ताजा अपडेट »

सीमाक्षेत्रमा नेपाल-भारतको संयुक्त सुरक्षा गस्ती

मंगलबार, १० मंसिर २०७६, १२ : २८
4 Shares

मंसिर १०,

काठमाडौँ । उपनिर्वाचनको मिति नजिकिँदै गएपछि महोत्तरी जिल्लाको भारतीय सीमाक्षेत्रमा नेपाल र भारतका सुरक्षा निकायले संयुक्त गस्ती थालेका छन्। आगामी शनिबार महोत्तरीका तीन स्थानीय तहका चार पदका लागि उपनिर्वाचन हुँदैछ। जिल्ला प्रशासन कार्यालयको आग्रहमा भारतको मधुवनी र सीतामढी जिल्ला प्रशासन कार्यालयले नेपाली सुरक्षाकर्मीसँगै भारतीय सीमा सुरक्षा बलका जवानलाई गस्तीमा खटाएको छ।

अहिले महोत्तरीको पूर्वीदक्षिणी सीमा मटिहानीदेखि पश्चिमीदक्षिणी सीमा खैरबनीसम्मको दशगजा क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र भारतीय सीमा सुरक्षा बलका जवानले संयुक्त गस्ती गरिरहेको प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए। संयुक्त सुरक्षा गस्तीले उपनिर्वाचनका मुखमा सीमाक्षेत्रबाट हुने अवाञ्छित गतिविधि नियन्त्रणसँगै साना हतियारको ओसारपसार, लागुऔषध कारोबार र मानव तस्करी रोक्न र सीमा विवाद बढ्न नदिन सहयोग पुग्ने प्रजिअ खत्रीको विश्वास छ। पिपरा गाउँपालिकाका अध्यक्ष र मटिहानी एवं बलवा नगरपालिकाका तीन वडाका वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ।

बलवा-२ र ८ एवं मटिहानी-६ सहित तीन वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको हो। उपनिर्वाचनको मिति नजिकिँदै गर्दा अहिले पिपरा, बलवा र मटिहानीमा राजनीतिक चहलपहल ह्वात्तै बढेको छ।उपनिर्वाचन प्रयोजनका लागि आवश्यक पर्ने जनशक्ति, सुरक्षाकर्मी र अन्य व्यवस्था मिलाइसकिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख जिल्ला निर्वाचन अधिकारी पुष्पा झाले जानकारी दिइन्। - रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।