ताजा अपडेट »

बुटवलका मेयर सापलाई खुलापत्र

बुधबार, १५ असार २०७९, १४ : ००
22 Shares

मेयरसाप नमस्कार !
हजुरको ध्यान आकृष्ट गर्न चाहेँ । अब सुरूमै एउटा काम गरिहाल्नुस् तुरुन्तै, जुन अत्यन्तै आवश्यक छ । साँझको ९/१० बजेतिर बजारमा यत्र–तत्र प्लास्टिकहरू प्रशस्त देखिन्छन् । रातिमा हुने वर्षाले गर्दा बगाएर सबै फोहोर ढलमा गएर मिसिन्छ । फोहोरहरू जस्तैः प्लास्टिक,सूर्तिजन्य पदार्थका खोल,प्याकिङ्ग खानेकुराका खोल, सिसा, पानीका कोल्डड्रिङका बोत्तल आदि खोला हुँदै खेतीयोग्य जमिनमा पुग्छ भने बग्न नसकेको फोहोर ढलमा जाम भएर बस्छ । अनि सडकमा खोलो बग्छ । पानी जमेपछि बाटो त बिग्रिने नै भयो ।

बल्ल–तल्ल ठूलो लगानीमा बनाएको सडकको सुरक्षा पनि त गर्नुपर्यो नि होइन र ? आखिर २÷४ वर्षको अन्तरालमा सडक बनाउनु पर्दा आर्थिक भार पनि त धेरै नै पर्छ नि । धेरै केही गर्नु त पर्दैन। यति काम गर्नुभयो भने धर्तीले पनि सराप्ने थिएन । अझ भनौं धर्तीले धेरै राहत पाउँथ्यो । अब के गर्ने त …?
१. प्रत्येक पसलमा अनिवार्य रुपमा फोहोर मलाईको भाँडो राख्नुपर्ने, नराखे जरिवाना तिर्नुपर्ने ।
२. जथाभावी फोहोर फाल्नेले पनि जरिवाना तिर्नुपर्ने ।
३. अनियन्त्रित रुपमा प्रयोग भइरहेको प्लास्टिकको प्रयोग पूर्ण रुपमा बन्द गराउने ।
४. अत्यावश्यक बस्तुबाहेक सामान्य तरकारी, फलफूल, दुग्धजन्य पदार्थहरूको बिक्रीमा प्लास्टिकको प्रयोग गर्न नपाइने ।
५. झोला लिएर नै किनमेल गर्न जानुपर्ने नियमलाई कडाइका साथ लागू गर्ने ।
६. प्लास्टिकको झोलामा सामान बोकेर हिँडेको देखेमा कस्तो खालको सामान बोकेर हिँडेको छ त्यसमा सचेत बनाउने । यस्तो गरेमा मान्छेलाई प्लास्टिकका झोला बोक्न लाज लाग्छ । यसले गर्दा मान्छेको सोँचमा परिवर्तन ल्याउन सकिन्छ ।
७. कुहिने फोहोर र नकुहिने फोहोर एकैठाँउमा राख्नेको फोहोर नगरपालिकाले नउठाउने ।
८. प्लास्टिकको प्रयोगले मानवजीवनमा पार्ने दीर्घकालीन डरलाग्दो असरबारे जनचेतनामूलक सन्देश प्रवाह गर्ने ।
९. पार्कहरूमा घुम्न जानेहरूलाई पनि आफूले प्रयोग गरेको फोहोर जथाभावी नफाल्नका लागि अनुरोध गरी फालेमा जरिवाना तिर्नुपर्ने नियम कडाइका साथ लागू गर्ने,
१०. एउटा सभ्य नागरिकले प्लास्टिकको झोला बोकेर हिँड्दैन आफूले नै ल्याएको झोलामा सामान राखेर शानले हिँड्छ । उसलाई गर्व हुन्छ कि म पनि प्रकृति संरक्षणको लागि केही गर्दैछु भनेर ।

मास्क लगाएर हिंड्न सक्नेले झोला बोकेर किनमेल गर्न सक्छन् ।एकपटक काठमाडौलाई हेरौं न । १७ वर्षदेखिको फोहोर सिस्डोल र बन्चरे डाँडाजस्ता सुन्दर बस्तीलाई काठमाडौंबासीले दिएको फोहोरको उपहार जसले गर्दा त्यहाँका बासीहरूलाई मर्नु न बाँच्नुको अवस्था आएको छ । रोग र सोखमा पुरै गाउँ डुबेको छ । अहिलेको अवस्थामा अब प्रत्येक सहरले प्रकृतिका सुन्दर ठाउँहरूलाई विकृत बनाउँदै छन्।

यो त एउटा उदाहरण मात्रै भयो, यस्तै कति सुन्दर ठाउँहरूलाई प्लास्टिकले छोप्दैछ ! सोच्नुपर्ने बेला आएको छ । गीत बजाउँदै टोलटोलमा नगरपालिकाको गाडी आउँछ । अनि गाडी आउँछ भनेपछि निर्धक्क भएर फोहोर जम्मा गर्छन् । मान्छेले तर, यसरी उठाएको फोहोर कहाँ गएको छ ? भन्नेतिर कसैको ध्यान पुगेको देखिदैन।

अहिले बुटवलमा धमा–धम बाटोको काम र ढल निकासको काम भइरहेको छ । हिउँदमा हुनुपर्ने काम वर्षात्मा भएको छ । काम गर्नलाई पनि धेरै समस्या छ । कुनै कामले हिँडेको मान्छे कहाँनिर गएर बाटो बन्द भएर कति चक्करमा आफ्नो गन्तव्यमा पुग्नुपर्ने हुन्छ । महङ्गो पेट्रोल, घुमाउरो बाटो, जाम त्यत्तिकै, अप्ठ्यारो बाटोको त कुरै नगरौँ । कति बेला कुन खाडलमा जाकिने हो भन्ने डर । अहिले पनि बनेका नयाँ ढल, कुलो,कुलेसो चारैतिर प्लास्टिक र पानी कोल्डड्रिङ्क्सका बोत्तलहरू देख्न सकिन्छ ।

उपचार गर्नुभन्दा पहिले रोगै लाग्न नदिने उपाय गर्ने कि ?-बुटवलकी बासिन्दा गङ्गा पोखरेल

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।