ताजा अपडेट »

अन्तर्राष्ट्रियस्तरको विद्युत वितरण कमान्ड तथा नियन्त्रण केन्द्र निर्माण तीव्र गतिमा

बुधबार, २५ जेठ २०७९, १३ : ०४
8 Shares


काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत वितरणतर्फको सेवा व्यवस्थापनका लागि अन्तर्राष्ट्रियस्तरको वितरण कमान्ड तथा नियन्त्रण केन्द्र निर्माण गरिरहेको छ । 

प्राधिकरणले आफ्नो सेवा प्रवाहलाई डिजिटल तथा आधुनिक बनाउने उद्देश्यलाई पूरा गर्न सुविधा सम्पन्न केन्द्र निर्माण गरिरहेको हो । काठमाडौंको स्युचाटारस्थित भार प्रेषण केन्द्रसँगै आधुनिक सुविधा सम्पन्न अन्तर्राष्ट्रियस्तको केन्द्र निर्माणाधीन छ । केन्द्रको निर्माण आगामी पुसभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ । 

केन्द्रमा काठमाडौं उपत्यकाको विद्युत वितरण प्रणालीलाई स्वचालित गराउन निर्माणाधीन भूमिगत वितरण प्रणालीको नियन्त्रण कक्ष रहने छ । यसमा उपत्यकाका सबस्टेसन तथा स्विचिङ स्टेसनहरू जोडिने छन् । केन्द्रबाटै ११ केभीभन्दा मुनिको ग्राहकको घरसम्म पुग्ने विद्युत वितरण प्रणालीको व्यवस्थापन, अनुगमन र नियन्त्रण गर्न सकिने छ । साथै, त्यहाँ अन्तराष्ट्रिय स्तरको डाटा सेन्टर रहने छ, जहाँ प्राधिकरणका सूचना प्रविधिसँग सम्बन्धित सर्भरलगायतका सबै डाटाहरू एकीकृत रूपमा रहने छन् । 

‘प्रि–फेब्रिकेटेड कन्टेनर’ प्रयोग गरी तयार गरिने वितरण कमान्ड तथा नियन्त्रण केन्द्र भवनको सिभिल संरचनाहरूको निर्माण सम्पन्न भएको छ । तीन तलाको भवनमा डाटा सेन्टर, नियन्त्रण कक्ष र कार्यालय रहने छन् । सिभिल संरचनाको निर्माण सम्पन्न भएकाले अब केन्द्रमा राखिने उपकरणको जडान सुरु हुने र यसका लागि दुई÷तीन महिना लाग्ने छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्माण कार्यको स्थलगत अनुगमन गरी प्राधिकरणको सेवालाई आधुनिक सूचना प्रविधिको प्रयोग गरी अन्तर्राष्ट्रियस्तरको बनाउन आयोजना महत्वपूर्ण भएकाले तोकिएकै समयमा सम्पन्न गर्न आग्रह गरे । 

केन्द्र निर्माणका लागि चिनियाँ कम्पनी यानताई डोङफाङ विज्डम इलेक्ट्रिकसँग जुलाई २०२१ मा ठेक्का सम्झौता भई नेभेम्बरबाट काम सुरु भएको थियो । नेपाल सरकारको लगानी र एसियाली विकास बैकको सहुलितपूर्ण ऋणमा निर्माणाधीन आयोजनाको अनुमानित लागत करिब एक करोड २० लाख अमेरिकी डलर रहेको छ ।  

प्राधिकरणले आफ्नो सेवालाई आधुनिक सूचना प्रविधिको प्रयोग गरी सहज, सर्वसुलभ, प्रभावकारी  बनाउन ‘डिजिटल एनइए’ अवधारणामार्फत सोहीअनुसार काम गरिरहेको छ । वितरण प्रणाली तथा विद्युतीय सेवालाई आधुनिकरण गर्ने क्रममा पहिलो चरणमा रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका करिब ९८ हजार ग्राहकको घरमा स्मार्ट मिटर जडान गरिएको छ । आगामी दिनमा क्रमैसँग देशभर ग्राहकको घरमा स्मार्ट मिटर जडान गरिने छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।