ताजा अपडेट »

पृथ्वीको संरक्षणः दिगो प्रकृतिमैत्री जीवनयापन

आइतबार, २२ जेठ २०७९, १३ : ३२
56 Shares

मधुकैटब राक्षसलाई मारेर तिनीहरुको हाड मासु र रगतबाट पृथ्वी बन्यो वा सुर्यमा विशाल लामपुच्छ्रे तारा ठोकिएर सुर्य रन्थनिएर घुम्दै ,चोईटिदै जादा पृथ्वी बनेको होस् वा ब्रह्माण्डमा रहेका धुलोका कणहरु जम्मा भएर घुम्दै जादा पृथ्वी बनेको होस– त्यो हाम्रो खासै सरोकारको विषय हैन ।

पृथ्वी बन्यो, त्यसमा जीवहरुको लागि सुहाउँदो हावा, पानी, माटो, ताप, प्रकाश उपलब्ध भयो अनि सुक्ष्मदेखि विशालकाय जीव तथा वनस्पतिको सुन्दर संसार निर्माण भयो – यो नै हाम्रो लागि सरोकारको विषय हो । मान्छेहरु चन्द्रमामा पुगेको आधा शताब्दी भन्दा बढी समय बितिसक्यो, मंगल ग्रहमा पानी र जीवन खोज्दै भौंतारिएको पनि धेरै भैसक्यो । मानिसले ब्रह्माण्डको बारेमा बुझ्नको लागि खरबौ रुपैंया खर्च गरिसकेको छ, तैपनि मानिसले केहि पाएका छैनन् । पृथ्वीमा भने मानिसले केहि खर्च नगरेर पनि सबैथोक पाईरहेको छ, यो नै हाम्रो सरोकारको कुरा हो ।

पृथ्वीकोको अनुकूलता नै मानिसको उत्पत्तिको आधार बनेको थियो । मानिस लगायत सबै जिवजन्तुहरुले उत्पत्ति कालदेखि नै पृथ्वीका श्रोतहरुको उपयोग गरेर जीवन संचालन गर्न थालेका थिए, जुन आजसम्म निरन्तर चलिरहेको छ । औद्योगिक युग शुरुसम्म मानिसको जनसंख्या कम थियो, आवस्यकताहरु थोरै थिए र प्राकृतिक स्रोतको खपत पनि कम थियो । मानिसहरुको जीवनशैली प्रकृतिमैत्री रहेको थियो । पृथ्वीका प्रत्येक श्रोतको सम्मान र विवेकपूर्ण उपयोग गर्नुपर्छ भन्ने नैतिक मान्यता समाजमा विकसित भएको थियो ।

प्रकृतिको सम्मानलाई धर्म सस्कृतिको रुपमा स्वीकार गरिएको थियो । अनावस्यक रुख विरुवा काट्नु, जीवजन्तु मार्नु, वनमा आगो लगाउनु, फोहरमैला गर्नु, पानीका श्रोतहरु प्रदुषित गर्नु जस्ता कामहरुलाई मानिसले पाप कर्म मान्दथे । यिनै मुल्य, मान्यता, विस्वास र व्यवहारले प्राकृतिक श्रोतको दिगो उपयोग र पृथ्वीको संरक्षण भैरहेको थियो । पछिल्लो सय वर्षमा भने मानिसको जनसंख्या ह्वात्तै बढेको छ । मानिसहरुको जीवनशैलीमा तीव्र परिवर्तन भैरहेको छ । प्राकृतिक श्रोतको अति प्रयोग र दोहन बढिरहेको छ ।

यस्ता क्रियाकलापले गर्दा पृथ्वीको अस्तित्व नै संकटमा पर्न थालेको छ । पृथ्वीका हरेक प्राकृतिक श्रोत र परिस्थितिक प्रणालीमा मानवीय चाप बढिरहेको छ । विलासी जीवनशैलीले गर्दा जल, खनिज पदार्थ, वनस्पति र जीवजन्तुको माग अत्यधिक बढेको छ । खाने मुखहरू थपिदै जाँदा वनजंगल र नदि किनारा मासेर खेतीपाती गर्ने, अनुपयुक्त स्थानमा खेतीपाती गर्ने प्रचलन बढ्दो छ । वन मासिदा प्राकृतिक जीवनचक्र नै खलबलिएको छ । जीवजन्तुहरुका प्रजातिहरू लोप भैरहेका छन् । खेतबारीमा रासायनिक मल र विषादीको प्रयोगले क्षणिक रुपमा उत्पादन वृद्धि गर्न सकिएको भएतापनि त्यसले हावा, पानी र माटो प्रदुषण गर्न, उपयोगी किरा र चराहरु विनाश गर्न भूमिका खेलिरहेको छ ।

फोहरमैला अब शहरी समस्या मात्र नभएर प्रत्येक घरको समस्या भैसकेको छ । फोहरमैला व्यवस्थापन अहिले संसारभरीको टाउको दुखाई बनेको छ । प्लास्टिकले जीवनलाई सहज बनाएपनि यसले पृथ्वीको प्रत्येक अंगलाई आक्रान्त पारेको छ । हरितगृह प्रभावको कारणले भैरहेको जलवायु परिवर्तनबाट पृथ्वीका कुनैपनि जिअजन्तु र वनस्पति जोगिन सकेका छैनन् । प्राकृतिक विपद र त्यसबाट हुने क्षतिको ग्राफ हरेक वर्ष बढिरहेको छ । पृथ्वीलाई जीवित देख्न चाहनेहरु र पृथ्वीमा बाँच्न चाहने सबैको लागि यो चिन्ताको विषय हो ।

मानवीय क्रियाकलापले गर्दा प्राकृतिक चक्र खलबलिएको छ र पृथ्वीले लामो समयसम्म जीवन र जगतलाई जोगाईराख्ने सामथ्र्यपनि गुमाउदै गएको छ । यो अवस्था आउनुमा पृथ्वीको अति दोहन हो भन्ने बुझेर हरेक मानिसले आफ्ना गतिविधिलाई प्रकृतिमैत्री बनाउनुपर्ने समय आइसकेको छ । हामीले प्राकृतिक श्रोतको दोहन जति कम मात्रामा गर्छाैं, उति नै पृथ्वी जीवित रहिरहन सक्छ र मानिस लगायत सम्पूर्ण परिस्थितिक पद्धति नै जीवन्त रहन सक्छन् । पृथ्वीलाई जोगाउनको लागि हामीले दिगो प्रकृतीमैत्री जीवनयापन गर्न आजैबाट शुरु गर्नुपर्छ भनेर सन् १९८९ मा दिगो विकासको अवधारणा अघि सारिएको थियो ।

अहिलेको पुस्ताले प्राकृतिक श्रोतको उपयोग गरेको कारणले भावी पुस्ता त्यस्ता श्रोत साधनको उपभोग गर्नबाट बन्चित हुनु नपरोस भन्ने भन्ने दिगो विकासको मूल मर्म थियो । मानिसलाई दिगो प्रकृतिमैत्री जीवनयापन गराउन प्रेरित गर्नको लागि एजेन्डा २१ पारित मात्र गरिएको छैन, सहश्राब्दी विकास लक्ष्य र एजेन्डा २०३० समेत लागू गरिएको छ । अन्तर्राष्ट्रिय जगतमा वातावरणमैत्री जीवनयापनका जति नै कुराहरु भएपनि आम मनिअका दैनिकी र व्यवहारहरु दिगो प्रकृतिमैत्री हुन सकेका छैनन् ।

पृथ्वीको संरक्षण गर्ने पहिलो उपाय भनेकै हाम्रो उपभोग शैलीमा परिवर्तन ल्याउनु हो । प्राकृतिक श्रोतको उपयोग नगरी जीवन र जगत चल्न सक्दैन , तर त्यस्ता श्रोतको प्रयोग गर्दा प्रकृतिमा भार नपर्नेगरी गर्न सकिन्छ । धम्मपद भन्छ “ जसरी मौरीले फूललाई हानि नपु¥याई त्यसको रस मात्र चुसेर लिन्छ, त्यसैगरी भिक्षुहरुले जीवन चलाउन आवस्यक चिजबिज बाहेक अरु लिनु हुदैन ।” धम्मपदको यो सर्गले भनेजस्तै प्रत्येक मानिसले प्रक्रियालाई हानी नपुग्नेगरी आफ्नो जीवनयापन र समृद्धिका लागि श्रोतको प्रयोग गर्नुपर्छ ।

यसो गर्न सकेमा प्राकृतिक चक्र जीवित रहिरहन सक्छ । प्राकृतिक श्रोतको बहुउपयोग, पुनप्रयोग र पुनचक्रण जस्ता उपायबाट पनि स्रोतको प्रयोगमा मितव्ययिता ल्याउन सकिन्छ । पृथ्वीलाई जोगाउने दोश्रो उपाय भनेको प्रकृतिको पुनर्भरण हो । मानिसका अज्ञानता र बाध्यताले गर्दा धेरै प्राकृतिक श्रोतहरु नाशिएका छन् । यस्ता श्रोतलाई पहिलेकै अवस्थामा ल्याउन सकेमा मात्र प्राकृतिक चक्र सन्तुलित राख्न सकिनेछ ।

वृक्षारोपण र वनको पुनस्र्थापना, जलाधार क्षेत्रको संरक्षण र पानीको पुनर्भरण, नदि, तालतलैयाको सरसफाई र व्यवस्थापन, खेतीयोग्य जमिनको संरक्षण र प्रांगारिक पद्धतिको अवलम्बन जस्ता कार्यहरु गरि प्रकृति विनासको सोधभर्ना गर्न सकिन्छ । आवस्यकता अनुसार कहिलेकाही वस्ती र औद्योगिक क्षेत्रहरु हटाएर पनि पारिस्थितिक पद्धतिलाई पुनस्र्थापना गर्नुपर्ने हुन्छ ।

खनिज उर्जाको विवेकहीन प्रयोग अहिले मुख्य आर्थिक र वातावरणिय समस्या बनिरहेको छ । खनिज उर्जाको माग बढ्दै जादा देशहरु आर्टिक समस्यामा परिरहेका छन् नै, उर्जा दहनबाट विस्वब्यापी उष्णिकरण ( ग्लोबल वार्मिंग) वृद्धि भैरहेको छ । खनिज उर्जा खपत गर्ने हाम्रो पद्धतिमा सुधार ल्याउन सकेनौ र नविकरणिय तथा स्वच्छ उर्जाको प्रयोग बढाउन सकेनौ भने मानिस मात्र नभएर पृथ्वी नै सिद्धिने निस्चित छ । बायोग्यास, वायु उर्जा, सौर्य उर्जा, जलविद्युत जस्ता उर्जाको प्रयोगमा वृद्धि गर्न अब ढिलो गर्नु हुँदैन । अहिले बढ्दै गएको प्रदुषण नियन्त्रण गर्नु पृथ्वीको संरक्षण गर्ने अर्को महत्वपूर्ण उपाय हो ।

उद्योगमा स्वच्छ उत्पादन प्रविधिको अवलम्बन गर्ने, विद्युतीय वा वैकल्पिक उर्जाबाट चल्ने सवारी साधनको प्रयोग गर्ने , रासायनिक मल र विषादीको प्रयोग कम गर्ने, प्लाष्टिकजन्य वस्तुको प्रयोगलाई घटाउने जस्ता कार्यले प्रदुषण नियन्त्रणमा मद्दत पुग्छ । प्रदुषण गर्ने पदार्थको सकेसम्म कम प्रयोग गर्ने, फोहरमैलाको श्रोतमै वर्गीकरण गरेर पुन प्रयोग र पुन चक्रण गर्ने, फोहरबाट प्रांगारिक मल उत्पादन, बायोग्यास उत्पादन, विद्युत उत्पादन र अन्य नयाँ वस्तु उत्पादन गर्न सकिन्छ । यस्तो कार्यले फोहरमैला समस्यालाई समाधान गर्न सकिन्छ र पृथ्वीलाई सुन्दर, सफा अनि जीवित राखिरहन सकिन्छ ।

पृथ्वी एउटा छ . हावा, पानी, माटो, उर्जा , जीवजन्तु र वनस्पतिले पृथ्वीलाई जीवित बनाएका छन् र त्यहि जीवित पृथ्वीमा मानिसको अस्तित्व सुरक्षित रहेको छ । पृथ्वी र यहाको पारिस्थितिक चक्रमा जतिजति क्षति पुग्छ, उति नै मानिस संकटमा पर्दै जाने कुरामा दुईमत रहदैन । मानिसको कारणले प्रकृतिको विनाश भैरहेको छ, पारिस्थितिक चक्र खलबलिएको छ र पृथ्वी संकटमा परेको छ । त्यसैले पृथ्वीको संरक्षण गर्नको लागि प्रत्येक मानिस आफ्नो ठाँउबाट जिम्मेवार भएर लाग्नुपर्छ ।


हाम्रा आनीबानीमा सुधार गरेर प्रकृतिमैत्री जीवनयापन गर्नेतर्फ अग्रसर हुन ढिलो गर्नु हुदैन । पृथ्वी र प्रकृति जोगाउनको लागि राज्य वा अन्तर्राष्ट्रिय निकायको मुख ताक्नु पर्दैन । पृथ्वीप्रति विवेकी बन्ने अनि हामीले हरेक कामहरु गर्दा त्यसले प्रकृतिको दोहन हुन नदिने अनि सम्भव भएसम्म पुनस्र्थापनाका कामहरु गर्ने हो भने पृथ्वी सुरक्षित रहनेछ अनि सुरक्षित पृथ्वी भित्र हामी र हाम्रा सन्तान दरसन्तानहरु मुस्कुराईरहन सक्नेछन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।