ताजा अपडेट »

तिलोत्तमालाई युवामैत्री स्थानीय शासन घोषणा गर्न प्रतिबद्धता

आइतबार, १९ असार २०७९, १९ : २५
6 Shares

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई युवामैत्री स्थानीय तह घोषणाका लागि कार्ययोजना बनाउन प्रतिबद्धता पत्र सार्वजनिक गरिएको छ । युवामैत्री स्थानीय शासन अभियानलाई ठोस रुप दिन जनप्रतिनिधि र युवाहरुको लागि क्षमताअभिबृद्धि कार्यक्रमको समापनमा ७ बुँदे प्रतिवद्धतापत्र सार्वजनिक गरिएको हो ।

२ महिनाभित्र युवामैत्री स्थानीय शासनको अवलम्वन तथा कार्यान्वयनका लागि वर्तमान अवस्था विश्लेषण तथा आगामी ५ वर्षको मार्गदर्शन तयार गर्ने, नगरपालिकाका जनप्रतिनिधिहरु, विषयगत शाखा, कर्मचारी र बहुसरोकारवालाहरुसँग नियमित अन्तरक्रिया, छलफल र अभिमुखीकरणलाई निरन्तरता दिन कार्यक्रममा सहभागीहरुले प्रतिबद्धता जनाएका छन ।

तिलोत्तमा नगरपालिकामा रहेका विभिन्न विषयगत, विकास र अभियानसँग सम्वन्धित संरचनाहरुमा युवाहरुको अर्थपूर्ण र समान सहभगिता प्रभावकारी बनाउन सामुहिक पहल गर्ने तथा युवाहरुको खेलकुद, स्वास्थ्य, शिक्षा, अनलाइन सुरक्षा , लागुपदार्थ दुव्र्यसनी, इत्यादी सवालहरुमा आआफ्नो ठाउँबाट सचेतना वृद्धि गर्ने समेत प्रतिबद्धतामा उल्लेख गरिएको छ । तिलोत्तमा नगरपालिकामा युवामैत्री स्थानीय शासनका ७ रणनीति, ४६ कार्यनीति, ४५ सुचकहरुको स्थानीयकरण गर्र्दै ४ चरणहरुका आधारमा क्रमश युवामैत्री स्थानीय शासन बनाउने गरि प्रतिबद्धता तयार पारिएको छ ।

तिलोत्तमा नगरपालिकाका कार्यपालिका सदस्य तथा सामाजिक विकास समिति संयोजक रवि सेन्चुरीको अध्यक्षतामा, नगर प्रमुख रामकृष्ण खाँण प्रमुख अतिथि र उपप्रमुख जगेश्वरी देवी चौधरी विशेष अतिथिमा उद्घाटन गरिएको कार्यक्रममा वडा अध्यक्ष आस्मिन पौडेल, कार्यपालिका सदस्य तारा सुनार, वडा सदस्यहरु शोभा कुमारी राना, गोविन्द गुरुङ्ग, शिक्षा शाखाका भुपति ज्ञवाली, राष्ट्रिय युवा परिषद्का सदस्य बाबुराम बन्जाडे, प्रदेश युवा परिषद्का उपाध्यक्ष संजीब बस्याल, नागरिक समाजका प्रतिनिधी, संचार, युवा संघ संस्था, अपाङ्गता तथा यौनिक लैङ्गिक अल्पसंख्यक अभियानका प्रतिनिधीहरु, बाल क्लव, बाल क्लवका पुर्व सदस्य, बालमैत्री अभियानकर्मी, कृषक युवा उद्यमी, युवा स्वयंसेवक तथा युवामैत्री स्थानीय शासन अभियानकर्मीहरु गरि ३५ जनाको सहभागिता रहेको थियो ।

तालिमको सहजीकरण अधिवक्ता तथा युवामैत्री स्थानीय शासन अभियानकर्मी विष्णु खत्री , राष्ट्रिय युवा परिषदका कार्यकारी सदस्य तथा युवामैत्री स्थानीय शासन अभियानकर्मी तिलोत्तम पौडेल तथा संचारकर्मी सञ्जु पौडेलले गर्नुभएको थियो । कार्यक्रममा युएनडिपिबाट सुदिप अर्याल र युनिसेफका माधव वरालको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा अतिथि तथा सहभागीहरुले तिलोत्तमा नगरपालिकालाई युवामैत्री बनाउन योगदान गर्ने प्रतिबद्धता जाहेर गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।