ताजा अपडेट »

खाने पानी खोज्दै रित्तो गाग्री बोकेर गाउँपालिका कार्यालय पुगे शान्तिनगर बासी

शुक्रबार, ०३ असार २०७९, ०९ : ३३
72 Shares

दाङ । शान्तिनगर गाउँपालिका ४ का नागरिकहरू बिहीबार करिब १२ बजे शान्तिनगर गाउँपालिकाको कार्यालयमा रित्ता गाग्री लिएर आए । उनीहरूले आफूहरूले खानेपानीको धेरै समस्या भोग्दै आएका कारणले पानी सहजको लागि गाउँपालिकामा रित्ता गाग्री लिएर आएको बताएका थिए ।

उनीहरूले गाउँपालिकाको गेटमा रित्ता गाग्री राखेर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतसँग बर्सेनी आफूहरूले पानीको समस्या भोग्दै आएको भन्दै खाने पानी सहज गराउनको लागि आग्रह गरेका थिए । शान्तिनगर गाउँपालिका ४ का रमेश चलाउनेले करिब ४/५ महिनादेखि धारामा पानी नआउँदा आफूलाई खानेपानीको समस्या भइरहेको बताए । उनले अहिले ब्रह्मथानमा रहेको मूलको पानी लगेर खाने गरेको भन्दै एक गाग्री पानी ल्याउनको लागि करिब आधा घण्टा समय लाग्ने बताए । उनले वडा नम्बर ४ मा मात्र नभइ वडा नम्बर ३ मा पनि पानी ल्याउनको लागि त्यही ठाउँमा आउँदा भिडभाड हुने गरेको बताए ।

उनले भने,-‘हाम्रो टोलका करिब ५० घरपरिवार खानेपानीको समस्यामा रहेका छौँ । धारोमा पानी आउँदैन । ब्रह्मथानमा रहेको मूलको पानी ल्याएर खाने गरेका छौँ । त्यहाँ पनि धेरै भिडभाड हुन्छ । एक गाग्री पानी ल्याउनको लागि आधा घन्टा लाग्छ । यो समस्या अहिलेमात्र होइन् । हामीले यो समयमा वर्षेनी यस्तै भोग्दै आएका छौँ । पहिलेका जनप्रतिनिधिहरूलाई धेरै पटक भन्यौँ, हाम्रो कुरा सुन्दैनन् । अहिले नयाँ आएकालाई समस्या देखाउन गाग्री ल्याएर गाउँपालिका कार्यालयमा आएको हौँ ।’

उनले भने,-‘३० घरको लागि ३२ इन्चीको पाइप खानेपानी समितिले राखिदिएको छ । त्यो पाइपबाट एक थोपा पानी आउँदैन । हामी सबैभन्दा तलका उपभोक्ता हौँ । नेताहरूले हामी छलफल गर्छौ, भने हाम्रो समस्या हेर्न आउँछन् । तर, भोलि पल्टदेखि हाम्रा समस्या सम्बोधन हुँदैन । मुखले मात्र जनताको चित्त बुझाउँछन् ।तर, अहिलेसम्म काम नहुँदा हामीले समस्या भोग्दै आएका छौँ ।’ खानेपानी संस्थामा अहिले ९८० वटा धाराहरू रहेको र पानीको मुहान सुक्दै जानु र उपभोक्ता बढ्दै जादा पानीको समस्या हुने गरेको संस्थाका अध्यक्ष कँडेलले बताए ।

गाउँमा खानेपानी संस्था रहेको भएता पनि त्यसलाई पटक-पटक भन्दा आफूहरूको सुनवाई नभएको उनको गुनासो थियो । उनले निर्वाचनको समयमा नेताहरूले आफूहरूको समस्या समाधान गर्ने भनेर भोट माग्ने गरेको भएयता पनि जितेपछि वेवास्ता गर्ने गरेको पनि बताए । त्यस्तै अर्का स्थानीय रेशम खड्काले प्रति घरले २० हजार रकम दिएर निजी धाराहरू जडान गरेको भएयता पनि पानी नआउँदा समस्या भएको बताए । उनले आफूले यो समस्याको लागि बारम्बार सम्बन्धित निकाय र जनप्रतिनिधिहरूलाई भन्दा पनि कुनै सुनुवाइ नभएको बताए । उनले अहिले जेठ असारको महिना मात्र नभइ पुस माघको महिनामा पनि आफूलाई पानीको समस्या हुने गरेको बताए ।

दैनिक माग ८ लाख लिटर, आपूर्ति ३ लाख लिटर

शान्तिनगर गाउँपालिका ३ र ४ मा खानेपानी वितरण गर्दै आएको माइली पानी खानेपानी संस्थाले दैनिक ८ लाख लिटर पानीको माग हुँदा समस्या हुँदै आएको बताएको छ । संस्थाका अध्यक्ष थम्मन कँडेलका अनुसार बिहान र साँझ गरि दैनिक ८ लाख लिटर पानी आवश्यक भएयता पनि संस्थाले अहिले दैनिक ३ लाख लिटर पानी वितरण गर्दै आएको छ ।

उनले भने,-‘हाम्रो खानेपानीको टयाङ्की ३ लाख क्षमताको रहेको छ । तर, २४ घण्टामा त्यो टयाङ्कीमा २ लाख ८० हजार लिटर पानी जम्मा हुन्छ । त्यो पानीले कसरी हामीले उपभोक्तालाई पुर्याउन सकिन्छ ।’ उनले पछिल्लो समय लामोसमय सम्म खडेरी हुँदा र भएका मुहानहरु सुक्दै जादा पनि पानीको समस्या भइरहेको उल्लेख गरे ।

त्यस्तै उनले खानेपानी संस्थाले पानीका मुहान सुक्दै जादा र उपभोक्ताहरु बढ्दै जादा उपभोक्तालाई पानी खुवाउन नसकेको अवस्थामा राज्यले बैकल्पिक स्रोतको लागि सहयोग गर्नु पर्ने बताए । उनले उपभोक्ताहरु माइली पानीका मात्र नभइ राज्यका पनि नागरिकहरू भएका कारण अब स्थानीय सरकार वा प्रदेश र संघले यसफर्त गम्भिर ध्यान दिनु पर्ने पनि बताए ।

अहिले संस्थाको मुख्य पानीको मुल भने माइली पानी मात्र रहेको र त्यो पनि सुक्दै गएका कारण अन्य अस्थायी करिब ५ वटा स्रोतहरुबाट पानी ल्याएर ३ लाख लिटरसम्म पुर्याएको पनि उनको भनाई थियो । उनले भने,-‘हाम्रो मुख्य पानीको मुल वर्सेनी सुक्दै गएको छ । अहिले अस्थायी रुपमा अन्य पानीका मुहानबाट ल्याएका छौँ । केही सिंचाइका लागि प्रयोग हुने पानी रहेको छ । अहिले ति पनि किसानहरुले धानको ब्याड राख्नको लागि पानी मागि रहनु भएको छ । अब हामीले उपभोक्तालाई पानी खुवाउने की रु किसानलाई खेती गर्न पानी दिने । धेरै समस्यामा रहेका छौँ ।’ यसैगरी उनले पानी वितरणमा कुनै पनि विभेद नगरेको भन्दै पुरानै तरिकाबाट भइरहेको पनि उल्लेख गरे ।

यता शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतले नागरिकहरुलाई खानेपानी तत्काल सहज बनाउनको लागि खानेपानी संस्थाका अध्यक्षलाई आग्रह गरेको बताए । उनले अहिले अरु बैकल्पिक स्रोत भन्दा पनि भएको पानीबाट कसरी पानी खुवाउन सकिन्छ, त्यो काम गर्न संस्थाका अध्यक्षलाई आग्रह गरेको बताए ।

उनले पानीको समस्या भएको भन्दै नागरिकहरू आफू कहाँ सहजीकरण गर्नको लागि आएको भन्दै आफूले उनीहरुको समस्यालाई गम्भिर रुपमा लिएर काम गर्ने पनि बताए । उनले खानेपानीको लागि गाउँपालिकाको तर्फबाट सहयोग गर्ने पनि बताए ।

सुमन केसी
लेखकको बारेमा
सुमन केसी