ताजा अपडेट »

संवैधानिक आयोगका अध्यक्षविरुद्ध उजुरी

सोमबार, २१ माघ २०७५, ०७ : ४७
8 Shares

माघ २१,

काठमाण्डौं । संवैधानिक परिषद्ले नियुक्तिका लागि सिफारिस गरेका पाँच संवैधानिक आयोगका अध्यक्षविरुद्ध उजुरी आह्वान गरेको छ ।

संघीय संसद, प्रतिनिधिसभाको संसदीय सुनुवाइ समितिले सोमबार एक सूचना जारी गर्दै १० दिनभित्र सिफारिस व्यक्तिहरूविरुद्ध उजुरी दिन सार्वजनिक आह्वान गरेको छ ।

उजुरीकर्ताले आफ्नो नाम, थर, वतन स्पष्ट खुलाएर ७७ वटै जिल्ला प्रशासन कार्यालय मार्फत वा समितिको कार्यालय सिंहदरबारमा फागुन १ गतेसम्म उजुरी दिन सकिने सूचनामा उल्लेख छ ।

संवैधानिक आयोगका अध्यक्षमा सिफारिस प्रक्रिया संविधानविपरीत भएको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले असहमति जनाए पनि समितिले सुनुवाई प्रकृया अघि बढाएको हो ।

संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको दलको नेता अनुपस्थित रहेको अवस्थामा संवैधानिक आयोगमा नियुक्तिका लागि सिफारिस गरिएको कांग्रेसको आरोप छ ।

सत्ताधारी दल नेपाल कम्युनिस्ट पार्टीले भने प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा लगातार तेस्रो बैठकमा पनि उपस्थित नभएपछि संवैधानिक परिषद्ले बहुमतबाट निर्णय लिएको दाबी गर्दै आएको छ ।

संवैधानिक परिषद्को माघ ७ गतेको बैठकले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा बालानन्द पौडेल, राष्ट्रिय समावेशी आयोगमा शान्तराज सुवेदी, मधेसी आयोगमा डा. विजयकुमार दत्त, थारू आयोगमा विष्णुकुमार चौधरी र मुस्लिम आयोगको अध्यक्षमा समिम अन्सारीलाई सिफारिस गरेको छ ।

संसदीय सुनुवाइ समितिको आइतबार बसेको बैठकले संवैधानिक आयोगमा सिफारिस व्यक्तिहरूको सुनुवाइ प्रक्रिया अगाडि बढाउने निर्णय गरेको थियो । समितिमा कांग्रेसले असहमति जनाएर बैठक गरेपछि बहुमतबाट सुनुवाइ प्रक्रिया अगाडि बढाउने निर्णय गरेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।