ताजा अपडेट »

दैनिक साढे सात करोडको बिजुली निर्यात

विहीबार, २६ जेठ २०७९, ०७ : २९
4 Shares

काठमाडौँ ।  नेपालले दैनिक करिब साढे सात करोड रुपियाँको विद्युत् भारत निर्यात गर्न सुरु गरेको छ । बुधबार रातिदेखि नेपाल विद्युत् प्राधिकरणले इन्डियन इनर्जी एक्सचेन्ज  (आईआईएक्स)मा नेपालका पाँच आयोजनाको कुल ३१२ मेगावाट विद्युत् निर्यात सुरु गरेको हो ।

बुधबार रातिदेखि बिहीबार मध्यरातसम्म छ हजार आठ सय मेगावाट घण्टा निर्यात हुने भएको छ । नेपालको बिजुलीले महँगो मूल्य पाइरहेको छ । बुधबार मध्यराति १२ बजेदेखि बिहीबार मध्य रातिसम्मका लागि प्रतियुनिट औसत भारतीय छ रुपियाँ ८८ पैसा (११ रुपियाँ नेपाली)मा बिक्री भएको हो ।

यसअनुसार यो २४ घण्टामा छ हजार आठ सय मेगावाट घण्टा नेपालबाट बिजुली निर्यात हुने भएको हो । यो आँकडाअनुसार बिहीबार मात्रै सात करोड ४८ लाख ५४ हजार रुपियाँको बिजुली निर्यात भएको छ । 

आईआईएक्समा प्रत्येक १५ मिनेटका स्लटहरूमा विद्युत् बिक्री हुन्छ । डे अहेड मार्केट स्वरूपमा हुने आईआईएक्सको विद्युत् कारोबारमा प्रत्येक २४ घण्टाका लागि मात्र बोलकबोल हुने गर्छ । भारतमा नेपाली बिजुलीले रातिको समयमा अधिकतम मूल्य १९.२ रुपियाँसम्म र न्यूनतम छ रुपियाँ २० पैसासम्म मूल्य प्राप्त गर्दै आएकोे छ । 

भारतीय बजारमा शनिबार राति १२ बजेदेखि कालीगण्डकी जलविद्युत् आयोजनाको १४० मेगावाट, त्रिशूली र देवीघाटको ३७.७ मेगावाट आईआईएक्समा प्रतियुनिट औसत सात रुपियाँ चार पैसा भारुमा निर्यात हुन थालेको थियो । यो समाचार आजको गाेरखापत्र दैनिकमा छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।