ताजा अपडेट »

बुटवल उपमहानगरको बजेट २ अर्ब ३५ करोड, विभिन्न क्षेत्रमा कर छुटको व्यवस्था

शुक्रबार, १० असार २०७९, १९ : ४६
4 Shares

बुटवल । रुपन्देहीको एकमात्र बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि २ अर्ब ३५ करोड बराबरको बजेट प्रस्तुत गरेको छ । उपमहानगरको आन्तरिक आय, प्रदेश तथा संघीय सरकारबाट प्राप्त हुने समानिकरण तथा सशर्त अनुदान, विशेष अनुदान तथा समपुरक अनुदानका साथै राजश्व बाँडफाँडबाट प्राप्त आयलाई बजेटमा प्रस्तुत गरिएको हो ।

शुक्रबार उपमहानगरको बजेट प्रस्तुत गर्दै उपप्रमुख सावित्रा अर्यालले उपमहानगरको आन्तरिक आय ६० करोड अनुमान गर्दै संघीय सरकारबाट प्राप्त हुने समानीकरण ३४ करोड ८० लाख, सशर्त अनुदान ४५ करोड २३ लाख, समपुरक अनुदान ६ करोड ४० लाख रहेको बताइन् । यसैगरी प्रदेश सरकारबाट प्राप्त हुने समानीकरण अनुदान १ करोड ६१ लाख ३३ हजार, शशर्त अनुदान १ करोड ६० लाख, विशेष अनुदान ८० लाख, समपुरक अुनदान २ करोड ९९ लाख रहेको उल्लेख गरिन् । राजश्व बाँडफाँटबाट प्राप्त हुने ३१ करोड ९८ लाख र गत आर्थिक वर्षबाट प्राप्त ३४ करोड ५८ लाख ६७ हजार बजेटलाई यस वर्षका लागि विनियोजन गरिएको उल्लेख गरिन् । आय अनुमानको तुलामा १५ करोड कम हुने देखिएकाले उक्त बराबरको रकम अन्य आयस्रोतको पहिचान तथा संघीय सरकारबाट थप अनुदान प्राप्त हुने लक्ष्य प्रस्तुत गरिएको छ ।

“समानता, स्वाभिमान र अवसर–बस्न योग्य बुटवल शहर” भन्ने मूल नाराका साथ प्रस्तुत गरिएको बजेटले दीगो विकास लक्ष्यको स्थानीयकरण गरी लक्ष्य प्राप्तिमा जोड दिने, स्थानीय गौरवका आयोजनाहरुलाई संघ र प्रदेश सरकारसंगको सहकार्यमा सम्पन्न गर्ने, अधुरा योजना कार्यक्रमहरुलाई निरन्तरता एवं पूर्णता दिने लगायतका उद्देश्यहरु राखेको छ । सुशासन प्रवद्र्धन गरी स्थानीय सेवा प्रवाह गर्ने तथा अति आवश्यक मात्र नयाँ योजना कार्यक्रम समावेश गर्ने उल्लेख गरिएको छ ।

बजेट प्रस्तुत गर्दै उपप्रमुख अर्यालले ‘जनतासँग प्रमुख’ कार्यक्रम अन्तर्गत उपचार र व्यवस्थापन गर्न जटिल मुटु, क्यान्सर, मृगौला, अटिजम, अल्जाइमर, हेड इन्जुरी, स्पाइनल इन्जुरी रोगका विरामीलाई विगतमा दिई आएको वार्षिक अनुदानलाई निरन्तरता दिने, विगतदेखि संचालित ‘नगर प्रमुख जेष्ठ नागरिक स्वास्थ्य घरदैलो स्वास्थ्य सेवा’ तथा ‘उपप्रमुख सुरक्षित मातृत्व कार्यक्रम’लाई थप प्रभावकारी बनाउने उल्लेख गरिएको छ । यसैगरी बुटवलमा स्वास्थ्य परीक्षणका लागि स्तरीय डाइनेष्टिक ल्याब सञ्चालनका लागि बजेटको व्यवस्था गरिएको छ । उपयुक्तताको आधारमा कम्तीमा एउटा स्वास्थ्यकेन्द्रलाई १५ शैयाको अस्पतालमा परिणत गर्न बजेट व्यवस्था गरिएको छ ।

बुटवलको चक्रपथ निर्माण, देवीपथ, रंगशाला मार्ग, ढुवानीग्राममा थप पूर्वाधार निर्माण, अटोभिलेजको पूर्वाधार विकास, ग्रामीण विद्युतीकरण, विभिन्न पार्क एवं सौन्दर्यकरणका लागि आवश्यक श्रोत व्यवस्था गरिएको उपप्रमुख अर्यालले बताइन् ।

बुटवलको वडा नम्बर १३ मा अवस्थित जवईमा राष्ट्रिय स्तरको फुटवल रंगशाला निर्माण वडा नम्बर ११ मा रहेको एन्फा टेक्निकल सेन्टरसँग रहेको खुला क्षेत्रलाई अल्पकालिन र दीर्घकालिन कार्ययोजना बनाई स्पोटर््स जोनको रुपमा विकास, बुटवल–१६ डहरगांउ स्थित खेलमैदानमा राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माण लगायतका लागि बजेटको व्यवस्था गरिएको छ । यसैगरी बुटवल–११ दविनगरमा स्व.वि.पि. कोईराला, स्व.पुष्पलाल श्रेष्ठ र स्व.सूर्य प्रसाद प्रधानको स्मृतिमा शालिक सहित पार्क निर्माण गर्नका लागि समेत बजेट छुट्याइएको छ ।

उपमहानगरले वडा स्तरमा सञ्चालन गरिने विकास योजनाहरुका लागि १६ करोड ५० लाख विनियोजन गरेको छ । बुटवल उपमहानगरले नयाँ आवका लागि कर तथा राजश्वमा वृद्धि नगर्ने उल्लेख गरेको छ । सम्पत्तिकर, बहालकर, हाटबजार बैठकी, ई–रिक्सा नवीकरण/रुट ईजाजत जस्ता कर तथा गैरकरका दरहरु कम्तीमा १० प्रतिशत सम्म न्यून गरिएको बजेटमा उल्लेख छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।