ताजा अपडेट »

कालीगंगामाथि ऋषिकेश, कति राम्रो रुरुक्षेत्र मेरो माइती देश

विहीबार, १२ जेठ २०७९, ०७ : ३६
8 Shares


रिडी । न तिहार न तीज तर पनि रुरुक्षेत्रबाट बटौलीतिर झरेका चेलीहरु आफ्नो गाउँ पुग्दा माइतीहरुले रमाइलो अनुभूति गरे । मंगलबार रुरुक्षेत्र गाउँ पालिकाको वडा न १ को वडा कार्यालयमा नयाँ रौनकता थियो।

भर्खरै सम्पन्न स्थानिय तहको निर्वाचनमा जितेका जनप्रतिनिधिहरु गाउँ फर्केका चेलीहरुलाई स्वागत गर्न तम्तयार थिए । र, चेलीहरु पनि जितेका माइती गाउँका दाजुभाई दिदी–बहिनीलाई बधाईसँगै भलाकुसारी गर्न आतुर देखिन्थे ।

घर–परिवारबाट केही समय निकाले गाउँ फर्केका चेलीहरुलाई त्यसै पनि रिडी बजार आइपुगेपछि माईतिको न्यास्रो मेटिएको थियो ,आफ्नो माइती देशका बा,आमा,दाजुभाई दिदीबहिनीसँगको मिठो भेटघाट त छँदै थियो सँगै बटौली बसेर सामाजिक सेवा गरिरहेका रुरुक्षेत्रका यी चेलीहरुले रुरु मिलन केन्द्र नेपालमार्फत रुरुक्षेत्र वडा न १ बाट नव निर्वाचित जन प्रतिनिधि हरुसँग भेटघाट र बधाई ज्ञापन गरेका हुन्।

‘बटौली बसेपनि मन त यतै हुन्छ यताका गतिविधिमा पनि कृयाशिल हुन मन लाग्छ माईतिदेश कसलाई प्यारो हुँदनै ?’ रुरु मिलन केन्द्र नेपालकि अध्यक्ष जमुना सुवेदी पोख्रेलले भनिन् ।

२०७४ सालमा रुरुक्षेत्रबाट बटौली झरेका, उतै घरजम गरेका र अवसरको खोजि गरिरहेका सिर्जनशील चेलीहरुले रुरु मिलन केन्द्रको स्थापना गरेका हुन्। सामाजिक सेवा भावले कृयाशिल यो संस्था चेलीहरुले नै चलाएका छन् ।

‘कम्तिमा पनि हामीले हाम्रो ठाउँका चेली हरुलाई संगठित गर्दै एक आपसमा घुलमिल ,सख–दुःख साटासाट ,चाडपर्वमा भेटघाट ,कसैलाई दुःख परे सकेको सहयोग यिनै उद्देश्यले रुरु मिलन केन्द्र स्थापना भएको हो र हामीले रुरुक्षेत्रका धेरै चेलिबेटिलाई समेटेका छौँ ।’ केन्द्रकी अध्यक्ष सुवेदीको भनाई छ ।

हुन पनि जति समय बग्छ त्यति साथी,भाई इष्टमित्र बा आमा माइती देशको यादले मन भरिन्छ । आफू हुर्केको ठाउँको माया नलाग्ने को होला र यहि मायाले तानेर मौका निकालेर रुरु मिलन केन्द्र चेलीहरुले माइती भेटेर फर्केका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।