ताजा अपडेट »

विपद्बाट हुने क्षति न्यूनिकरण गर

आइतबार, १९ असार २०७९, १७ : ४२
8 Shares

विपद् आँफैमा नियन्त्रणभन्दा बाहिरको घटना तथा समस्या हो । जसलाई काबुमा वा नियन्त्रणमा लिन गार्हो हुन्छ । विपद्ले निकटमा रहेका मानव तथा भौतिक संरचनाहरुमा प्रभाव पार्दछ वा नष्टनै गर्दछ । यसले तत्काल मात्रै होइन पछिसम्म पनि मानवीय जीवनमा प्रतिकूल असर पार्दछ । भू-बनोट र जलवायूका कारण नेपाल प्राकृति विपद्को उच्च जोखिममा रहँदै आएको छ । यसैकारण विश्वका अतिप्रकोप देशहरुको सूचिमा रहेको देश हो । विपद् केवल प्राकृतिक कारणले मात्रै नभई मानवीय क्रियाकलाप र भूमिकाले पनि निम्तिने गर्दछ ।

यतिबेला वर्षायाम छ । एकातर्फ खेतीको समय हो भने अर्को तर्फबाट यो समय विपद्को पनि हो । वर्षायाममा मुलुकले धैरै प्राकृतिक विपद्को सामना गर्नु पर्दछ, भने वर्षेनी दर्जनौं जन र करौंडोको क्षति बेहोर्नु पर्दछ । विशेषगरी असार,श्रावण,भदौमा पर्ने वर्षात्का कारण पहाडमा पहिरो र तराइमा बाढी जस्ता प्राकृतिक विपद् आउने गर्दछन् । मुलुकको भौगोलिक बनावटनै समतलदेखि उच्च रहेको हुँदा वर्षाको समयमा तराइको समतलमा बाढी र पहाडको उच्च भागमा पहिरो जाने गर्दछ ।

हरेक वर्ष वर्षायामको सिजनमा पहाडमा जाने पहिरोले वनजंगलको विनाससँगै कैंयौं घर बगाउने गर्दछ । ती घरसँगै कैंयौं मानवीय जीवन र धनको क्षति हुने गरेको छ । त्यस्तै तराइमा हरेक वर्ष आउने बाढीले खेतीयोग्य जमिन, बाली बगाउने गरेको छ । साथै बाढीकै कारण घर,गोठ,मानिस बगाउँदा वर्षेनी कैंयौं ज्यान जाने गरेको छ भने अरबौंको नोक्सान हुने गरेको छ । मुलुकमा हरेक वर्ष हुने विपद् न्यूनिकरण र व्यवस्थापनका लागि प्राधिकरण स्थापना गरिएको छ । वि.सं.२०७६ मा स्थापना भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थाप प्राधिकरणले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी केन्द्रीय स्रोत निकायको रूपमा कार्य गर्दछ । त्यसैगरी यूनिसेफले पनि आपतकालिन र विपद् जोखिम न्यूनीकरण कार्यक्रम सञ्चालन गरेको छ ।

विपद्का घटनाबाट वर्षेनी सयौंको ज्यान जाने गर्दछ भने अरबौंको क्षति । मुलुकमा विपद्मा परी पछिल्लो साढे दुई महिनाको अवधिमा १०१ जनाले ज्यान गुमाएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकाअनुसार २०७९ वैशाख १ गतेदेखि असार १८ गतेसम्मको अवधिमा विपद्का घटनामा परी उनीहरुको मृत्यु भएको छ । सो अवधिमा पहिरो, बाढी, भारी वर्षा, चट्याङ, सर्पदंश, आगलागी, जंगल आगलागी, हवाहुरी र जनावरको आक्रमणका घटनामा परी उनीहरुको मृत्यु भएको हो । यस वर्ष विपद्का घटनाका कारण राज्यले ६५ करोड २१ लाख २३ हजार ५६० रुपैयाँ बराबरको आर्थिक क्षति व्यहोरीसकेको छ ।

प्राकृतिक विपद् भनेतापनि कैंयौं मानवीय गतिविधिका कारण निम्तिने गरेका छन् । वनजंगल फडानी,अव्यस्थित बसोबास,नदी,खोला दोहन,बढ्दो जनसंख्या, जथाभावी प्लटिङ जस्ता क्रियाकलापका कारण पहिरो तथा बाढीका प्रकोपको जोखिम बढ्दो छ । प्राकृतिक स्रोत र साधनको उच्चतम प्रयोग , न्यूनतम संरक्षण तथा विनासका कारण विपद्का घटना निम्तिएका छन् ।

यसमा सर्वसाधारणदेखि ,व्यवसायी,उद्योगीदेखि राज्यनै सहभागी तथा जिम्मेवार रहेको छ । सर्वसाधारणले सावधानी नअउनाउँदा, उद्योगी, व्यवसायीले वातावरणीय पक्षको ख्याल नगर्दा वा उच्चतम प्रयोग गर्दा, सरकारले संरक्षण र प्रवद्र्धनको उचित नीति निर्माण तथा कार्यान्वयन नगर्दा प्राकृतिक स्रोत र साधनका मुहान तथा बाटाहरु थुनिएका छन् , प्रदूषित भएका छन् ।

प्रकृतिको दोहन मानिसलाई आँफैविरुद्ध घातक हो । तसर्थ प्राकृतिक स्रोत र साधनमा बाधा पुग्ने र विपद् निम्तिने सवालमा सचेत मात्रै होइन सतर्क हुनु पर्दछ । संरक्षण प्रवद्र्धन गर्नु पर्दछ । र,पनि हुने , आउने प्राकृतिक विपद्बाट हुने क्षति न्यूनिकरणका लागि तम्तयार हुन पर्दछ । यसका लागि सर्वसाधारण, सरोकारवाला,सरकार सबै सक्रिय तथा जिम्मेवार बनी प्रभावकारी भूमिका निर्वाह गर्नु पर्दछ ।

विपद्का कारण वर्षेनी ठूलो मात्रामा धनजनको क्षति हुँदै आएको छ । यसको न्यूनिकरण,रोकथाम तथा उद्धारका लागि सरकारी संयन्त्रका साथै विभिन्न निकाय तथा संघ–संस्थाहरु खुलेका छन् । तर,पनि न्यूनिकरण र रोकथामसँगै प्रभावकारी उद्धार हुन सकेको छैन। विपद्का कारण हुने मानवीय तथा भौतिक क्षति कम गर्नका लागि विकास निर्माणमा सावधानी अपनाउनुका साथै सरोकारवालाले सक्रिय भूमिका निर्वाह गर्न आवश्यक छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।