ताजा अपडेट »

दश महिनामा एक अर्ब २३ करोडभन्दा बढीको सी–फुड भित्रियो

मंगलबार, २४ जेठ २०७९, १३ : ३७
4 Shares

काठमाडौं । पछिल्ला वर्षहरुमा नेपालमा सी–फुड (समुन्द्र खाना)को माग बढेको छ । प्रत्येक वर्ष डेढ अर्ब रुपैयाँभन्दा बढीको सी–फुड नेपाल भित्रने गरेको छ । 

भन्सार विभागको पछिल्लो विवरणअनुसार चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो दश महिनामा विभिन्न देशबाट नेपालमा १ अर्ब २३ करोड ९२ लाख ८७ हजार रुपैयाँको सी–फुड नेपाल भित्रिएको छ । सो मुल्यमा पछिल्लो दश महिनामा नेपालमा ४९ लाख ९८ हजार ३५ केजी सीफुड भित्रिएको विभागले जनाएको छ ।

सालमोन, क्याटफिस, सिद्रामाछा, झिङ्गे माछा लगायतका विभिन्न प्रकारका माछाहरु, गँगटा, स्क्यालप, अक्टुपस लगायतका समुन्द्री जीवहरु नेपालले आयात गर्ने गरेको छ । नेपालमा सी–फुडहरु भारत, थाइल्याण्ड, डेनमार्क, भियतनाम, चीन, नर्वे, मलेसिया, हङकङ, सिंगापुर, क्यानडा, बेलायत, दक्षिण कोरिया, कतार लगायतका देशबाट आउने गरेको छ । 

विभागका अनुसार गत आर्थिक वर्ष २०७७/७८ मा विभिन्न देशबाट १ अर्ब ६९ करोड ८० लाख ६१ हजार रुपैयाँको ६३ लाख ४ हजार ९५२ केजी सी–फुड नेपालले आयात गरेको थियो । आर्थिक वर्ष २०७६/७७ मा १ अर्ब ७६ करोड ५१ लाख ३६ हजार रुपैयाँको ६८ हजार ६५ हजार ९९५ केजी सी–फुड नेपाल भित्रिएको विभागले जनाएको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।