ताजा अपडेट »

रुपन्देहीकी एक मात्र महिला वडा अध्यक्ष मिनाको १० प्रतिशत बजेट शिक्षामा छुट्टयाउने प्रतिवद्धता

विहीबार, १२ जेठ २०७९, १८ : ४३
6 Shares

भैरहवा । १ वटा उपमहानगर पालिका, ५ वटा नगर पालिका र १० वटा गाउँपालिका रहेको रुपन्देहीमा १ सय ५५ वटा वडाहरु रहेका छन । जिल्लाका १ सय ५४ वटा वडामा पुरुष वडा अध्यक्षहरु निर्वाचित हुदा महिलाहरुको प्रतिनिधित्व गर्ने एक मात्र वडा अध्यक्ष मिना क्षेत्री हुन । अधिकां पार्टीहरुले महिलालाई उपाध्यक्ष वा उप–प्रमुख तथा आरक्षित सदस्यमा मात्र स्थान दिदा महिलाहरुको प्रतिनिधित्व आरक्षित बाहेक अन्य सिटमा हुन सकेन । अवसर पाए खुल्ला रुपमा महिलाहरु पनि पुरुष जस्तै निर्वाचित हुन सक्ने एउटा गतिलो उदाहरण हुन गैडहवा गाउँपालिकाकी मिना क्षेत्री ।

जिल्ला भरि महिलाहरुको प्रतिनिधित्व गर्दै मिना गैडहवा गाउँपालिका वडा नम्बर ९ को वडा अध्यक्षमा निर्वाचित भएकी हुन । नेकपा एमालेबाट वडा अध्यक्ष पदको उम्मेदवार बनेकी उनले ५ सय ९६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका उम्मेदवार निर्वतमान वडाअध्यक्ष समेत रहेका टेक बहादुर बलालले ५ सय १२ मत प्राप्त गरेका थिए । ८४ मतले आफ्ना प्रतिद्धन्द्धीलाई पराजित गर्दै मिनाले जिल्लामै ईतिहास रचेकी छिन । उनि रुपन्देही जिल्लामा एक मात्र महिला वडा अध्यक्षको रुपमा निर्वाचित भएकी छन ।

जिल्लामा न्यून मात्रामा महिलाहरुले वडा अध्यक्षको लागी टिकट पाएका थिए । यसरी टिकट पाएका महिलाहरु पनि पुरुष उम्मेदवारहरुबाट पराजित भएका थिए । कन्चन गाउँपालिकाको वडा नम्बर ३ र ४ बाट महिलाहरुले उम्मेदवारी दिए पनि उनिहरु जित हासिल गर्न सकेनन् ।

अघिल्लो कार्यकालमा महिला वडा सदस्यमा निर्वाचित हुदै कार्यपालिका सदस्य बनेकी मिनाले महिलाहरुको समस्या नजिकबाट बुझ्ने मौका पाएको बताउछिन । उनले यस अघि पनि केही अनुभव हासिल गरेको र अहिले आफु केही गर्न सक्ने पदमा रहेको कारण जनताको सेवामा आफुलाई लगाउने बताईन ।

१० कक्षा सम्म मात्र शिक्षा लिएकी मिनाले अब शिक्षाबाटै वडाको विकास गर्ने बताईन । “शिक्षामा हाम्रो वडा धेरै पिछडिएको छ । भएको एउटा बिद्यालय पनि भुकम्पको कारण जिर्ण बनेको छ ।” मिनाले भनिन “शिक्षाको समग्र विकासको लागी वडा आउने बजेटको १० प्रतिशत लगानी शिक्षामै गर्नेछु ।”

मिनाले मत माग्ने क्रममा घरदैलो गर्दा विजयी भए फेरी वडावासीको घरदैलोमा पुगेरै समस्या सुन्ने र सोही बमोजिम वडाको विकासको काम अगाडी बढाउने बताउछिन । “शासक नभई जनताको सेवक भएर काम गर्नेछु ।” उनले भनिन “ जनताकै चाहना अनुसार काम गर्छु ।”

महिला वडा अध्यक्ष भए पनि चुनौती रहेको उनले बताईन । जति अधिकारको कुरा गरे पनि घरको काम गर्नै पर्ने भए पनि आफु त्यो चुनौतीलाई चिर्दै अगाडी बढ्ने उनले सुनाईन । “आफु हिंसामा नपरे पनि टोल छिमेकमा महिला दिदी बहिनी माथी हुने हिंसा हेर्दा दुःख लाग्थ्यो ।” मिनाले भनिन “महिलाहरुको लागी केही गर्नु पर्छ भन्दै मेरै अध्यक्षतामा आमा समूह गठन गरि महिला हिंसा बिरुद्ध काम गर्दै आए ।”

महेन्द्रनगर आमा समूहको संस्थापक अध्यक्ष समेत रहेकी मिनाले महिला जनप्रतिनिधि भए महिलाहरुको समस्या बुझ्न सजिलो हुने भएकोले वडा अध्यक्षमा उम्मेदवारी दिएको बताउछिन ।

उनको यो उम्मेदवारीलाई स्थानियहरुले पनि अनुमोदन गरि दिए र उनलाई जिल्लाकै एक मात्र वडा अध्यक्षको रुपमा विजयी बनाए । स्थानिय पवित्रा रानाले मिनाले गाउँ समाजमा महिलाहरु माथी हुने पिडा राम्रो संग बुझेको बताउछिन । “महिलाको पिडा बुझेको महिला विजयी हुदा सोही बमोजिम काम गर्ने हाम्रो अपेक्षा रहेको छ ।” पवित्राले भनिन् “वहाले महिलाहरुले भोग्ने पिडाहरु बारे माथी सम्म पु¥याउनु हुन्छ भन्ने हामीलाई लागेको छ ।”

महिला वडा अध्यक्ष भएकै कारण उनिहरुलाई पनि आफ्नो दुख, पिडा वडा अध्यक्षको सामु पोख्न सहज हुने पवित्राको भनाई छ ।

राधेश्याम विश्वकर्मा
लेखकको बारेमा
राधेश्याम विश्वकर्मा