ताजा अपडेट »

इँटाभट्टादेखि विद्यालयतर्फ फड्को मार्दै बालबालिका, निरन्तरतामा समस्या

आइतबार, २२ जेठ २०७९, १८ : ५६
14 Shares

केही वर्ष अघिसम्म आफ्ना बाबु–आमालाई इँटा बनाउन सघाउनेमञ्जु चौधरी अहिले सेतो एप्रोन लगाएर अस्पतालमा काम गरिरहेकी भेटिन्छिन्। उनी बिरामीको सामान्य चेकजाँच गर्छिन्, आवश्यक भए डाक्टरकहाँ पठाउँछिन् र डाक्टरले लेखिदिएका खाना र दबाई पानीको मात्रा बताइदिन्छिन्।

आफ्नी छोरीको पढाई र जागीरका बारेमा उनका बाबु–आमालाई धेरै कुरा थाहा छैन। तर, मञ्जुले काममा जाँदा लगाउने सेतो पोसाक देख्दा भने उनीहरूको अनुहार उज्यालो हुन्छ। आफ्नो कामबाट मञ्जु जति खुसी छन्, त्योभन्दा बढी खुसी छन् वर्षौँसम्म इँटा भट्टामा दिनरात पसिना बगाएका उनका बाबु–आमा। इँटाभट्टामा काम गर्ने शिवप्रसाद चौधरी छोराछोरीको जिन्दगी आफ्नोभन्दा राम्रो होस् भन्ने चाहन्थे। ‘हाम्रो जिन्दगी त भट्टैमा बित्यो। छ महिना घर, छ महिना भट्टा’ उनलाई आफूले काम गर्ने ठाउँमा छोराछोरीलाई राख्न नपरे हुन्थ्यो भन्ने लागि रहन्थ्यो। तर, एक जनाले काम गरेर घर नचल्ने भएपछि उनी श्रीमती र छोराछोरी लिएरै काममा आएका हुन्।

तराइको धूपमा जति घाम, उति काम। आफ्ना काका र दाइहरूले काम गरेको देखेर इँटाको काममा लागेका शिवप्रसादको मनमा सुरुमा कपिलवस्तुको इँटा उद्योगमा काम गर्दाको दुःख भने ननिस्कने काँडा बनेर बसेको छ। पाँच महिनाको काखको बच्चासहित आएका उनीहरू काम अनुसारको ज्याला पनि पाउँदैनथे। पाकेको ज्याला माग्दा समेत धेरै पटक उनले साहुको लौराको लखेटाइ खानु पर्याे। एक पटक बच्चा एक्कासी बिरामी भयो। अस्पताल लैजान पैसा थिएन। साहुसँग हात जोडेर आफ्नो पाकेको पैसा के मागेका थिए, उल्टै फर्केर नआइज भन्ने आदेश पो सुने। त्यतिबेला नै उनले मनमनै ईश्वर पुकार गरे।

ससाना छोराछोरी घरमा छोडेर आउँदा उनीहरूले के खाए,के लाए,के गरे भन्ने पिरलो। सँगै ल्याउँदा गर्मीमा धुलो र जाडोमा बालुवाको चिसोले हप्तैपिच्छे अस्पताल लैजानु पर्ने समस्या। पहिला काम गर्ने कपिलवस्तुको भट्टामा भारतीयमूलका कामदार धेरै थिए। सबैले काम गर्थे। पढ्ने पढाउने भन्ने कुरो केही थिएन। यी सब परिवन्दले उनको मनमा एक प्रकारको छट्पटी बढाएको थियो। उनीसितछोराछोरीलाई के कस्ता बनाउने भन्ने ठूला सपना त केही थिएनन् तर उनीहरूलाई आफैँले जस्तो दुःख गर्नबाट जोगाउने अठोटले उनलाई छोड्दै छोडेन।

कारखानामा कखरा
राम्रो कामको खोजीमा शिवप्रसाद रूपन्देहीको कोटिहवामा रहेको सिद्घार्थ इँटा उद्योगमा आए। यहाँ आउनुको एउटा मुख्य कारण थियो, यहाँ रहेको मजदूरका छोरा–छोरीलाई खेलाउने– भुल्याउने र अक्षर सिकाउने व्यवस्था। चाँडै नै मञ्जु पनि भट्टामा चलेको कक्षामा जान थालिन् । माटो र पानीमात्रै पर्ने हातमा कागज र पेन्सिल पर्यो। अक्षर चिन्ने,सिक्ने,खेल्ने र रमाउने मौका मिल्यो।

शिवप्रसाद चौधरी भट्टाका मेठ (मजदुरका नाइके) पनि हुन्। भट्टामै बस्दा अक्षर चिनेकी छोरीमञ्जुले गाउँमा फर्केर पनि पढाइ जारी राखिन्। एसईई पछि उनले नेपालगञ्जमा गएर एच. ए., अर्थात् स्वास्थ्य सहायक पढिन्। अहिले उनी राप्ती गाउँपालिका सिसहनियाको स्थानीय पोलिक्लीनिकमा जागीर खान्छिन्। तर उनलाई यतिमै सीमित भएर बस्न मन छैन, त्यसैलेस्वास्थ्य विषय लिएर बि.एड्. पनिपढ्न थालेकी छन्।

सिद्घार्थ कमलराज बालविकास तथा सिकाइ केन्द्रमा अहिले इँटाभट्टामा काम गर्ने मजदुर परिवारका २८ जनाबालबालिका भर्ना भएका छन्। उनीहरूबिहान सातैबजे कक्षामा आउँछन्।तालिका अनुसार फरक फरक खानेकुरा खान्छन्। खेल्छन्, सिक्छन् र १२ बजे बाबाआमासँग जान्छन्। उनीहरू २ बजेफेरि कक्षामा आउँछन् र साँझ ५ बजे आफ्नो आवासमा फर्किन्छन्।

उद्योगका व्यवस्थापक इश्वरी प्रसाद वस्तीका अनुसार मजदूरका बच्चालाई रेखदेख गर्ने र पढाउने यो अवधारणाउद्योगका मालिक स्व.कमलराज पाठकको हो। ‘मजदूरको पसिनाले चल्ने उद्योगबाट हुने कमाइले मजदूर र उनको परिवारलाई पनि केही गर्न पर्छ भन्ने उनको सोचाई थियो ,’ उद्योगले बालबालिकाको खाना खाजाकोखर्च र दुई जना सहयोगी कर्मचारीको तलब गरेर सिकाइ केन्द्रका लागि सरदर मासिक ३० हजार रकम खर्च गरिरहेको छ।

सिद्घार्थ इँटामा विगत ११ वर्षदेखि काम गर्दै आएका दाङ जिल्लाकै सन्तराज चौधरी पनि छोरीलाई धेरै पढाउन चाहन्छन्। चार वर्षसम्म उद्योगकै सिकाइ केन्द्रमा पढेकी उनकी छोरी अहिलेमामा घर बसेर ६ कक्षामा पढ्दैछिन्। छोरी ठूली भएपछि कृषि विषय पढाउने उनको रहर छ। केटाकेटीको स्याहार सुसार गर्न र अलिअलि अक्षर चिनाउन भट्टाका साहुले गरेको व्यवस्थाले धेरै सुविस्ता भएको उनले बताए।

जाग्दो छ अक्षरको भोक
इँटा भट्टामा काम गर्ने अभिभावकहरू आज–भोलि छोरा–छोरीको पढाइमा पहिलेभन्दा धेरै चासो राख्न थालेका छन्। पहिला हात जोडेर बालबालिकालाई स्कूल पठाइदिनु भन्न जाँदा समेत स्कुल पठाउन नखोज्ने अभिभावक आज–भोलि छोराछोरीलाई स्कुल पुर्याउन र लिन आफैँ जान्छन्। तिलोत्तमा नगरपालिकाको वडा नम्बर १३ मा रहेको बभनी भूतपूर्व सैनिक प्राथमिक विद्यालयमा अहिले इँटाभट्टामा काम गर्ने मजदूरका १८ जना छोरा–छोरी पढ्दैछन्।

तर, बालबालिकाका आमाबाबु छ महिना भट्टामा र छ महिना घरतिरै हुने हुनाले उनीहरूको पढाइको नियमितता र गुणस्तरमा समस्या छ। प्रधानाध्यापक मनोज कुमार क्षेत्री भन्छन्,‘उनीहरू सिजनल(मौसमी) विद्यार्थीजस्ता छन् । कार्तिकबाट वैशाखसम्म यहाँ बस्छन्। जेठदेखि कार्तिकसम्म आफ्नो गाउँमै हुन्छन्। त्यसैले उनीहरूलाई पढाउन धेरै नै मेहनत गर्नु पर्छ।’

इँटाभट्टा वरपरको मात्रै वातावरण देखेका बालबालिकाका लागि विद्यालय अलि ठूलो आँखीझ्याल भएको छ। स्कूलमा खेल्न र खाजाखानसमेत पाएकाले विद्यार्थीपनि खुसी नै देखिन्छन्। बभनी प्रा.वि.मा कक्षा ३ र ४ मा पढ्ने दाङका विपना, समर र रोशिका चौधरी पढ्नमा मन बढाउँदैछन्। अंग्रेजी पढ्न उनीहरूलाई अझै गार्हो छ तर, नेपाली किताब उनीहरूले मज्जाले पढ्न थालेका छन्। पाँच कक्षामा पढ्ने विपनालाई शिक्षक बन्ने मन छ ।

‘म टिचर बन्ने। ममीलेजस्तो दुःख गर्न नपर्ने’ भन्ने रोशिका चौधरी कक्षा २ मा पढ्छिन्। लजाउँदै उनले भनिन् ‘मलाई स्कुल आउँदा रमाइलो लाग्छ। खेल्छु, खान्छु, पढ्छु ।’ चार कक्षामा पढ्ने समर चौधरीलाई १० कक्षासम्म पढेर राम्रा र ठूला गाडी चलाउने मन छ। उनलाई स्कूल जान रमाइलो लाग्छ। उनी घण्टी लागेपछि दगुर्दै भट्टामा जान्छन्। भाई–बैनीलाई खेलाउँछन्। होमवर्क गर्छन्। उनीहरूलाई देख्दा लाग्छ, स्कूलले बालबालिकालाई अक्षर मात्र सिकाएको छैन, सपना देख्न पनि सिकाउँदै छ।

विद्यालयका पूर्व प्रधानाध्यापक तथा शिक्षक सरस्वती आचार्यको अनुभवमा उनीहरूका घरमा पढ्ने वातावरण हुन्न। मंगलबार र शुक्रबार बाआमाको कामको हिसाब बुझ्ने र पैसा लिने दिनबच्चाहरू स्कुल जानभन्दा आमा बाबासँगै बजार जान मन गर्छन्। अनि पढाई छुट्छ। इँटा उद्योगबाट आउने विद्यार्थीलाई कोर्स पूरा गराउन र नतिजा निकाल्न धेरै समस्या छ। ‘उनीहरूलाई नियमित पढ्न आउने मात्रै बनाउन सकेपनि पढाई केही राम्रो हुन्थ्यो। ”– आचार्य भन्छिन्। विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष धनबहादुर खड्काको विचारमा भट्टामा काम नभएको बेला छ महिना बाआमा घरमा जाँदा उनीहरूलाई स्कूलमै बस्नेगरी व्यवस्था मिलाउन सके पढाई धेरै राम्रो हुनेथियो। तर, विद्यालयमा त पुग्नेगरी कक्षा कोठा छन्, न त खानपिनका लागि खर्च गर्ने अवस्था।

सिकाउनुको खुसी
सिद्घार्थ इँटा उद्योगका प्रमुख लक्ष्मी पाठक उद्योगले केही फरक तरिकाले सोच्दा र सरकारले साथ दिँदा मजदूर, उद्योग र समग्र समाजलाई फाइदा पुग्ने बताउँछिन्। २०५३ भएको उक्त उद्योगका संस्थापक कमलराज पाठकले २०५६ सालदेखि नै दुई जनाकर्मचारी राखेर मजदूरका छोराछोरीलाई स्याहार सुसार गर्ने र अक्षर चिनाउने कामको थालनी गरेका थिए।
उद्योगको काम देखेर सरकारले पनि एक जना शिक्षक राखिदिने कुरा गरेको थियो। तर पछि त्यो कुरो त्यत्तिकै सेलायो। २०६६ मा कमलराज पाठकको असामयिक निधन भएपछि उद्योगकै भविष्य अनिश्चित भयो। शिशु स्याहार तथा सिकाइ केन्द्र पनि केही समयसम्म बन्द रह्यो।

‘तर हामी बिस्तारै सम्हालिँदै गयौँ। बच्चा हेरिदिँदा र उनीहरूलाई दुइचार अक्षर पढाइदिँदा मजदूरको अनुहारमा धेरै खुसी पाएँ। यसबाट हामी सञ्चालक र मजदूर दुबैलाई फाइदा भएको छ,’ लक्ष्मी पाठक बताउँछिन्। २०६७ सालमा नेपाल सरकारको संयोजनमावेटरबिक परियोजना आयो। उक्त परियोजनाले तीन वर्षसम्म एक जना कर्मचारी राख्न र केही सर–सामान किन्नमा मद्दत गर्यो। अहिले भने केन्द्रमा इँटा भट्टाको मात्र लगानी रहेको छ। ‘उद्योगमा जाँदा बालबालिकलाई देख्दा मन भुल्छ। यसबाट हामीलाई मजदूर पाउन र टिकाउन पनि सजिलो भएको छ।’–उनले भनिन्।

कतै सफलता, कतै समस्या
रूपन्देही जिल्लामा मात्रै ५० वटा इँटाभट्टा छन्। धेरै उद्योगमा भारतीय मजदूर बढी छन्। उनीहरूका बालबच्चाले भने पटक्कै पढेका छैनन्। इँटा व्यवसायी संघ रूपन्देहीका सचिव रमेश नेपालले आज–भोलि इँटाभट्टामा बालश्रम नरहेको बताए। ‘बच्चाले आफ्ना बाबाआमासँग बसेका बेला एक दुई बाल्टी पानी बोक्नु,एकदुई टोकरी माटो र बालुवा उचाल्नु उनीहरूकै लागि पनि रमाइलो र कामको सिकाइ पनि हो। तर त्यसैलाई देखाएर हामीलाई तारो बनाइएको छ ।’
‘हामीले त उनीहरूलाई कम्तीमा बस्ने आश्रय दिएका छौं।बाबुआमासँगै बसेपछि काममा सामान्य सघाउँछन्। यहाँ तीललाई पहाड बनाउने चलन छ। पढाइका लागि उद्योगीले धेरै ध्यान दिन सक्ने कुरा हुन्न।स्थानीय सरकार र संघसंस्थावालाले योजना गरोस् हामी महिनामा कति रकम छुट्याउनु पर्छ तयार छौं– नेपालले भने।

भट्टाले भुलाएको भविष्य
कानपारा गाउँका छोटेलाल मुसहर ५२ वर्षका भए। उनले इँटा उद्योगमा काम गर्न थालेको २५ वर्ष जति भयो। अहिले उनको तीन पुस्ता नै इँटा उद्योगमा खट्छ । ‘म, मेरी बूढी, बुहारी, नातिनातिना सबै यहीं काम गर्ने हो।’ छोरा र छोरीतर्फ गरेर उनको परिवारका मात्रै १० जनाको दिन यही इँटामा बित्छ। त्यति धेरै जनाले काम गरेपनि न उनीहरूको बैंक बचत छ, न सुरक्षित बास नै बनाउन सकेका छन्। नाती–नातिनाले त यहाँ काम नगरेर पढे हुन्थ्यो जस्तो उनलाई लाग्छ। सुरुमा स्कुल पनि गए तर, पाँच ,छ क्लास पढेपछि छोडेर भट्टामै फर्के। पढ्न मन नै गरेनन्। हामीले भनेर मात्रै भएन। पढेदेखि राम्रो काम पाउँथे होला।’-छोटेलालको गुनासो रहेको छ ।

कक्षा ६ सम्म घर नजिकको स्कूलमा पढेकी छोटेलालकी नातिनी सविना मुसहर २ वर्षदेखि यहीँ काम गर्छिन्। साथीहरूले ठूलो ठूलो मोबाइल चलाएको,फिलिम हेरेको,मन लागेका खाने लगाउने कुरा किनेको देखेपछि उनलाई भट्टामा काम गर्ने साथीहरूको जीवन रमाइलो लाग्यो। कोरानाले लकडाउन भएर स्कुल पनि बन्द भइरहेपछि उनको मन पनि इँटामा काम गर्नतिर तानियो।

पैसा र पैसाबाट किन्न सकिने कुराहरूका कारण उनी र उनीजस्ता धेरै किशोर किशोरी र युवा पढाइ छाडेर भट्टामा रमाएका छन्।उनीहरूमा पढाइको भोक छैन र पढेर अझ सजिलो कुनै काम गरौँ भन्ने सपना नै देखिँदैन। उनीहरूकठोर श्रम गर्छन् र रमाइलोसँग दिन बिताउन पाउँदा दङ्ग परेका देखिन्छन्।भोलिबारे उनीहरूले केही सोचेकोजस्तो देखिँदैन। आफ्नै दुनियाँमा मस्त यी नवयुवा बाहिरी मानिससँग कुरा गर्न पनि चाहँदैनन्। तिमीले निःशुल्क पढ्न पाउँछौं, पढाइअनुसारको काम पनि पाउँछौ भन्दापनि उनीहरू कुरै खाँदैनन्।

उनीहरूको यो अवस्थाले कानपाराका स्थानीय सामाजिक अगुवा तथा अभिभावक राजाराम यादवलाई निकै पिरोलेको छ। अभिभावकहरूमा जागरुकता छैन। इँटामाकाम गर्नेहरू प्रायः अति नै विपन्न तहका व्यक्तिहरू छन्। उनीहरूको न घर छ, न खेत। मजदुरी नगरीदैनिकी चल्दैन। यही परिस्थितिलाई नगदमा बदल्नका लागिइँटा उद्योगीहरू असार महिनामै हातहातमा पेस्की लिएर मजदूरकहाँ पुग्छन्। काम नहुँदा मजदूरहरू त्यही पेस्की रकमले घरखर्च चलाउँछन्। अनि दशैंपछि काममा फर्कन्छन्।

जन्मँदै परिवार र वरपरका सबै मानिसहरूइँटाभट्टाको काममै मात्र व्यस्त देखेपछि उनीहरूले त्यसभन्दा बाहिरको संसार देख्नै पाएनन् भन्ने राजारामलाई लागेको छ। ‘उद्योगी तथा तीनै तहका सरकारले आआफ्ना तहबाट आवश्यक काम गर्ने होभने केही गर्न सकिन्छ जस्तो लाग्छ। नत्रउनीहरूको धेरै पुस्ता यसैगरी भट्टामै बित्छ ।’ राजाराम भन्छन्। राजारामका छोरा अहिले सी. ए. पढ्दैछन्। छोरी दन्त चिकित्सक बन्दैछिन्। नगरपालिका भित्रकै सामुदायिक विद्यालयबाट पढाई थालेका उनीहरू अहिले विभिन्न छात्रवृत्तिमा निःशुल्क पढ्छन्। कानपारामा केही सकारात्मक कथा पनि छन्।

नेपालको संविधान र दिगो विकास लक्ष्यमा बालबालिकाको शिक्षा पाउने हक सुरक्षित छ। शिक्षाको पहुँचमा नपुगेका वा पहुँचमा पुग्न अप्ठयारो अवस्थाका बालबालिकाका लागि छात्रवृत्ति र विद्यालय पहुँच कार्यक्रम सञ्चालन भएको छ। सबैका लागि शिक्षाको नीतिले पनि कुनैपनि कारणले बालबालिकाको शिक्षा अवरुद्घ गर्न पाइँदैन। तर, अभिभावकमै सचेतनाको अभाव, गरिबी, देखासिखी गर्ने प्रचलनजस्ता कारणले बालबालिका अहिले पनि पढाइबाट टाढै छन्।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सह–सचिव तथा श्रम महाशाखा प्रमुख डा.दीपक काफ्लेले ‘आधारभूत तहको शिक्षाको जिम्मेवारी स्थानीय सरकारको रहेको बताए। इँटाभट्टामा कार्यरत अभिभावकसँग आश्रित बालबालिकाको पढाइ रोकिनुहुन्न। स्थानीय पालिकाको अग्रसरतामा पायक पर्ने विद्यालयमा उनीहरूलाई पढाउने व्यवस्था मिलाउन सकिन्छ ।’ उनी भन्छन्। सरकारले बालश्रममुक्त स्थानीय तह घोषणा कार्यविधि-२०७८ लाई पनि सक्रिय बनाएको छ। बालमैत्री स्थानीय पालिका घोषणामा पनि बालश्रम उन्मूलनका विषय उल्लेख हुन्छन्। तर, त्यसका लागि प्रभावकारी अनुगमन संयन्त्र , आवासीय शिक्षा सुविधा, सीप र स्वरोजगारका कार्यक्रम ल्याउन ढिला हुँदैछ।

कानून, व्यवहार र कार्यक्रम
नेपालको श्रम कानूनले १४ वर्षभन्दा कम उमेरका बालबालिकालाई श्रम गर्न निषेध गरेको छ। १८ वर्ष मुनिका बालबालिकाकोनिकृष्ट प्रकारको बालश्रमलाई निषेध गरेको छ। तर केही परिवारको बाध्यता, गरिबी तथा बालबालिकाकै लहडजस्ता कारणले उनीहरू श्रमबाट टाढा छैनन्। पढेर कमाउने कहिले हो कहिले,तर इँटाभट्टामा काम गर्दा तत्काल पैसा पाइने भएर पनि उनीहरू कामतिर लागेका हुन्छन्।

श्रमको क्षेत्रमा काम गर्ने संस्था अन्तराष्ट्रिय श्रम संगठन (आईएलओ) नेपालका प्रोगाम कोर्डिनेटर नारायण भट्टराईले आइएलओले यो विषयमा लामो समयदेखि काम गरिरहेको बताए । सन् १९९० मा नेपाल सरकारले संयुक्त राष्ट्रसंघको बालअधिकार सम्बन्धी महासन्धिमा हस्ताक्षर गरी आर्थिक शोषण हुनबाट बालबालिकाको अधिकार सुरक्षित गर्ने प्रतिबद्घता जाहेर गरेको छ। आई. एल.ओ महासन्धि नं. १३८ र १८२ लाई अनुमोदन गरेलगत्तै बालश्रम सम्बन्धी गुरुयोजना निर्माण गरेर अगाडि बढेको छ।

राष्ट्रिय बालश्रम सम्बन्धी गुरुयोजना २०७५–२०८५ मा नेपालबाट सबै प्रकारको बालश्रम पूर्णरूपमा निवारण गरी मुलुकलाई बालश्रम रहित बनाउने लक्ष्य उल्लेख गरिएको छ। गुरुयोजनाको रणनीति ४ मा प्रत्यक्ष्य लक्षित कार्यक्रममार्फत बालश्रमको जोखिममा परेका बालबालिका तथा तिनका परिवारका लागि आवश्यक सहयोग उपलब्ध गराउने। आर्थिक, सामाजिक कारणले बालबालिकालाई बालश्रममा पठाउन बाध्य परिवारको पहिचान गरी त्यस्ता परिवारहरूलाई उपर्युक्त विकल्प प्रदान गर्न लक्षित कार्यक्रम सञ्चालन गर्ने र लक्षित कार्यक्रम मूलतः शिक्षा, सीप विकास जीविकोपार्जनका वैकल्पिक उपायजस्ता विषयमा केन्द्रित गर्ने कुरा उल्लेख छ। लक्ष्यअनुसारका नीतिगत प्रयास धेरै भएका छन्।

‘हामीले इँटा उद्योगीहरूसँग कुरा गरेर सकेसम्म बच्चासहितका कामदार नल्याउन आग्रह गरेका छौं। बाध्यताले ल्याउनु परेर आएकाहरूलाईपढ्ने अवसर र वातावरण बनाउन नमूनाका रूपमा कार्यक्रम गर्दैछौँ । जुन क्षेत्रबाट समूहमै मजदूर इँटाभट्टामा काम गर्न जान्छन्,त्यस क्षेत्रमा नमूनाका रूपमा परिवारको आयआर्जन बढाउनेखालका कार्यक्रमसञ्चालन गरेका छौँ,उनले भने। पछिल्लो वर्ष कोरोनाको प्रभाव आदिले कार्यान्वयनमा चुनौती भएकोमा अब त्यसलाई थप गति प्रदान गरिन लागेको भटट्टराईले जानकारी गराए।

नेपाल सरकारको योजना र निर्देशनअनुसार बालश्रम न्यूनीकरणका लागि वल्र्ड भ्यू नेपाल लगायत विभिन्न गैरसरकारी निकायले पनि काम गरेका छन्। आफूहरूले बालश्रम निवारण राष्ट्रिय गुरुयोजना कार्यान्वयनलाई सहयोग पुग्नेगरी सूचना, शिक्षा तथा सञ्चारमूलक सामग्रीहरू उत्पादन तथा प्रकाशन प्रशारणमा सहयोग पुग्ने काम गर्दै आएकोव्लर्डभ्यू नेपालका प्रोग्राममेनेजर विश्वमणि पोखरेलले बताए। श्रम गर्न बाध्य बालबालिकाका अभिभावक, रोजगारदाता, शैक्षिक निकाय तथा सरोकारलाको साझा पहलमा मात्र यसमा प्रभावकारी परिवर्तन सम्भव छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।