ताजा अपडेट »

रामग्रामका नवनिर्वाचित मेयरले भने ‘बाढी नियन्त्रणलाई प्राथमिकता दिन्छु’

सोमबार, ०९ जेठ २०७९, १६ : ४२
10 Shares

परासी । नवलपरासीको रामग्राम नगरपालिकाका नवनिर्वाचित मेयर धनपद यादवले बाढी नियन्त्रणलाई प्राथमिकता दिएर पहिलो निर्णय गरेका छन् । पदभार समाल्दै मेयर यादवले गतवर्ष आएको बाढीले रामग्राम नगर क्षेत्र प्रभावित बनेकाले बाढी नियन्त्रणलाई प्रमुखरुपमा राखेर काम गर्ने बताएका छन्।

गत भदौमा आएको बाढीका कारण नगर क्षेत्रमा २ जनाले ज्यान गुमाएका थिए । करौडौँको धनमाल बगेर नष्ट भएको थियो । झरही खोलाका कारण आएको बाढीले क्षति पुर्‍याएको भन्दै तटबन्धन कार्यलाई तीव्रता दिइ बाढी पस्ने संभाव्य स्थानको खोजी गरी व्यवस्थापनमा लाग्ने यादवले बताए । पानीको बहाब रोकिन सक्ने स्थानको पहिचान गरी सम्भाव्य बाढीको क्षतिलाई न्यूनिकरण गर्ने उपायको खोजी गरेर काम थालनी गर्न पनि यादवले कर्मचारीहरुलाई निर्देशन दिए ।

पदभार समाल्न मेयर यादवसँगै उपमेयर सम्झना चौधरी पाँच कन्याकासाथ शुभ साइत निकालेर नगरपालिका पुगिन्। बाढी नियन्त्रणसँगै स्वास्थ्य, शिक्षा र रोजगारीलाई प्राथमिकतामा राखेर काम गर्ने यादवले बताइन्।उनले नगरपालिकाका अघिल्ला निर्णय र आगामी कार्यक्रमलाई सँगसँगै लगेर काम गर्ने योजना रहेको यादवले सुनाइन्।

पदभार समाल्दै उपमेयर चौधरीले जनताको चाहनाअनुसार काम गर्ने बताइन् । उनले सामान्य झगडा र अन्य विवादका घटनाहरु प्रहरी र अदालतमा जाने प्रवृत्तिलाई अन्त्य गरी न्यायिक समितिद्वारा जनतालाई न्याय दिलाउन आफू अग्रसर हुने प्रतिवद्धता जनाइन् । स्थानीय तह निर्वाचनमा मेयरमा एमाले र उपमेयरमा राप्रपाका उम्मेदवार विजयी भएका हुन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।