ताजा अपडेट »

चट्याङ लागेर एकैदिन ७ जनाको मृत्यु, ३ जना घाइते

बुधबार, १५ असार २०७९, १७ : ४४
6 Shares


काठमाडौं ।  देशभर चट्याङ लागेर एकैदिन सात जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । उनीहरु सबैको मंगलबार मृत्यु भएको हो । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रुपन्देहीको सियारी गाउँपालिका–२ बरेवा बस्ने ४५ वर्षीय एक पुरुषको घरमै बसिरहेको बेला चट्याङ लागेर मृत्यु भएको छ । 

नवलपरासी (पश्चिम)को रामग्राम नगरपालिका–१० लक्ष्मीपुरामा खेल रोप्ने क्रममा ६० वर्षीया एक महिलाको चट्याङ लागेर मृत्यु भएको छ । चट्याङ लागेर वेहोश भएकी उनको उपचारको क्रममा मृत्यु भएको प्राधिकरणले जनाएको छ । 

बागलुङको काठेखोला गाउँपालिका–४ तग्राम फापरखेत बस्ने २८ वर्षीया एक महिलाको भान्सा कोठामा बसिरहेको अवस्थामा चट्याङ लागेर मृत्यु भएको छ । चट्याङ लागेर घाइते भएकी उनको उपचारको क्रममा मृत्यु भएको हो । 

बाँकेको राप्ती सोनारी गाउँपालिका–३ नारायणपुर बस्ने ७ वर्षीय एक बालकको घरको आँगनमा खेलिरहेको बेला चट्याङ लागेर मृत्यु भएको छ । चट्याङ लागेर घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको हो । 

पर्साको सखुवा प्रसौनी गाउँपालिका–१ औराहा रेन्ज बस्ने ३२ वर्षीय एक पुरुषको खेतमा आली लगाउने क्रममा चट्याङ लागेर मृत्यु भएको छ । 

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–२ बेलगाउँका ४२ वर्षीय एक पुरुषको गोठमा गाइलाई घाँस हाल्न जाने क्रममा चट्याङ लागेर मृत्यु भएको छ । 

कैलालीको कैलारी गाउँपालिका–१ रानामुरा गाउँ बस्ने ५६ वर्षीया एक महिलाको खेतमा रोपाई गर्ने क्रममा चट्याङ लागेर मृत्यु भएको छ । चट्याङ लागेर घाइते भएकी उनको उपचारको लागि अस्पताल लाने क्रममा बाटोमै मृत्यु भएको प्राधिकरणले जनाएको छ । 

कैलालीको कैलारी गाउँपालिका–३ मा चट्याङ लागेर दुई जना पुरुष घाइते भएका छन् । यस्तै, कञ्चनपुरको लालझाडी गाउँपालिका–१ बिनाबारी बस्ने १३ वर्षीया बालिकाको घरको आगानमा काम गरिरहेको अवस्थामा चट्याङ लागेर घाइते भएकी छन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।