ताजा अपडेट »

बुटवल–पाल्पासहित विभिन्न ठाउँमा सडक अवरुद्ध

बुधबार, १५ असार २०७९, ०८ : ०२
4 Shares

बुटवल । विहानैदेखिको वर्षाले विभिन्न ठाउँका सडक अवरुद्ध भएका छन् । निरन्तरको वर्षाले बुटवल–पाल्पा सडक अवरुद्ध भएको छ ।

लुम्बिनी प्रादेशिक ट्राफिक कार्यालय बुटवलले दिएको जानकारी अनुसार बुटवल–पाल्पा सडक अन्तरगत सिद्धबाबा नजिकै माथिबाट भेलसँगै बगेको गग्रेटो र ठूला–ठूङ्गाले बाटो अवरुद्ध भएको छ । माथिल्लो सिद्धबाबा नजिकै रहेको एक छिहिरामा बाढीसँगै ढुङ्गा खसेको हो । मँगलबार समेत सोही ठाउँमा सडक अवरुद्ध भएको थियो । यसैगरी पाल्पा–रामपुर सडक समेत अवरुद्ध भएको छ । विभिन्न ठाउँमा पहिरोले सडक पुरिएपछि अवरुद्ध भएको हो ।

पूर्व–पश्चिम राजमार्ग अन्तरगत पूर्वी नवलपरासीको मध्यविन्दुमा सडक अवरुद्ध भएको छ । बाढीले सडकमा रहेका ३ वटा कल्भर्ट बगाएपछि सडक अवरुद्ध भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । अवरुद्ध भएका ठाउँहरुमा वर्षा कम भएपछि तथा नदी, खोलाको बहाब कम भएपछि मात्रै खुलाउन सम्भव हुने बताइएको छ ।

बुटवल सडकको कन्त बिजोग, एक झर्को वर्षामा सडक बन्यो नदी

बुटवल । बुटवलको सडकमा मँगलबार विहानैदेखिको वर्षासँगै बाढी आएको छ । सडकमा जलमग्न र हिलाम्य भएपछि पैदल यात्री तथा सवारी आवागमनमा समेत समस्या भएको छ । मुख्य बजार क्षेत्रमै पानीको उचित निकास नुहँदा निर्माणाधिन सडकबाटै भेल बगेको छ ।

लामो समयदेखि चर्चाको विषय बनेको राजमार्ग चौराहा–गोलपार्क ६ लेन सडक बिस्तारको काम समयमै नहुँदा यो समस्या आएको हो । पछिल्लो समय सडक मर्मतमा निर्माण कम्पनीले सक्रियता देखाउँदै सडक सम्याउने तथा कालोपत्रेको काम गरेपनि त्यसअघिनै सक्नु पर्ने नाली व्यवस्थापनको काम नगर्दा सडक वर्षामा जलमग्न भएको छ । यही सडकका कारण यसअघि बुटवलका मेयर शिवराज सुवेदीले ठूलो आलोचना खेप्नु परेको थियो भने अहिले निर्वाचित मेयर खेलराज पाण्डेले तदारुकता देखाउन सडकमै पुगेर अध्ययन अवलोकन गरेका तस्विरहरु सार्वजनिक भैरहेका छन् । यद्यपी चर्चाका लागि बुटवलका सडकमा कालो छर्किने काम भएपनि अव्यवस्थित र अन्दधुन्द निर्माणले जनतालाई झन सास्ति दिएको छ । सडक छेउमा रहेका नानी व्यवस्थापन गर्ने, नालीसम्मको जमिन सम्याउने लगायतका काम छाडेर एक्कासी बीचभागमा कालो छर्कीएको सडकबाटै एक झर्को पानीमा भेल बगेको हो ।

बुटवलको मुख्य बजार क्षेत्रहरु गोलपार्क, लक्ष्मीनगर, ट्राफिकचोक, अस्पताललाईन हुँदै नयाँ बसपार्कसम्म सडक हिलाम्य बनेका छन् । कहिले स्थानियको विरोध, मुद्दा मामिला त कहिले ठेकेदार सम्पर्कमा नआउने जस्ता समस्याकै कारण सडक निर्माणको काममा प्रगति हुन सकेको छैन । सडक बनाउँदा बनाउँदै बीचमा अलपत्र पारिएपछि स्थानीय र यात्रुहरुले ठूलो सास्ती ब्यहोर्नु परिरहेको छ । स्थानीय निर्वाचनमा समेत उम्मेदवारहरु बीच सामाजिक संजालमा सोही सडकको बिषयमा आरोपप्रत्यारोप चलेको थियो । बुटवलमा चुनाव जित्नकै लागि मुल सडकको निमार्णको विषयलाई सबै उम्मेदवारहरुले मुल विषय बनाएका थिए । चुनाव सकिए लगत्तै निर्वाचित जनप्रतिनिधि रातरात फोटो खिचाउनैका लागि सडकमा मेशिन पनि चलाए ।

खाल्डो परेको सडकका केही खाल्डाहरु पुरेर अब त हुन्छ की भन्ने आशा पनि देखाए । २–४ दिन तामझाम देखिएको सडक निर्माणको काममा भने दिनहरु बित्दै जाँदा कुनै प्रगति हुन सकेन । ठेकेदार कम्पनीले स्थानीय जनप्रतिनिधिलाई बेवास्ता गरिदिँदा सडकको काम रोकियो र पुरिएका खाल्डाहरु फेरि पानीले बगाउन थाल्यो । वर्षामा त्यही सडकहुँदै भेल बग्न थाल्यो ।
काम गर्छु भनेर ठेकेदारका प्रतिनिधिले प्रतिवद्धता जनाएपनि सरासर काम हुन नसकेको बुटवल उपमहानगरका नगर प्रमसख खेलराज पाण्डेले बताउँदै आएका छन् । प्रतिबद्धता अनुरुप काम नभएको र बारबार मोबाईल स्विचअफ गर्ने गरेकाले ठेकेदारसँग नियमित सम्पर्क समेत हुन नसकेको गुनको गुनासो छ । वर्षौंदेखि मुल सडकको कन्तबिजोग हुँदा पनि स्थानीय, प्रदेश र संघ तीन वटै सरकार सडकको विषयमा गम्भिर देखिदैन ।
असार मसान्तसंग ठेक्का समयावधी सकिन लाग्दा काम देखाउनैका लागि अस्थाई पिचको काम अघि बढाउन लागिए पनि सडक छेउको नाली व्यवस्थापन तथा निर्माणको काम नहुँदा सडक अस्तव्यस्त बनेको छ ।

सडक निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनी कञ्चनजंगा बिरुवा जेभीले सुस्त गतिमा काम गर्दा असारमा काम नसकिने निश्चित भएको हो ।

२०७३ चैत १७ गते ठेक्का सम्झौता भई ०७६ असोज १२ गतेसम्म काम सक्नुपर्ने भए पनि जग्गा विवादले उक्त समय अदालती उल्झनमै बितेको थियो । सडक विस्तारको बाटो खेलेपछि पुनः तोकिएको समय अवधिमा समेत निर्माण कम्पनीले काम गर्न नसक्दा म्याद थपेर ०७९ असार ३० गतेसम्म निर्माण सक्नुपर्ने सम्झौता भएको थियो ।

आयोजना सुरुहुने बेलादेखि नै जग्गा विवादले विभिन्न अदालती उल्झन झेल्दै आएको राजमार्ग चौराह–गोलपार्क सडक राजनीतिक दाउपेचको विषय बन्दा थप ढिलासुस्ति भएको यहाँका स्थानीयहरुले बताउने गरेका छन् । ‘राजनीतिक स्वार्थमा जस–अपजसको खेलले निर्धारित समयमा पूरा हुने सम्भावना यस पटक पनि टरेको देखिन्छ ।’–बुटवल पुस्पलाल पार्क नजिकै व्यवसाय गर्दै आएका एक व्यवसायीले भने ।

व्यापारिक मार्ग अन्तरगत अन्य काम सम्पन्न भएपनि राजमार्ग चौराहदेखि चिडिया खोलासम्मको साढे ३ किलोमिटर सडक बिस्तारले पूर्णता नपाउँदा बुटवल बजारनै अस्तव्यस्त भएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।