ताजा अपडेट »

नेता आउँदा एयरपोर्टमा माला र खादा लिएर लावालस्कर लाग्ने संस्कार छोडौं : एमाले उपाध्यक्ष पौडेल

सोमबार, १३ असार २०७९, १५ : ३६
4 Shares

बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले नेताहरू जिल्लामा आउँदा विमानस्थलमा खादा, माला र गाडीका लावालस्कर नलैजान नेता कार्यकताहरूलाई आग्रह गरेका छन् । जीवनमा सरलताको छुट्टै महत्व हुने बताउँदै नेता आफ्ना जिल्ला र निर्वाचन क्षेत्रमा आउँदा अनावश्यक सम्मान आवश्यक नहुने बताए ।

मदन भण्डारीको ७१ औं जन्मजयन्तीको अवसर पारेर प्रेस चौतारी नेपाल, रूपन्देहीले सोमबार बुटवलमा आयोजना गरेको अन्तरसम्बाद कार्यक्रममा बोल्दै नेता पौडेलले भने ‘कुनै ठूलो उपाधि ओलम्पियन जितेर आएकालाई सम्मान गर्नुस् । नेता काठमाडौंबाट जिल्लामा आउँदा गाडी छैन भने, बरू एउटा गाडी पठाइदिनुस् । तर, गाडीका लस्कर, नेता÷कार्यकता लाइनमा बसेर फूलमाला र खादा लिएर एयरपोर्ट जान आवश्यक हुँदैन ।’

‘सरलताको सुन्दरता अलग्गै हुन्छ । सरल जिन्दगी सबैभन्दा आनन्दपूर्ण हुन्छ ।’ पौडेलले भने । पौडेलले जनताको बहुदलीय जनवाद (जबज) र अभिव्यक्ति स्वतन्त्रता बीच अन्योन्याश्रित सम्बन्ध रहेको बताए । उनले जनताको बहुदलीय जनवाद मान्ने एमाले सधैं अभिव्यक्ति स्वतन्त्रताको पक्षमा रहेको बताए । ‘हामी अभिव्यक्ति स्वतन्त्रताको पक्षमा छौं । ओठेभक्ति र स्तुति होइन, मनैदेखि सैद्धान्तिक अभिव्यक्ति स्वतन्त्रता हुनुपर्छ भन्ने पक्षमा छौं’ उनले भने ।

मदन भण्डारीले नागरिकलाई अभिव्यक्ति स्वतन्त्रता दिनुपर्छ र प्रतिस्पर्धाका आधारमा समाजमा श्रेष्ठता हासिल गर्न सकिन्छ भन्ने मूल धारणा प्रतिपादन गरेको भन्दै नेता पौडेलले जनताको बहुदलीय जनवादका अलग अलग विशेषतालाई नागरिकबीच पु¥याउन आफू निरन्तर लागेको बताए । भण्डारीले शिक्षा र स्वास्थ्य सबै नागरिकका लागि सर्वसुलभ बनाउनुपर्छ भन्दै लैंगिक र सामाजिक समावेशीकरणका मुद्दामा काम गर्नुपर्ने विचार प्रतिपादन गरेको उनले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।