ताजा अपडेट »

असफल बाबुराम मात्रै हो र !

सोमबार, २० असार २०७९, १९ : ५१
6 Shares

दुई दिन अगाडि फेसबुकमा समाचार आयो कि जनता समाजवादी पार्टीका दुई नेता बाबुरामजी र उपेन्द्रजीले सल्लाहमा नै अलग–अलग अगाडि बढौँ । हाम्रो विचार र भावनामा मेल खान सकेन भने एकैठाउँ बसेरपनि के उपलब्धि प्राप्त गर्न सकिन्छ र ! यो समाचार बाहिर आइसके पश्चात् संचार क्षेत्रमा विविध क्रिया प्रतिक्रियाहरु आइरहेका छन्। बाबुरामजी कहि पनि, कतै पनि सफल हुन सकेनन्, जहाँपनि जतापनि उनलाई असफलता नै प्राप्त भएको छ ।

यो विचारसँग म सहमत हुन सकिन, किनकि मेरो विचारमा यहाँ अहिले वर्तमानमा मापन गर्दा कुनैपनि नेता वा नेतृत्व सफल भएको मैले देखेको छैन । विगतको संसदीय निर्वाचन र पार्टी सदस्य संख्याको हिसाबले सबै भन्दा ठूलो पार्टी नेकपा एमाले जसलाई सफल नेतृत्व र सफल पार्टीको रुपमा विश्लेषण गर्ने गरिन्थ्यो, जसले सत्ता संचालनको निमित्त झण्डै दुई तिहाई नजिकको मत प्राप्त गरेको थियो।

त्यस्को मूल नेतृत्व खासगरि नौ जनाको सचिवालयको बीचमा यति धेरै अन्तर विरोध र वैमनस्यता देखा पर्याे कि, त्यो पार्टि आज चार टुक्रामा विभाजित छ, एउटा हिस्साको नेतृत्व ओलीजी गर्नुहुन्छ, अर्काे हिस्साको नेतृत्व प्रचण्डजी गर्नुहुन्छ, तेसो् हिस्सा नेतृत्व माधवजी गर्नुहुन्छ भने चौथो हिस्साको नेतृत्व वामदेवजी गर्नुहुन्छ । एकिकृत पार्टीको नेतृत्वमा रहेको केन्द्रीय सरकार ढल्यो, प्रदेशमा रहेका ६ वटा सरकारहरु ढले, स्थानीय निर्वाचनमा एकसय सिट गुमाउनुपर्याे ।अनि त्यो पार्टी र त्यस्को नेतृत्वलाई सफल नेतृत्व भनेर कसरी भन्न सकिन्छ ।

एकिकृत माओवादी युद्धबाट जन्मेको पार्टी ,हजारौंको बलीदानबाट जन्मेको पार्टी, वर्गविहीन समाज, र साम्यवादी राज्य व्यवस्थाको पवित्र भावना र विचार बोकेको पार्टी , अरु कम्युनिष्ट भन्दा आफू बढी सर्वहारा भएको भनि आफ्नो नाम र विचार माओवादी, राखेको पार्टी, जस्ले पहिलो संविधान सभामा आकस्मिक र अकल्पनीय परीणाम सहित देशको पहिलो पार्टी बन्ने गौरव प्राप्त गरेको पार्टी, राज्यको मुख्य ठाउमा पुग्ने अबसर प्राप्त गरेको पार्टी, आज चार टुक्रामा विभाजित छ, एकको नेतृत्व मोहन वैद्यजी गर्नुहुन्छ, अर्काे हिस्साको नेतृत्व प्रचण्डजी, तेस्र , चोथो हिस्साको नेतृत्व बाबुरामजी विप्लवजी प्रकाण्डजीहरु गर्नुहुन्छ ।

आजको मितिमा आइपुग्दा त्यस्को ठूलो हिस्साको नेतृत्व प्रचण्डजी गर्नुहुन्छ, जस्लाई निर्वाचनमा परीणाम ल्याउनको निमित्त कहिले काङ्ग्रेस र कहिले एमालेसंग जोडिएर मात्र अस्तीत्व जोगीयको छ। सर्वहाराको नेतृत्व र साम्यवादको सपना बाँडिरहेको पार्टीका नेताहरूको दिनचर्या , जिवनचक्र र सांस्कृतिक अवस्था कस्तो छ ! त्यसको व्यवहार र त्यस्को दस्तावेजका अक्षरहरु अध्ययन गर्दा त्यो पार्टी र त्यसको नेतृत्वलाई सफल नेतृत्व र उन्नत विचार र उनत संस्कार संस्कृति बोकेको पार्टी भनेर कसरी भन्न सकिन्छ र !

नेपाली कांग्रेस उहिले जमानामा विपिले लेखिदिएको दस्तावेज जसमा समाजवाद पनि उल्लेख गरिएको छ, त्यो पार्टी इतिहासको हिसाबले धेरै पुरानो पार्टी, तर त्यसको विचार र नेतृत्वबाटै नयाँ नेपाल बन्न सक्दछ, राष्ट्र र जनताका समस्या हरुको समाधान दिन सक्दछ , शेरबहादुर मात्र सफल नेता हुन जो पाँचौ पटक सम्म प्रधानमन्त्री हुने योग्यता प्राप्त गरे भनेर एउटा स्वाभिमान व्यक्तिले कसरी भन्न सक्दछ, कतिपटक कुर्सीमा बस्यो त्यो मुख्य विषय होइन, आफूलाई अवसर प्राप्त भएको समयमा उसले के कुनै उल्लेखनीय काम गर्याे! मुख्य प्रश्न यो हो ।

प्रधानमन्त्रीको साईन बोर्ड झुण्ड्याउँदैमा त्यसलाई सफल नेतृत्व मान्न सकिँदैन, आज पनि देशको मुख्य कार्यकारी पदमा उनी नै रहेका छन्, आजको स्थिति के छ ! देश अराजकता, अस्थिरता र भ्रष्टाचार खासगरी संस्थागत भ्रष्टाचारको दलदलमा नराम्रोसंग भाँसिदै गईराखेको छ, देशको अर्थतन्त्र नराम्रोसंग बिग्रिएको छ, बैंकहरुले ऋण लगानी गर्न नसक्ने अवस्थामा पुगेका छन्, पैसाको जताततै संकट देखिएको छ, ठूला भूमाफियाहरुको चक्रव्यूहमा सरकार फसेको छ जस्ले गर्दा जनताले आफ्नो सम्पत्ति बेच्न समेत पाई राखेका छैनन् ।

देश श्रीलंकाको बाटोमा गैराखेको भनेर आंकलन भैरहँदा सरकार कानमा तेल हालेर बसेको छ, अर्थविदहरुको रायसल्लाह समस्या समाधानको कुनै खोजी गर्ने आवश्यकता नै ठान्दैन, यस्तो निरिह, असक्षम र अकर्मणयतामा फसेको सरकार र त्यस्को नेतृत्व शेरबहादुरजीलाई कसरी सफल नेतृत्वभन्न सकिन्छ र ! हिजोका वामपन्थी भनिएकाहरुको अहम् र मूर्खताकै कारण कुर्चीमा बस्ने अवसर पाएका त हुन् ।

उपेन्द्रजी मधेश आन्दोलनको एक नेतृत्व कर्ताको हिसाबले पछिल्लो चरणमा खासगरी संविधान निर्माणको क्रममा उदाउनु भएको एक युवा नेता हो । मधेश आन्दोलन पश्चात् वहाँ राष्ट्रको तेस्रो शक्तिको रुपमा देखा पर्नु भयो, वहाले नेतृत्व गरेको पार्टिले मधेशमा मात्रै बयासी सिट प्रतिनिधि सभामा प्राप्त गर्याे, वहाँ उपप्रधानमन्त्री सम्म बन्ने अवसर प्राप्त गर्नुभयो ।

वहाँले पनि इतिहासलाई अगाडि बढाउन सक्नु भएन, वहाँको पार्टी पनि यतिधेरै अन्तर विरोधमा जेलियो कि पार्टी फुटेर पाँच टुक्रामा विभाजित हुन पुग्यो , वहामा पनि आन्दोलनका बेला देखा परेको क्रान्तिकारी जोस, उत्पिडित वर्ग प्रतिको निष्ठा र सामूहिक अभ्यासको संस्कृति देखा परेन , जस्ले केही महिना अगाडि महन्तजीहरु अलग्गिनु भयो, आजभोलि चर्चा चलिरहेकै छ बाबुरामजी हरु पनि सल्लाहमा छुट्टिदै हुनुहुन्छ रे ! अनि के उपेन्द्रजी लाई सफल नेतृत्व र योग्य नेतृत्व भनेर मुल्यांकन गर्न सकिन्छ त !

मोहन विक्रम जी वहाँसंग केही वर्ष खासगरी ०३६ देखि ०४० सम्म संगत गर्ने अवसर प्राप्त भएको थियो , वहाँले हजारौं कार्यकर्ता जन्माउनु हुन्थ्यो तर, टिकाई राख्न वहा सक्नु हुन्नथ्यो । आजसम्म हिसाबै गर्ने हो भने सबै भन्दा धेरै वहाँकै पार्टी फुटेको हुनु पर्दछ, तर वहाँ २०४० सालदेखि आजसम्म कारवाही परेको अवस्था बाहेक सदा सर्वदा पार्टीको महासचिव भइरहनु भएको छ । सम्भवतः वहाँको यो पद वहाँको मृत्युपश्चात् नै छुट्ने छ । अत: वहाँलाई पनि सफल नेतृत्व मान्न सक्ने अवस्था रहेन ।

राप्रपाका दुई घटकहरु मध्ये कमल थापाजीको सन्दर्भमा बढी चर्चा गर्न आवश्यक परेन, उनको भ्रम अब खासै बाँकी रहेको छैन, अर्को पात्र जो नयाँ देखिएका छन् राजेन्द्र लिङ्देल उनी र उनले नेतृत्व गरेको राप्रपाको बारेमा जनतामा केही विश्वास केही आशा पलाएको देखिन्छ, अहिलेको स्थानीय निर्वाचनमा त्यस खालको संकेत देखा परेको छ । यस खालको विचार देखा पर्नुको कारण दलहरुको नालायक पन, भ्रष्ट कर्मचारी तन्त्र , देशको अर्थतन्त्र विकास बजेटमा लगाउनु भन्दा नेता , नेतृत्व र उपल्लो तहका कर्मचारीहरुमा लगानी गर्ने जुन संस्कृतिको विकास भएको छ त्यसको कारण जनतामा दलहरू, तिनको नेतृत्व र व्यवस्था प्रति व्यापक नकारात्मक सोचको विकासको कारण यो व्यवस्था भन्दा बरु राजतन्त्र नै ठिक हो कि !

पचासौं छोटे राजाहरुले खानु भन्दा एउटा राजाले खाओस्, भन्ने चेतना बन्न गएको देखिन्छ । तर, बुझ्नु पर्ने कुरा यो हो कि अठारौं उन्निसौ शताब्दीसम्म विश्वका प्रायः सबै मुलुकहरुमा राजतन्त्रात्मक राज्य व्यवस्था थियो, समाज विकासको क्रममा त्यो व्यवस्था बाधक बनेकै कारण हटेका थिए वा क्रान्तिद्वारा हटाइएको थियो । नेपालमा पनि राजतन्त्र अगाडि बढ्नको निमित्त बाधक बनेकै कारण हटाइएको थियो । आजको लोकतन्त्रभन्दा उहीँ राजतन्त्रात्मक राज्य व्यवस्था ठिक थियो भन्नू अग्रगामी विचार हुन सक्दैन । शेरबहादुर, केपी, प्रचण्ड, बाबुराम भन्दा ज्ञानेन्द्र शाह पारस शाह वा हृदयन्द्र शाह अग्रगामी छन् भन्ने विचार राम्रो विचार हुन सक्दैन, जनताको छोरो राष्ट्रपति हुने व्यवस्था फालेर परिवारवादलाई जन्माउनु भनेको सौता बहिनीको रिसले श्रीमानको काखमा पिसाब फेरिदिने उखान जस्तै कुरा हुन पुग्दछ ।

हो, पक्कै पनि यिनी दलहरु र इनका नेतृत्वहरु जनता र राष्ट्रको हितमा काम गरि रहेका छैनन् तर त्यसको विकल्प त्यो समस्याको समाधान राजतन्त्र वा एक्लो विर,जो स्वतन्त्रको हावा चलेको छ, त्यसले समाधान दिन सक्दैन । श्रीमानको रिसले माइत भाग्दैमा समस्याको समाधान हुने गर्दैन। यसकारण लिङदेलजी र राप्रपालाई सफल भनेर भन्न सकिँदैन।

बाबुरामजी पटकौंपटक असफल मानिएको व्यक्ति मोहन विक्रमजीको पार्टीमा छँदा म भन्दा बढी जान्ने भएको भनेर जनमानसमा लेखावापत कारवाही भोगेको व्यक्ति संयुक्त जनमोर्चामार्फत संविधान सभाको चुनाव आवश्यक छ भन्दा प्रचण्डजीले २०४९ सालमा दक्षिणपन्थी भनी आरोपित गरेको व्यक्ति, जनयुद्ध कालमा लोकतान्त्रीक गणतन्त्रको प्रस्ताव अगाडि सारेवापत दक्षिणपन्थीको आरोप सहित कारववहीमा परेको व्यक्ति, माओवादीलाई पुर्नगठन गर्नुपर्दछ भन्ने प्रस्ताव प्रचण्डजीबाट अस्वीकार हुँदा पार्टीबाट राजीनामा दिँदा लौ बाबुरामले बाटो बिरायो, खाइपाई आयको पार्टी नै छाड्यो,कम्युनिस्ट विचारै छाड्यो, हसिया हतौडा नै छाड्यो, साम्यवाद नै छाड्यो भनी अनगिन्ती लाञ्छना सहित असफल मानिएको व्यक्ति, दशरथ रंगशालामा हजारौंको संख्यामा निमार्ण गरिएको नयाँशक्ति पार्टी समय अनकूल आफ्नो मार्ग चित्रमा हिड्न नसक्दा कमजोर बन्दै गएपछि महन्तजी उपेन्द्रजिसंग एकता गर्याे, फेरि टुट्यो यो दोष अर्थात् असफलताको जिम्मा वहाँले लिनुनै पनै भयो।

यसर्थ यहाँ मात्र बाबुरामजी असफल होइननकि सबै पार्टी असफल छन्, सबै नेतृत्व असफल छन्, देशनै असफलताको दिशामा गएको हो कि भन्ने महशुस हुन थालेको छ । यो अवस्थामा हामी सबै गम्भिर हुन परेको छ यथार्थमा टेकेर घटना क्रमहरुको मूल्यांकन गर्नु परेको छ, असफल मात्रै होइन कि बाबुरामका सफल कार्यलाई पनि संगसँगै जोडेर हेर्नु पर्दछ, संविधान सभाको नारा उठाएर अन्तिमसम्म लडेर सबैको दलको साझा नारा बनाएर संविधान सभाको निर्वाचन मार्फत गणतन्त्रको स्थापनामा बाबुरामजीको महत्वपूर्ण योगदान रह्यो संविधान बनाउने कार्यमा उनको महत्वपूर्ण योगदान रह्यो, उनि अर्थ मन्त्रि भएको समयको चर्चा जताततै जहीँ–तहीँ भएकै थियो, उनी प्रधानमन्त्री भएको समय काठमाण्डौंका साँघुरा सडकहरू भत्काउने साहस बाबुरामले मात्र गरेका थिए, आज अठार वटा राष्ट्रिय गौरवका आयोजनाहरु जुन क्रियाशील छन्, ती सबै उनको चेतनाको उपज थियो ।

पूर्व–पश्चिम लोक मार्गबाट भारतीय सिमा जोड्ने उत्तर दक्षिणका जति शाखा रोडहरु अहिले चार लाइन जो बनी रहेका छन् , ती सबै उनकै पालाका राखिएका योजनाहरु हुन् । शान्ति प्रक्रिया र सेना समायोजनको काम आफ्नै पार्टीका बादलजीहरु सडकमा आगो बाल्दैगर्दा हिम्मतको साथ सेना समायोजनको काम सम्पन्न गरिएको थियो ।

त्यसैले उनको मूल्यांकन गर्दा सरकार र नकार दुबै तर्फबाट गरिनु पर्दछ, अतः आगामी दिनमा मेरो पार्टी ठिक, मेरो नेता ठिक भनेर भजन गाएर बसिरहने हो भने देश बर्बादीको दिशातर्फ जाने कुरा सर्वविदितै छ । यो समस्याको समाधान बालेन शाहहरु हुन सक्दैनन्, राजेन्द्र लिंगदेन वा कमल थापा पनि हुन सक्दैनन्, यी अहिलेका माथिल्लो तहमा रहेका (टप ट्वान्टी), मुख्य नेतृत्वहरुबाट पनि एक्ला–एक्लै यो समस्याको समाधान हुन सक्दैन । रवि लामिछानेले असन्तुष्टिलाई समेट्ने प्रयास गरेका छन्, त्यसलाई स्वागत गरौँ । तर, पत्रकारिता चलाउनु र देशकै नेतृत्व गर्नु फरक कुरा हो, उनी कसरी अगाडि बढ्छन, उनिमा अन्तर विरोधलाई समाधान गर्ने त्यो गुण रहेको छ, कि छैन भविष्यले बताउने नै छ।

यसर्थ एकले अर्कोलाई असफलताको दोषारोपण गरेर आनन्द लिनु भन्दा सबै मिलौं, गिरिजा प्रसाद कोइरालाले जस्तै जीवनको अन्तिम समय गणतन्त्रको नारामा उक्लने हिम्मत गरेर इतिहास निर्माण गरे जस्तै सत्तरीको ढिकढाक पुगेका हाम्रा नेताहरूको पनि गिरिजाजीको जस्तै चेतना फुरोस्, सबै मिलौ नचाहिने वाद र विचारको लफडामा नफसौ, विचार र वादको व्यापार न गरौँ केजरीवाल जस्तै स्पष्ट र सादगी र जनतालाई डेलिभरि दिने विचार बोकौं । जनताको दृष्टिमा यी सबै पार्टीहरु समान छन् । तिमीहरू साम्यवाद बोक वा समाजवाद, प्रजातन्त्र बोक वा गणतन्त्र, तारा बोक वा हँसिया हतौड, रुख बोक वा सूर्य बोक, छाता बोक वा गोलाकार, तिमीहरू सबै समान छौं ।

त्यसकारण म राम्रो उ नराम्रो, म सफल र उ असफल को घमण्ड नगरौ । सबै मिलौँ सबैको अस्तित्वलाई स्विकार गरौँ, एकताबद्ध भएर अगाडि बढांै, मेरो पार्टी, मेरो समूह, मेरो झुण्ड, मेरा दर्शनलाई छोडौं, भ्रष्टाचार, भद्रगोल, वेथिति, कुशासनका विरुद्ध ,अगाडि बढ्ने प्रण गरौँ त देश कसरी अगाडि बढ्दछ । के यो चेतना आउला हाम्रो बुढो पुस्ताका नेताहरूमा के गिरिजा कोइरालाको बाटो पछ्याउलान् वा असक्षम, नालायक र असफल पात्रको रुपमा आफ्नो इतिहास बनाएर मार्लान् त्यो कुरा आगामी दिनले बताउने नै छ । तर, आजको आवश्यक फेरिपनि पार्टी पुनर्निर्माणको आवश्यकता छ आजको भयावह अवस्थाप्रति नयाँ पुस्ता बढी चिन्तित हुनु जरुरी छ । मैले यसरी सोँचे सबैले यसरी नै सोचौं कि !

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।