ताजा अपडेट »

उद्योग, कलकारखान खोल्नुको सट्टा सांसद र मन्त्रीको उद्योग खोलीयो : चित्रबहादुर

सोमबार, २० असार २०७९, १९ : ४४
12 Shares

बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राज्य सञ्चालक गलत हुँदा देशले समस्या भोग्नु परेको बताएका छन् । अहिलेसम्मका राज्य सञ्चालकले देश र जनताको पक्षमा काम गर्न नसकेको बताउँदै आफूलाई ठूलो दलको नेता भन्नेहरुले राजनीतिलाई व्यवसाय बनाएर ठूलो धनराशी कमाउँदा देश संकटको अवस्थामा पुगेको अध्यक्ष केसीको भनाई छ ।

राजनीति सेवा नभएर पैसा आर्जन गर्ने व्यवसाय बनाउँदै सत्तामा बस्ने सिमित मान्छेका कारण देशको अवस्था बिग्रदै गएको बताए । उद्योग धन्दा, कल कारखाना खोलेर भन्दा ठूला पार्टीमा लागेर सांसद, मन्त्री भएपछि छिटो पैसा कमाइने भएकाले आफुहरुलाई ठूलो पार्टीको नेता हु भन्नेबाटै देश कसले लान्छ भन्ने डर भएको बताए ।

अध्यक्ष केसीले ठूला दलमा लागेर राजनीतिलाई व्यवसाय बनाउनेहरुबाटै गणतन्त्र र राष्ट्रियता खतरामा रहेको आरोप लगाए । राष्ट्रिय जनमोर्चा रुपन्देहीले सोमबार बुटवलमा आयोजना गरेको महङी, भ्रष्टाचारविरुद्वको कोणसभामा बोल्दै राज्यले महङ्गी, भ्रष्टाचार, कालोबजारी र महिला हिंसा लगायत अपराधजन्य हिंसाको नियन्त्रण गर्न नसकेको बताए ।

उनले उद्योग, कलकारखाना खोल्ने बेला सांसद र मन्त्रीहरुको कारखाना खोलिएको बताए। एउटा देशलाई फुटालेर आठवटा देश बनाउनेहरुका कारण देश पछाडी परेको उल्लेख गर्दै एउटा देशका सांसद र मन्त्री पाल्न नसकेको देशले प्रदेश धान्न नसक्ने बताए । प्रदेश खारेज गरेर प्रदेश चलाउने पैसा शिक्षा, स्वास्थ्य र उद्योग कल कारखाना सञ्चालनमा लगानी गर्नुपर्ने बताए। किसानलाई चाहिने मल, बीउ र रोजगारमूलक उद्योग, कलकारखाना नखोल्दासम्म देशले निकास पाउन नसक्ने बताए । कृषि प्रदान देश नेपालका किसानहरुले खेतीपाती गर्दा मल, विउ नपाउनु दुखद् पक्ष भएको बताउँदै सरकारले कृषिमा ध्यान दिनै नसकेको दाबी गरे।

पूर्व-उपप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केसीले गलत मान्छेलाई भोट नदिन आग्रह गर्दै भोट दिँदा त्यो पार्टीको नीति, सिद्वान्त र कार्यक्रम बुझेर भोट दिनुपर्ने बताए । कार्यक्रममा राष्ट्रिय जनमोर्चाका रुपन्देही अध्यक्ष बद्रे आलम, सचिव टानबहादुर केसी, लालचन पन्थलगायतले बोल्दै जनताले थेग्नै नसक्ने गरी महङी, भ्रष्टाचार बढेकाले यसका बिरुद्व आन्दोलनमा उत्रनु पर्नेमा जोड दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।