगेको बताएका छन् ।

हाइकिङका लागि पर्यटकको रोजाई

हाइकिङका लागिसमेत सिन्धुपाल्चोकको यो क्षेत्र उपयुक्त छ । असार १९ गते शनिबार द वाकर्सको  टोली काठमाडौंबाट चौतारा सदरमुकाम आइपुग्यो । सदरमुकाम चौतारा बजारबाट आकर्षक हजार सिँढी उक्लँदै आरामदायी यात्रासँग पुग्न सकिने ६७ फिट अग्लो बुद्धपार्क हुँदै गौरातीमन्दिर भ्रमण गरी टोली चौतारा तिरै फर्कियो । चौतारा हुँदै  त्यहाँबाट उनीहरू झण्डै सात किलोमिटरको यात्रापछि भूत छाँगा झरना पुगे ।  

१५ जनाको टोलीसहित झरनामा पुगेका काठमाडौं महानगरपालिकाका विनोद कार्कीले यहाँ घुम्न आउँदा रमाइलो लागेको बताए । उनी भन्छन्, ‘फेसबुकमा फोटो देख्दा घुम्न मन लागेको थियो । शनिबारको फुर्सदको मौका पारेर टोलिनै आयौँ । छाँगामै पुगेर नुहाउँदा निकै रमाइलो लाग्यो ।’

काठमाडौंकै राजेश शर्माले पनि झरना घुम्ने अवसर मिलेकोमा खुसी लागेको बताए  । ‘पहिला पनि चौतारा आएका थियौं । तर, यहाँ यस्ता रमणीय ठाउँ छन् जस्तो लागेको थिएन । अहिले त बुद्ध पार्क देखियो । गौरती भीमसेन मन्दिरसँगै भूत छाँगा पुगियो । धेरै रमाइलो लागेको छ,' उनले भने ।

पछिल्लो समय विभिन्न ठाउँबाट समेत पर्यटक घुम्न आउन थालेका छन् । धेरै त टिकटक बनाउन र फोटो खिच्नका लागि मात्र झरना पुग्छन् । अहिले यो झरना बालकदेखि युवायुवतीको प्रमुख रोजाइ नै बनेको छ । एकाएक आन्तरिक तथा बाह्य पर्यटकको संख्या वृद्धि भएपछि चौतारा सागाँचोकगढी नगरपालिकाले छाँगालाई व्यवस्थित बनाउन थालेको भूत छाँगा व्यवस्थापन समिति अध्यक्ष नीराजन थापा मगरले बताए । 

चौतारा सागाँचोकगढी नगरपालिका वडा नम्बर ७ का पूर्व वडा अध्यक्ष उमा प्रसाद दुलालले भूत छाँगामा पर्यटकको चहलपहल बढ्न थालेपछि पूर्वाधार विस्तारको काम पनि थालिएको बताए । ‘हामी यहाँ घुम्न आउने पर्यटकलाई मध्यनजर गरेर सडक, बाटोघाटो, अन्य पूर्वाधारको विस्तार गर्दै व्यवस्थित बनाउन योजनामा अघि बढेका थियौं,' उनले भने ।

खाना खाजा खाने स्थल, पिकनिक स्पोर्ट बनाएर थप व्यवस्थित गर्न सकियो भने आन्तरिक र बाह्य पर्यटकको गन्तव्य नै बन्न सक्ने द वाकर्स ग्रुपका सन्दीप शाक्यले बताए । 

चौतारा अहिले भर्जिन पर्यटकीय गन्तव्यको रूपमा  विकास हुन थालेको छ । सुकुटे आइपुगेका आन्तरिक तथा बाह्य पर्यटकलाई एक दिन एक रात राख्ने योजना नगरपालिकाको छ । साँगाचोकको गढी, इर्खुको रानीपोखरी, भूत छाँगा, कदमबासको प्याराग्लाइडिङ गराई बुद्ध पार्क, गौराती मन्दिर हुँदै हर्लङबर्लङ मन्दिर दर्शन गराई त्यहाँको चमेरो गुफा देखाउने र ओख्रेनिको चिया बगान हुँदै होम स्टेको आनन्द दिने नीति नगरपालिकाले ल्याएको नगर प्रमुख कृष्ण प्रसाद सापकोटाले बताए ।-न्युज कारखाना/सम्झना कार्की

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।