ताजा अपडेट »

विश्व क्यान्सर दिवस मनाइँदै

सोमबार, २१ माघ २०७५, ०३ : ५१
10 Shares

माघ २१,

काठमाडौ । पछिल्लो समय नेपालमा क्यान्सर भयावह रुपमा देखापर्न थालेको छ । सार्क फेडरेसन अफ अंकोलोजिस्ट नेपालका अध्यक्ष वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा। राजेन्द्र प्रसाद बरालले नेपालमा दैनिक रुपमा क्यान्सरका बिरामी बढीरहेको बताउनुभयो । पछिल्लो समय नेपालमा पुरुषमा फोक्सो र महिलालाई पाठेघरको क्यान्सर अत्यधिक मात्रामा देखापर्ने गरेको जानकारी दिदै उहाँले सुरुमै क्यान्सर रोग पत्ता लगाउन सके क्यान्सरलाई जित्न सकिने बताउनुभयो ।
पहिले–पहिले ‘क्यान्सर नो एनसर’ भन्ने चलन थियो, डा बरालले भन्नुभयो, “अहिले क्यान्सर रोग लागेका धेरै बिरामीले क्यान्सरलाई जितेर सहज जिवनयापन गरीरहनुभएको छ ।”
भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा। ऋषिकेश नारायण श्रेष्ठले नेपालमा क्यान्सर रोग भयावह स्थितिमा देखा परीरहेको बताउनुभयो । क्यान्सरको रोकथामका लागि नेपालमा राज्य र व्यक्ति दुवैको उत्तिकै भूमिका रहे पनि त्यो भूमीका निर्वाह गर्न नसकेको बताउनुभयो । सरकारले क्यान्सर सम्बन्धी नीति ल्याउनुपर्ने भन्दै उहाँले क्यान्सर लागेकालाई एक लाख रुपियाँ दिएर क्यान्सर न्युनीकरण गर्न नसकिने धारणा व्यक्त गर्नुभयो ।


नेपालमा क्यान्सर सम्बन्धी उपचार हुने सबै अस्पतालमा फोक्सो, मुख , घाँटी, पाठेघर र स्तनको क्यान्सर बढीरहेको जानकारी दिदै क्यान्सर रोग विशेषज्ञ डा। श्रेष्ठले क्यान्सरलाई रोकथाम गर्न राज्यको पहिलो प्राथमिकता हुने बताउनुभयो । 


अहिले नेपालमा प्रमुख क्यान्सरको रुपमा फोक्सो देखिएको छ । नेपालमा फोक्सो, पेट, आमासय, मुख, पाठेघरको मुख, प्रोस्टेट, स्तनको क्यान्सर बढी हुन्छ । त्यसमा पनि महिलामा पाठेघरको क्यान्सर र पुरूषमा फोक्सोको क्यान्सर सबैभन्दा बढी छ । भक्तपुर क्यान्सर अस्पतालले दिएको जानकारी अनुसार गत वर्ष बहिरङ्ग सेवा ओपीडी०मा ७७ हजार बिरामी आएका मध्ये तीनहजार चारसय १२ जनामा क्यान्सर देखिएको थियो । 


अस्पतालका निर्देशक डा। श्रेष्ठले २० जनासम्म नयाँ रोगी पत्ता लाग्ने गरेको बताउनुभयो । उहाँले हप्तामा तीनदेखि पाँच जना क्यान्सरका बिरामीको अस्पतालमा मृत्यु हुने गरेको छ । नेपालमा वर्सेनि ४० हजार नयाँ क्यान्सर रोगी थपिने चिकित्सकहरूको अनुमान छ । -
गोरखापत्र 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।