ताजा अपडेट »

तिलोत्तमामा शंकास्पद मृत्यु भएकी अमृताको ७३ दिनपछि आज दाहसंस्कार

शुक्रबार, १० असार २०७९, ०३ : ३२
4 Shares

बुटवल । शंकास्पद मृत्यु भएकी रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं २ जानकी नगरकी अमृता खत्री टण्डनको ७३ दिनपछि आज अन्त्येष्टि गरिँदै छ । लुम्बिनी प्रादेशिक अस्पतालको रहेको शवलाई माइती पक्षले घरमा ल्याएर तिलोत्तमा-३ स्थित मगरघाटमा दाहसंस्कार गर्ने जनाएको हो।

मृतकका दाजु पुष्पक खड्काले बहिनीको मृत्यु भएको साढे दुई महिनापछि अन्येष्टि गर्ने सहमति भएको बताए । माइती र घरतर्फका बीचमा भएको सहमति अनुसार घर पक्षले अमृताको नाममा कुनै काम गर्नेगरी अक्षयकोष बनाउने र छोराको शिक्षादिक्षाको लागि १४ लाख रुपैयाँ उनकै नाममा बैंकमा राखिदिने सहमति भएको छ।

अमृताको गएको चैत ३० गते राति शंकास्पद मृत्यु भएपछि माइती पक्ष आन्दोलनमा उत्रिएको थियो । नजिकै रहेको माइतीबाट घर गएको आधा घण्टामै उनको मृत्यु भएको भनिए पनि उनको हत्या गरिएको भन्दै परिवारका सदस्यलाई कारबाही गर्न माग गर्दै आएका थिए।माइती पक्षले अमृताको मृत्यु शंकास्पद रहेको भन्दै श्रीमान प्रेम टण्डन, उनका बुवा टहलसिंह टण्डन र आमा दीपा टण्डनलाई ज्यान मार्ने उद्योगमा जाहेरी दिएर सडक आन्दोलनमा उत्रिएका थिए।

अमृताका माइती पक्षले दिएको जाहेरी अनुसार जिल्ला अदालत रूपन्देहीले श्रीमान प्रेम टण्डनलाई पुर्पक्षको लागि थुनामा पठाए पनि सासू-ससुरा दुवैलाई भने प्रमाण नपुगेको भन्दै यसअघि नै रिहा गरिसकेको थियो।

त्यसपछि झनै असन्तुष्ट रहेका माइती पक्षले घटनाको सत्यतथ्य सार्वजनिक गर्नुपर्ने र दोषीलाई कारबाही गर्नुपर्ने भन्दै अन्त्येष्टि गर्न अस्वीकार गर्दै आएका थिए। यसअघि पोष्टमर्टमका लागि पनि रूपन्देही प्रशासनले निष्पक्ष छानबिन गर्ने प्रतिवद्धता जनाएपछि मात्रै माइती पक्ष सहमत भएका थिए।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।