ताजा अपडेट »

प्रजातन्त्र होइन गठबन्धनतन्त्र !

विहीबार, १६ असार २०७९, १२ : १३
4 Shares


दलीय प्रतिष्पर्धा अप्रत्यक्ष प्रजातन्त्रको मूल हो। त, अब त्यो अवस्थाको लगभग अन्त्य हुँदैछ। सत्ताको मातमा भागबण्डाको राजनीति, गठबन्धन– बलजफती मुलुकको राजनीतिक आकाशमा मडारिरहेको छ। गठबन्धनतन्त्र अबको हाम्रो राजनीतिक पद्धति हुनेछ प्रजातन्त्र होइन। गठबन्धन परिस्थितिजन्य होइन स्वार्थजन्य हो। परिस्थितिजन्यले पद्धतिमा सुधार ल्याउदछ,तत्कालको संकटको मोचन गर्दछ। तर, स्वार्थजन्यले बिस्तारै पद्धतिमा विषादीपात गर्दछ। प्रजातन्त्र,गणतन्त्र र सङ्घीयताको लागि आवश्यक भनिएको गठबन्धन आवरण मात्र हो। असलियत मुलुकले बेहोरिरहेकोछ। हामीहरूले देखिरहेका छौँ।

सर्वविदित नै छ,गठबन्धन राष्ट्रिय राजनीतिको आवश्यकता होइन । समग्रमा नेपाली कांग्रेसको आवश्यकता र चाहना पनि होइन । यो त नेकपा माओवादी (केन्द्र) अध्यक्ष प्रचण्डप्रति नेपाली कांग्रेसका अध्यक्ष देउवाको समर्पण मात्र हो। नेकपा एकीकृत समाजवादीको अध्यक्ष माधवलाई पार्टी भन्दा आफ्नो राजनीतिक अस्तित्व जोगाउनु छ, मटियामेट हुनबाट जोगिनु छ। प्रचण्डलाई शक्ति संचय गर्दै भावी राजनीतिमा आफ्नो पकड जमाउनु छ। ऐमाले अध्यक्ष ओलीलाई धुलो चटाउनु छ। सबै भन्दा महत्वपूर्ण कुरो प्रचण्ड र माधवमा ओली फोबिया छ। त्यसैले त गठबन्धन तिनीहरूकोलागि परम आवश्यकता हो।

यसलाई संस्थागत गर्दै तन्त्रको रूपमा स्थापित गर्ने सोंचमा छन्। वैशाख २२, २०७९ चितवन भरतपुरमा प्रचण्ड भट्याउँदै थिए ‘यो गठबन्धनलाई १०,१५,२०,वर्ष लाने मेरो प्रतिबद्धता हुनेछ । ’नेका अध्यक्ष देउवाले पनि ‘गठबन्धन अहिलेको आवश्यकता हो।’भन्दै प्रचण्डको प्रतिबद्धतामा कटिबद्ध रहेको दर्साउनु भो। नेका प्रवक्ता प्रकाशशरण महत २२ जेठ २०७९ मा व्यक्त गर्दै थिए ‘समग्रमा हामीलाई यो गठबन्धनबाट राम्रो भाको छ। र, गठबन्धनको कारणले पनि कतिपय ठाउँहरूमा अन्तर्घातबाट नतिजामा प्रभाव पार्न नसक्ने भएपछि त्यसले पनि मद्दत चैं गर्या छ। गठबन्धनलाई आउने आम निर्वाचनमा पनि अगाडि बढाउन पर्दछ भन्ने गठबन्धन दलहरूको नेतृत्वमा आमसमझदारी नै छ ।’

कम्युनिस्टहरूको टुट–फुट र अचाक्लीको कारण राष्ट्रिय राजनीतिमा स्वतःस्फूर्त कांग्रेसको पक्षमा राजनीतिक माहौल बनिरहेको,पार्टी एक्लै निर्वाचनमा जाँदा उल्लेखनीय उपलब्धि हासिल हुने र नेता कार्यकर्ताहरूमा उदाहरणीय एकता हुने वास्तविक अवस्थालाई नजरअंदाज गर्दै पार्टी भित्र बहुमतको दम्भको आडमा सिङ्गो पार्टीलाई गठबन्धनको जामा लगाएर भेलमा बगाउनु गम्भिर एवम् दूरगामी राजनीतिक त्रुटि हो। वास्तविकता र बहुमत दुई फरक प्रसङ्ग हो। बहुमतले वास्तविकतालाई लत्याउन सक्छ। नेपाली कांग्रेस भित्र यस्तै त भयो नि !

‘गठबन्धनको पाँच शक्ति मिलेर पनि प्रतिगामीको ट्याग लगाइएका ओली नेतृत्वको एमालेलाई स्थानीय निर्वाचनमा पातालमा पुर्याउन त के थाङ्नामा सुताउन पनि सकेनन्। एमाले दोस्रो स्थानमा रह्यो। मत संख्याको आधारमा प्रथम रह्यो। गठबन्धनको छाता नओढीए कम्युनिस्टहरू एकजुट हुनेछन् भन्ने सोंचको आधारमा कांग्रेसले गठबन्धनको नेतृत्व सम्हालेको हो।’ जनता माझ व्यापक गाइँगुइँ छ। वास्तमा त्यो सोंच कमजोर एवम् पराजय मानसिकताको उपज हो।

कांग्रेसलाई गठबन्धनको छाता ओढाउन सक्नु कमरेड प्रचण्ड माधवको लागि महत्वपूर्ण राजनीतिक उपलब्धि हो। गठबन्धनतन्त्रको मसिहा माओवादी (केन्द्र ) अध्यक्ष प्रचण्ड हुन् । जनता माझ सनसनी छ। गठबन्धनतन्त्र हात्तीलाई मुसा बनाउने दीर्घकालीन वामपन्थी रणनीति हो। यसको पुष्टि भावी राजनीतिले गर्नेछ। तसर्थ पार्टी भित्रको क्लेश र बहुमतको दम्भ समाप्त गर्दै सम्भावित दुर्घटनाबाट राष्ट्रिय राजनीति र पार्टीलाई जोगाउन ने का नेतृत्व सम्भालिनु आवश्यक छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।