ताजा अपडेट »

किसानले मल समयमै कहिले पाउने ?

सोमबार, २३ जेठ २०७९, १९ : ०८
2 Shares

वर्षायाम सुरु हुँदैछ अर्थात् खेतीको सिजन आएको छ । नेपालको मुख्यबाली धानबालीका लागि बिउ छर्न सुरु भइसकेको छ । विशेषगरी मुलुकको अन्नभण्डार मानिने तराइमा धानको बिऊका लागि ब्याड बनाउने र बिउ छर्ने चटारो सुरु हुँदैछ । यो समय अन्नबाली उत्पादन गर्ने खेतीको लागि निकै महत्वपूर्ण छ । विशेषगरी नेपालमा वर्षको एकपटक धानबाली उत्पादन गर्ने प्रचलन छ । यद्यपी केहि जिल्लामा २ पटक उत्पादन पनि हुन्छ । अन्नका लागि खेती जस्तै खेतीका लागि मल अत्यावश्यक तथा महत्वपूर्ण हुन्छ । तर, त्यही मल अभाव र ढिलासुस्तीका कारण वर्षेनी किसान मर्कामा परेका छन् ।

कृषिप्रधान देश भनिँदै आएको नेपालमा हरेक वर्ष रसायन मलको हाहाकार हुने गर्दछ । कृषि केवल कृषकको आवश्यकता र समस्या होइन । मुलुककै उत्पादन र जनताको जीवनीसँग जोडिएको अत्यावश्यक खेती प्रणालीका लागि अत्यावश्यक मल व्यवस्थापनमा वर्षेनी लापरवाही गर्नाले किसान र उत्पादनमा गम्भीर असर परेको छ । कृषिकै संरक्षण प्रवद्र्धन र विकासका लागि मुलुकमा कृषि मन्त्रालय छ, मन्त्री छन् । त्यसैगरी प्रदेश सरकार, मन्त्रालय र मन्त्री पनि छन् । तर, कृषिको मुख्य आवश्यकता र समस्यामा नै गम्भीर छैनन् । क्षेत्रफलले सानो मुलुक, कृषियोग्य जमिन र कृषक संख्या कमी रहेको अवस्थामा पनि तथ्यांक तथा आवश्यक मलको लगत ननिकाली सोही अनुसारको मल आपूर्ति तथा व्यवस्थापन गर्न नसक्नु केवल कमजोरी होइन चरम लापरवाही हो ।

मुलुक मल मात्रै होइन, धेरै कुरामा आश्रित छ । तर, ती वस्तुहरुको आयात र पूर्ति सहजै हुने गरेको छ । रसायन मल पूर्ण रुपमा आयात गरिने बस्तु हो । स्वदेशमा कुनैपनि रसायन मलको उद्योग र उतपादन नभएको अवस्थामा आयात नै एक मात्रै उपाय हो । तर,त्यही आयात समयमा र आवश्यक मात्रामा गर्न नसक्नु सरकार र सरोकारवालाको कमजोरी हो ।

सरकारले प्रयाप्त मलखादको व्यवस्था गर्न नसक्दा भारतीय बजारमै भर पर्नुपर्ने कृषकको बाध्यता छ । नेपालमा मलखाद वितरण गर्ने कृषि सामग्री कम्पनी लिमिटेडले प्रयाप्त मल उपलब्ध नगराउँदा चर्को मूल्य तिरेर भारतीय मलको प्रयोग गर्नुपर्ने बाध्यता रहँदै आएको छ । कृषि सामग्री केन्द्रले स्थानीय तहमार्फत कृषि सहकारी संस्थाहरुलाई नगन्य मात्रामा मल उपलब्ध गराउनाले पनि कृषकहरु भारतीय बजारको भरपर्नु परेको छ । भारतीय बजारबाट मलखाद खरिद गर्दा कृषकहरु मूल्यमा ठगिने, मल ल्याएर यहाँका व्यापारीहरुले समेत महङ्गोमा बिक्री गर्ने गरेको कृषकहरुको गुनासो छ ।

खेतीबालीको मुख्य सिजनमा किसानको माग अनुसार सरकारले मलखाद समयमै आयात गर्न नसक्दा हरेक वर्ष मलको अभाव दोहोरिने गरेको छ । सहज रूपमा कृषकले मल पाउन नसकेपछि सीमावर्ती क्षेत्रका कृषक भारतीय बजारमा निर्भर हुने गरेका छन् । कृषकका लागि आवश्यक पर्ने डीएपी, पोटास र युरिया मलमध्ये कम्पनीसँग युरिया मलको स्टक शून्य छ । यदी मलको आपूर्ति भइहाले पनि नगन्य मात्रामा हुने देखिन्छ ।

भारतीय बजारबाट केही कृषकले आफूलाई आवश्यक मल मात्र साइकलमा ल्याउने गरेका छन् भने केहीले आवश्यकभन्दा बढी ल्याएर अन्यत्र बिक्री गर्ने गरेका छन् ।यसवर्ष जेठमै वर्षा सुुरु भएकाले कतिपय ठाउँमा रोपाइँ गर्न तयारी गरिए पनि रासायनिक मल नहुँदा किसान मर्कामा परेका छन् । कृषि सामग्री कम्पनीले समयमै मल ल्याउन नसक्दा यस वर्षपनि किसानले मलको हाहाकार खेप्नुपरेको हो । असार लाग्न लागिसक्दा पनि मल नपाउँदा उत्पादनमा ह्रास हुने भन्दै किसान चिन्तित हुन थालेकाले मलको हाहाकार रोक्न तत्काल सरकारले कदम चाल्न आवश्यक छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।