ताजा अपडेट »

शिक्षकबाटै असुरक्षित छात्रा, इज्जत जाने डरले विद्यालयमै मिलाइन्छन् यौन हिंसाका घटना

शुक्रबार, १३ जेठ २०७९, १६ : २६
2 Shares

काठमाडौं । गत चैत ६ गते मोरङको लेटाङमा भएको घटना त सबैलाई ताजै होला । आफ्नै छात्रामाथि यौन दुर्व्यवहार गरेको विषयमा विवाद हुँदा लेटाङमा एक प्रहरी जवानले ज्यान गुमाउन पुगिन् । यौन दुर्व्यवहारका आरोपितलाई नियन्त्रणमा लिन गएको प्रहरी टोलीमाथि उत्तेजित भीडले आक्रमण गरेको थियो । आक्रमण गर्दा प्रहरी जवान उर्मिला श्रेष्ठको ज्यान गयो । 

छात्रालाई यौन दुर्व्यवहार गरेको आरोप लागेका मोरङको लेटाङ नगरपालिका-५, खेरुवाको शिक्षा विकास माविका शिक्षक मनोज पौडेललाई ६ चैतमा पक्राउ गर्न जाँदा पहिल्यैदेखि प्रदर्शन गरिरहेको आक्रोशित भिडको आक्रमणमा परी प्रहरी जवान उर्मिला श्रेष्ठको ज्यान गयो । कक्षा ६, ७ र ८ लाई सामाजिक र नैतिक शिक्षा पढाउने पौडेलले २०७३ सालयता गरेका तीनवटा यौन दुर्व्यवहारको घटनालाई मिलापत्रबाट सामसुम पारिएको थियो । पटक पटक छात्रामाथि यौन दुर्व्यवहार गर्ने शिक्षकलाई प्रहरीले बचाउन खोजेको भन्दै आक्रोशित भीडले प्रहरीमाथि नै आक्रमण गरेको थियो । 

उक्त घटनापछि विद्यालयमा शिक्षकहरूबाट छात्रामाथि हुने यौन हिंसाका घटनाले चर्चा पायो । एकपछि अर्को घटना सार्वजिनक हुन थाल्यो । जुन अहिले मात्र भने होइन । छात्राहरूले शिक्षकहरूबाट यस्ता खालका दुर्व्यवहार सहँदै आएका छन् ।केही प्रतिनिधि घटनाको रूपमा मात्र बाहिर आउने गरेको पाइन्छ । नत्र आफ्नो पढाइ बिग्रिने, घर-परिवार, समाज आदिको डरका कारण छात्राहरू जस्तो खालको हिंसा पनि सहँदै आएका हुन्छन् । पाँच वर्षअघि कक्षा ९ मा अध्ययनरत छात्रालाई बलात्कार गरेको अभियोगमा तत्कालीन प्रिन्सिपल राज खड्का पक्राउ परे । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीबीआई) ले बिहिबार टोखा नगरपालिका बानियाँटारस्थित उनकै डेराबाट पक्राउ गरेको हो । 

इटहरीको ब्लूमिङ लोटस इंग्लिस स्कूलका तत्कालिन प्रिन्सिपल खड्काले कक्षा ९ मा अध्ययनरत छात्रालाई २६ साउन २०७४ मा पहिलोपटक बलात्कार गरेकाे आराेप लागेकाे छ । उपचारका लागि अस्पताल लैजाने बहानामा होटलमा लगेर छात्रामाथि बलात्कार गरेकाे प्रहरीकाे भनाइ छ । पछि स्कुलबाट रेष्टिकेट गरिदिने, अश्लील भिडियो बनाएर सार्वजनिक गरिदिने धम्की दिएर पटकपटक बलात्कार गर्दै आएकाे पीडितले बताएकी छन् ।

मानसिक र शारीरिक तनाव दिँदै पटक-पटक जबर्जस्ती करणी गर्ने उनीविरुद्ध पीडित छात्राले २ भदौ २०७५ मा जिल्ला प्रहरी कार्यालय सुनसरीमा खड्काविरुद्ध जाहेरी दिएकी थिइन् । तर, प्रहरीले भने खड्कालाई पक्राउ गर्न सकेको थिएन । अहिले भने चौतर्फी बलात्कारका घटनाले चर्चा पाइरहेका बेला सक्रिय बनेको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

अहिले चाबहिलमा रहेको सेन्ट लरेन्स कलेजका छात्रामाथि शिक्षकबाटै बलात्कार भएको घटनाले समग्र विद्यालय क्षेत्रमा चर्चा छ । कलेजका कोअर्डिनेटर जनार्दन अधिकारी र नेपाली शिक्षक राजनकुमार पौडेलले छात्राहरूमाथि यौन दुर्व्यवहार गर्ने गरेको आरोप छ । सोही आरोपमा प्रहरीले अधिकारी र पौडेललाई पक्राउ गरेको छ । पक्राउ परेका दुवैजनालाई पाँच दिन हिरासतमा राखेर प्रहरीले अनुसन्धान थालेको छ । 

उनीहरूले आफूहरूसँग नजिक भए कलेजको शुल्क तिर्नुनपर्ने भन्दै प्रलोभन देखाएको विद्यार्थीहरूको आरोप छ । यतिसम्म कि उनीहरूले बेड पार्टनर बन्न म्यासेस पनि गर्ने गरेको थिए । आफूहरूले भनेअनुसार गरे सबै थोक गरिदिन्छु भनेर प्रलोभन समेत देखाएका थिए । त्यसपछि विद्यार्थीहरूले कलेजमै विरोध प्रदर्शन गरेका थिए । घटनाले उग्र रूप लिन थालेपछि कलेजले प्रहरी प्रशासनको सहयोग मागेको थियो । पछि प्रहरीले दुवैजनालाई पक्राउ गरेको काठमाडौं प्रहरी कार्यालयका प्रमुख एसएसपी सुदीप गिरीले जानकारी दिए । 

गत वैशाखमा मात्रै आफ्नै विद्यालयका शिक्षकहरूले छात्रामाथि यौन दुर्व्यवहार गरेका आठ घटना सार्वजनिक भए । शिक्षकले ज्यादती गर्न थालेपछि त्यसको प्रतिरोधमा छात्राहरू स्वतस्फूर्त उठेपछि यी घटना सार्वजनिक भएका हुन् । तर, अधिकांश ठाउँमा छात्राले विद्यालय प्रशासनबाट पाउनुपर्ने समर्थन भने पाएनन् । त्यसविरुद्ध छात्राहरू विद्यालयमा नाराबाजी, तालाबन्दी, तोडफोड, मोसो दल्ने जस्ता क्रियाकलाप गर्न बाध्य भए । 

चितवन, नारायणगढको बालकुमारी माध्यमिक विद्यालयका शिक्षक शशीधर गैरेलाई विद्यार्थीहरूले कालोमोसो दले । छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा ३ चैतमा विद्यार्थीहरूले मोसो दलेका थिए । छात्राहरुलाई पटक–पटक दुर्व्यवहार गरेको उजुरी सुनवाइ नभएपछि उनको कर्तुत बाहिर ल्याउन विद्यार्थीहरू मोसो दल्न बाध्य भए । पछिल्लो समय सञ्चारमाध्यम र सामाजिक सञ्जालका कारण यस्ता खालका घटनाहरू सार्वजनिक भइरहेका छन् । अहिले स्वयम पीडित नै प्रतिकार गर्ने हिम्मत आइरहेको छ । जसले गर्दा घटना यसरी सार्वजनिक हुन थालेका हुन् । 

अभिभावक संघका अध्यक्ष केशव पुरी विद्यालयमा छात्रामाथि हुने यौन हिंसाका घटना व्यापक रहेको बताउँछन् । अहिले सामाजिक सञ्जाल र सञ्चारमाध्यकका कारण केही घटना सार्वजनिक मात्र भइरहेको भन्दै थुप्रै घटना बाहिर आउन नसकेको उनको भनाइ छ । ‘छात्राहरूमाथि हुने घटना व्यापक छन् । हामीले यसमा खबरदारी गर्दै आएको वर्षौ भइसक्यो, राज्यले सुन्दैन । अहिले २-४ घटना मात्र सार्वजनिक भएका हुन्,’ अध्यक्ष पुरीले भने । ज्ञानको ज्योति छर्ने र सत्मार्गमा हिँड्न सिकाउने गुरूहरूबाटै छात्राहरू सुरक्षित नरहेको उनको भनाइ छ । कतिपय ठाउँमा त आफुमाथि के भइरहेको छ भन्नसमेत थाहा नपाउने उमेरका बालिकामाथि पनि शिक्षकहरूबाट यौन हिंसा भइरहेको उनको भनाइ छ । 

छोटो ड्रेस लगाएको विषयलाई लिएर, सिकाईदिने बाहनामा, पढाई राम्रो भएन भन्दै, फेल गराइदिने जस्ता धम्की दिएर पनि छात्रााहरूमाथि यौन शोषण भइरहेको उनको भनाइ छ । शिक्षकबाटै भइरहेका यौन दुर्व्यवहारको कारणबारे नेपालमा अध्ययनसमेत नभएको अध्यक्ष पुरीको भनाइ छ । अहिले चेतनाको स्तर बढ्दै गएकाले आफुमाथि भएको हिंसाबारे बोल्न थालेको उनको भनाइ छ । 

नेपाल प्रहरीको तथ्यांकअनुसार चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा शिक्षकबाट भएका पाँचवटा जबर्जस्ती करणीका घटना प्रहरीसम्म पुगेको थियो । पछिल्लो पाँच वर्षमा मात्रै ८१ जना छात्रा शिक्षकबाटै बलात्कृत भएका छन् । त्यो पनि प्रहरीमा परेको उजुरीको आधारमा मात्र हो । त्यसरी उजुरी नपरेका र आपसमै मिलाइएका घटनामा यसमा समावेश छैन । आर्थिक वर्ष २०७७-०७८ मा १५, २०७६-०७७ मा ४५, २०७५-०७६ मा ११ र २०७४-०७५ मा पाँचजना छात्रामाथि शिक्षकहरूले नै जबर्जस्ती करणी गरेको पाइएको प्रहरीको तथ्यांकले देखाएको छ । 

नेपाली समाजमा यौन हिंसाका पीडितलाई साथ दिनेभन्दा लाञ्छना लगाउनेहरू बढी छन् । जसले गर्दा ज्यादती सहेर बस्नेको संख्या धेरै हुन पुगेको हो । अध्यक्ष पुरीले यौन हिंसाविरुद्ध अहिले विद्यार्थीहरू मिलेर विद्रोह गरिरहेको बताए । ‘केही वर्षअघिसम्म त बालिकाको बिहे नहुने, इज्जत जाने डरले अविभावक नै पीडितको मुख थुनेर बस्थे । अहिले खुलेर आउन थालेका छन्,’ अध्यक्ष पुरीले भने । 

नेपाल प्रहरीले पनि उजुरी नै नपरेका यस्ता घटना थुप्रै भएको हुनसक्ने अनुमान गरेको छ । पीडितको तर्फबाट उजुरी परेको खण्डमा प्रहरीले कानूनअनुसार कारवाही प्रक्रिया अगाडि बढाउँदै आएको प्रहरीका प्रवक्ता विष्णुकुमार केसी बताउँछन् । तर, उजुरी नपरेका तथा बाहिर सार्वजनिक नभएका घटनाका विषयमा प्रहरी अनविज्ञ हुने उनको भनाइ छ । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।