ताजा अपडेट »

रुपन्देहीको पूँजीगत खर्च २६‍.०५ प्रतिशत मात्र

आइतबार, १२ असार २०७९, १६ : १६
8 Shares


भैरहवा । रुपन्देहीमा चालु आर्थिक वर्षको हालसम्म पूँजीगत बजेटको २६ दशमलव ०५ प्रतिशत रकम मात्र खर्च भएको छ । पूर्वाधारको आवश्यकता पूरा गर्न गरिने पूँजीगत खर्च हालसम्मकै न्यून छ । विकास निर्माण र पूर्वाधारमा देखिने यो खर्च नहुनु भनेकै विकास निर्माणको काम कछुवा गतिमा हुनु हो । कर्मचारीहरुले काम नगरिदिदा पूर्वाधार तथा आयोजनाको काम यो वर्ष सुस्त छ ।

चालु आवमा जिल्लाको कुल बजेट ४३ अर्ब ३६ करोड २९ लाख ४६ हजार  ३६० रहेकामा हालसम्म ३३ अर्ब ६ करोड खर्चिएको पाइएको छ । प्रतिशतमा हेर्दा ७६ दशमलव २५ प्रतिशत कुल बजेट खर्च भए पनि पुँजीगततर्फ एक तिहाइ पनि खर्च भएको छैन । तलब भत्ता तथा भत्तामा ९१ प्रतिशत खर्च गरेको रुपन्देहीका कार्यालयले पूँजीगततर्फ भने न्यून खर्च गरेको छ । 

कोष तथा लेखा नियन्त्रक कार्यालय रुपन्देहीका अनुसार चालु आर्थिक १० असारसम्म चालुतर्फको ३३ अर्ब ४० करोड ५२ लाख ३१ हजार ६०१ मध्ये ३०  अर्ब ४६ करोड ९७ लाख ८२  हजार ७९५ रुपैयाँ अर्थात् ९१ प्रतिशत खर्च भएको छ भने  पुँजीगत तर्फ अख्तियारी आएको कुल बजेट ९ अर्ब ९५ करोड ७७ लाख १४ हजारमध्ये हालसम्म २ अर्ब ५९ करोड ४५ लाख ७९ हजार ५६६ अर्थात् २६ प्रतिशत रकम खर्च भएको कोलेनिका कार्यालय रुपन्देहीका प्रमुख कोष नियन्त्रक विष्णु प्रसाद ज्ञवालीले बताए ।

कार्यालयका अनुसार पूँजीगततर्फ सडक डिभिजन कार्यालयले ३ अर्ब ९२ करोडको अख्तियारी पाएकोमा हालसम्म ५८ करोड १४ लाख मात्र खर्चिएको छ । यस्तै भैरहवा लुम्बिनी सडकले २ करोड ४२ लाखमध्ये ३० हजार ९००, बेलहिया बुटवल सडक खण्डले ३१  करोडमध्ये १२ करोड ७३ लाख, सवारी परीक्षण कार्यालय रुपन्देहीले ४ करोड ५५ लाख २० हजार अख्तियारी पाएकोम १६ लाख ५४ हजार मात्र खर्चेको छ । 

आर्थिक करिडोर कार्यालय बुटवलले १४ करोड १९ लाख ५५ हजारमध्ये १ करोड ६२ लाख, जनताको तटबन्ध कार्यक्रमका लागि आएको ६४ करोड ६५ लाखमध्ये २१ करोड ७१ लाख, भूमिगत जल सिँचाइ भैरहवा लुम्बिनीका लागि विनियोजित २७ करोड ९५ लाखमध्ये हालसम्म ७ करोड ९ लाख, जल तथा मौसम विज्ञानका लागि आएको २ करोड १३ लाखमध्ये १६ लाख मात्रै खर्च गर्न सकेको कार्यालयले जानकारी दिएको छ ।

पालिकातर्फ मायादेवी गाउँपालिकाका लागि आएको २ करोड, रोहिणीका लागि १५ लाख, सियारी गाँउपालिकालागि १ करोड ९५ लाख, कोटहीमाई गाँउपालिकालागि १ करोड ५० लाख, कंचन गाउँपालिकाका लागि २ करोड १० लाख, लुम्बिनी सांस्कृतिक नगरपालिकाका लागि २ करोड, देवदह नगरपालिकाका लागि १ करोड ५० लाख, सिद्धार्थनगरका लागि आएको बजेटमध्ये १ करोड र बुटवल उपमहानगरपालिकाले ४५ लाख अझै पनि खर्च भएको छैन । अधिकांश पालिकाले यो रकम खर्च गर्न नसकेर फ्रिज गर्दै छन । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।