१९ असार २०७९, आईतवार

Jul 3, 2022

२०७९ साल वैशाख ३० गते स्थानीय निर्वाचन सम्पन्न भएको छ । मतगणनाको कार्य पनि सम्पन्न भै सकेको छ । स्थानीय निर्वाचनको परिणामले नेपाली का्रंग्रेस पहिलो, एमाले दोस्रो, माओवादी तेस्रो, जसपा चौथो र एकीकृत समाजवादी पाँचौ स्थानमा विजय गरेको छ । यतिबेला विजय पश्चात् देशैभरि जताततै, जहितहि विजय जुलुसका नजाराहरु चलिरहेका छन् । खादा,अविर र मालाहरुको कारण उम्मेदवारको अनुहार चिन्न मुस्किल पर्ने अवस्था छ ।

Advertisement

खासगरी सम्बन्धित पार्टीका कार्यकर्ताहरु गाउने, बजाउने र नाच्ने गरेका दृश्यहरु जताततै देख्न सकिन्छ । निर्वाचनको परिणामले देखाइ रहेको छ कि जित्दछु भन्नेहरू पराजय भएका छन, के हुन्छ के हुन्छ भन्नेहरू जिति रहेका छन, पार्टीमा विद्रोहीहरु जन्मने प्रक्रिया हिजोको तुलनामा आज अत्याधिक बढेको देखिन्छ । पार्टीबाट टिकट नपाउनेहरु विद्रोहीको रुपमा निर्वाचनमा सहभागी बन्न पुगे, विद्रोही हरुलाई नाम फिर्ता गराउन वा निस्कृय बनाउनको निमित्त केन्द्रबाटै परिपत्र जारी गर्नुपरेको अवस्था बनेको छ।

२०७९ सालको स्थानीय निर्वाचनको परिणामलाई आधार बनाएर कतिपय महानुभावहरुले निष्कर्ष निकालि रहनु भएको छ र कतिपयको भनाइ यो रहेको छ कि पाँच दलिय गठबन्धन गरिरहँदा समेत पनि एमालेलाई पराजित गर्न सकेनन् । कमजोर बनाउन सकेनन, केपी ओलीको कार्यकुशलता र व्यक्तित्वका कारण हामी विजयको दिशामा अगाडि बढेका छौं । उनीहरुको विचारमा परिवर्तन, विकास, समृद्धि र सुसाशनको कार्य केपी ओलिजी र नेकपा एमाले बाट मात्र सम्भव छ । त्यो भन्दा अर्को कुनै नेतृत्व वा अन्य मार्ग चित्र रहेको छैन । हामी जहा छौ ठिक ठाउँमा छौ , हामी जुन दिशामा अगाडि बढिरहेका छौं ठिक दिशामा अगाडि बढिरहेका छौं ।

यो विचारका विचारक केपी ओलीजीले अन्य दलहरूलाई गिज्जाउँदै केही हप्ता अगाडि भन्नुभएको थियो कि वैशाख ३० गते नेपाली जनताको लुतो फाल्ने राष्ट्रिय दिन हो, अर्थात् वहाँको विचारमा राजनीतिमा देखापरेको यो राजनैतिक लुतो ३० गतेको निर्वाचनमार्फत जनताले समाप्त गरिदिने छन् । त्यसैगरी वहाँले अर्को ठाउँमा भन्नुभएको थियो कि पाँचपाँच किलोका पाँच ढकहरु एकातिर र अर्कोतिर क्विन्टल को ढक तराजुमा राख्दा कस्तो होला ! त्यसैगरी पाँच मुसाहरुको शक्ति र एउटा हात्तीको बीचमा तुलना गर्न सकिँदैन, वहाँका प्रवचनहरु यस्तै तर्क र मनोरञ्जनले भरिएका हुने गर्दछन् ।

आजको निर्वाचनको परिणामले बताइरहेको छ कि वहाँका तर्क र प्रवचनहरु मिथ्या सावित हुन पुगेका छन्। मानौकि पाँच दलिय गठबन्धन न भएको भएपनि एमाले पहिलो शक्ति बन्दथ्यो तर नेपाली काङ्ग्रेस दोस्रो र अन्य तेस्रो चौथो हुने कुरा सामान्य चेतनाको कुरा थियो । स्मरण रहोसकि यो विपरीत विचारहरु बीचको गठबन्धन कसरी बन्न पुग्यो ? ओलीजी र वहाँको पार्टीले त्यसको समीक्षा गर्ने हिम्मत गरिरहेको देखिँदैन , मेरो र मेरो पार्टीको कारणले गर्दानै मेरा साथीहरू विरोधी समूहमा गठबन्धन गर्न पुगे भन्नेकुरा आत्मसात गर्न सकेन ।

आफ्नै सोँच, चिन्तन र कार्यशैलीकै कारण पार्टी विभाजित हुन पुग्यो, विरोधीहरुको मोर्चा बन्यो, केन्दिय सरकार ढल्यो ,प्रदेश सरकारहरु ढले, स्थानीय निर्वाचनमा पहिलो हुनुपर्ने पार्टी दोस्रोमा खुम्चिन पुग्यो, आफ्नो घमण्ड र अहंताका कारण महिनौसम्म जनताको प्रतिनिधिसभालाई बन्दक बनाइयो , आज फेरि बिना स्पष्टिकरण प्रतिनिधि सभामा सहभागी बन्न पुगेको छ, हिजो विरोध गर्नु ठिक थियो वा आज सहभागी बन्नु ठिक थियो ! परिस्थितिमा कहाँ फेरबदल भएको छ! उसको घमण्ड अहंकार र सर्वसत्तावादी चिन्तनकै कारण विपक्षीहरुलाई फाइदा भइरहेको वा विपक्षीहरुले फाइदा उठाईरहेको कुराको आत्मा समिक्षा गर्न पर्ने कि नपर्ने ? उस्को सोचाइमा उसले भिन्नलाई समाप्त पार्न चाहन्छ , तर उस्कै कारणले गर्दा भिन्नहरु आफ्नो अस्तित्व रक्षाको निमित्त एक ठाउँ जोडिन पुग्दछन् ।

यदि साच्चिकै ओलीजीको नेतृत्वसँग राजनीतिमा राम्रो ज्ञान हुन्थ्यो भने जतिबेला गठबन्धन वालाहरु एमसिसीको सवालमा घमासान परिरहेको थियो, माधव नेपाल र प्रचण्डजीहरु सडक आन्दोलनमा उत्कर्षमा पुग्नु भएको थियो, जस्ले गर्दा नेपाली काङ्ग्रेसमा ठूलो नैतिक सङ्कट आइपरेको थियो, यो सङ्कट समाधानको निमित्त सम्भवत चार पटकसम्म नेकाका प्रतिनिधिहरु ओलीजीको निवासमा पुगेका थिए, समस्याको गाँठो फुकाइदिन अनुनय विनय गरेका थिए, त्यतिबेला १४ सांसद र सभामुखको कारबाहीको विषय बिनानै एमसिसीलाई काङ्ग्रेसको साथमा अनुमोदन गरिदिएको भए गठबन्धन स्वत विघटन हुन्थ्यो र सायद काङ्ग्रेस एमाले सरकार बन्ने सम्भावना रहन्थ्यो, जस्ले स्थानीय निर्वाचनमा अन्य साना पार्टीहरुको यो अवस्था रहनेनै थिएन ।

प्रचण्ड र माधवजीहरुको आज जुन पोजिसन देखिएको छ, त्यो पोजिसनमा भारि गिरावट हुने थियो । तर ओलिजी र वहाँको पार्टीलाई कुनै विचार सिद्धान्तले छेकेको होइन कि मात्र घमण्ड र अंहकारले ! आज हामी देखि रहेका छौ कि यो सभामुख रहदा सम्म सदन चल्न दिदैनौ र सहभागी पनि हुदैनौ भन्ने साथीहरू शदनमा शगौरवका साथ सभामुख महोदय भनिरहेका छन्।

स्थानीय निर्वाचनको परिणामले केही पार्टी र तिनका नेताहरु केही हौसिएका पनि देखिन्छन, गठबन्धन वालाहरु मध्ये माओवादिको चुरिफुरी अलि बढेको देखिन्छ, गठबन्धनबाट बढी फाइदा पनि नेपाली काङ्ग्रेस र माओवादीलाई नै पुगेको छ, झण्डै ७० प्रतिशत स्थानहरुमा माओवादी काङ्ग्रेस गठबन्धन भएको छ, दुवैको मतहरुको योगफलमा मात्र यो परिणाम आईपुगेको हो । जसपा, एकीकृत र जनमोर्चाको ३० प्रतिशत मात्र गठबन्धनमा सहभागीता रहेको छ, यदि गठबन्धन नभैदिएको भए काङ्ग्रेस र माओवादिको मतसंख्या धेरै तल झर्दथ्यो भने एमाले माथि निक्लने थियो ।

यहाँबाट पनि राजनीतिको समिक्षा गर्नु न्यायसंगत र वस्तुपरक हुने गर्दछ । आजको परिणाम र मतदाताको मनोविज्ञानलाई अध्ययन गर्दा जनताहरु विकल्पको खोजिमा रहेको देखिन्छन ! आज चलनचल्तीमा रहेका पार्टीहरु र तिनको यथास्थितिवादी चिन्तन प्रणाली र संस्थागत भ्रष्टाचारको संस्कृतिबाट मतदाता सन्तुष्ट रहेका देखिदैनन् । काठमाडौं जस्तो ठाउँमा ठूलापार्टि हरुलाई गिज्जाउदै बालेन शाह हरु अगाडि आउनु, दलहरू र तिनको नेतृत्वबाट आक्रोशित जनताहरु पछाडि फर्कने प्रयास स्वरुप राप्रपाको उदय हुनु, तिनका उम्मेदवारहरुले दलका प्रतिनिधिहरुलाई च्यालेन्ज गर्ने कुराले स्पष्ट सङ्केत गर्दछ ।

के अनुमान गर्न सकिन्छ भने आगामी दिनहरुमा जनता यिनै चलनचल्तीमा रहेका पार्टीहरु जो विचार, आदर्श, संस्कार, नैतिकता र सस्कृतिबाट क्रमशः स्खलित भई रहेका छन् , यिनको नेतृत्व र अनुशासन भित्र बसिरहन्छन् भन्नू यथार्थ हुन सक्दैन। अहिलेकै निर्वाचनमा हामीले देखेउँ कि काङ्ग्रेसबाट रुष्ट कार्यकर्ता एमालेतिर या एमालेबाट रुष्ट काङ्ग्रेस तिर या भनौं कि यिनै चलनचल्तीमा रहेका पार्टीहरुकै बीचमा अदलाबदलि भैरहेका देखिन्छन, यो चक्र आगामी दिनहरूमा अझ बढेर जानेछ र आउने स्थानीय निर्वाचनसम्म अनुशासनको डण्डाले रोक्न सकिने छैन् ।

स्थानीय निर्वाचनको समीक्षा गर्दा यो निर्वाचन यति धेरै खर्चिलो र बोझिलो बन्न गएको छ कि सामान्य व्यक्ति मध्यम वर्गको सामान्य कार्यकर्ताले यो निर्वाचनमा सहभागी बन्ने हिम्मतनै गर्न सक्दैन , सामान्यतया कुनै स्थानको वार्ड अध्यक्ष उठ्नको लागि आठ÷दस लाख खर्च गर्नुपर्ने, कुनै स्थानको मेयर पदमा सहभागी बन्नको लागि बिसलाख भन्दा माथि खर्च गर्न सक्ने व्यवस्था हुनुपर्ने जुन अवस्था छ त्यसले यो निर्वाचन प्रणाली तिनै तहको निर्वाचन जमिन्दार, भुमाफिया र धनाड्य वर्गको मात्र बन्न गएको छ ।

निर्वाचन सम्बन्धि यो प्रकृयालाई निरुत्साहित गर्ने विधिको विकास गरिएन भने भ्रष्टाचार नियन्त्रण होइन कि अझ डरलाग्दो रुपमा विकास गरेर जाने कुरा सर्वविदितै छ । सभासदले राजीनामा दिएर मेयर लड्न आई राखेका छन्, अधिकृतको जागिर छोडेर स्थानीय निर्वाचनमा आईरहेका छन् टिकटको किनबेचको कुरा भएको गाइगुई सुनिने गर्दछ, किन ? किनकि स्थानीय निकायमा करोडौ बजेट छुट्टिएको हुन्छ, बीस भन्दा बढी स्थानीय निकायहरू नगर र गाउँपालिकाको अधिनस्त हुने गर्दछन्, त्यहा पाँच/सात सय कर्मचारी रहेका हुन्छन् विकासका कामका योजनाहरु नगरलेनै बनाउने गर्दछ, तलब भत्ता गाडी घोडाको सुविधा त्यहाँ छुट्टाईएको छ, भ्रष्टाचार गर्नको निमित्त स्थानीय निकाय उर्वरा भूमिमा पर्दछ । त्यसैले गर्दा व्यक्ति त्यहाँ पुग्नको निम्ति तछाडमछाड, हानथाप, किनबेच, घात अन्तर घातका घटनाहरु भइराखेका छन् ।

आजको हाम्रो जुन शासकीय स्वरुप रहेको छ, यो प्रणालीबाट कुनै आधारभुत रुपमा सकारात्मक परिणाम आउने छ भनेर कल्पना गर्न सकिदैन । यो अहिलेको शासकीय स्वरुपबाट नयाँ अनुहार आउने सभावना अत्यन्त न्यून रहेको हुन्छ , सहजै पुर्वानुमान गर्न सकिन्छ कि यसै वर्ष हुने निर्वाचनमा उनै पुराना बासि अनुहारहरु, टेस्टेट भई सकेका सत्तरी वर्ष नेटो काटेका वृद्धहरु नै पुनः सत्तामा आउनेछन् । केपी ओली, शेरबहादुर, प्रचण्ड, माधव, झलनाथ वा बाबुराम यिनै गोलचक्कर भित्र राजनीति घुमिरहने छ। यहि चक्र बारम्बार दोहोरिने छ, संख्या पुग्यो भने एक्लै पुगेन भने यहि ५/७ दल भित्रका वृद्धहरुको टोलि सत्तामा सहभागी बन्ने छन् । मिलिजुली वा पक्ष विपक्षको प्रक्रिया मार्फत उनै चेहरा बारम्बार घुमि रहनेछन् । यी मध्ये कुनै इमानदार र नैतिकवान पात्र सत्तामा पुगेछ भनेपनि यो शाशकिय स्वरुपमा उस्ले आफ्नो कोर टिम निर्माण गर्न सक्ने छैन र सकारात्मक परिणाम आउने छैन । उ पनि पुरानै फ्रेमवर्क भित्र बाधिएर बस्नु पर्नेछ ।

यसर्थ देशको प्रगति र उन्नतिको निम्ति नया पुस्तालाई नेतृत्वमा ल्याउनका निम्ति शासकीय स्वरुपको परिवर्तन अनिवार्य सर्त हो । त्यसको लागि देशको कार्यकारी प्रमुख संसदले चुन्ने होइन कि प्रत्यक्ष जनताको मताधिकार द्वारा कार्यकारी प्रधानमन्त्री वा कार्यकारी राष्ट्रपतिय प्रणालीमा जान आवश्यक छ । त्यो प्रक्रियामा प्रवेश गरियो भने देशका सबै सक्षम नेतृत्वहरुले प्रतिस्पर्धा गर्ने छन्, उन्नत लोकतन्त्रको अभ्यास हुनेछ, त्यो प्रक्रियामा राजेन्द्र लिङ्देनदेखि महत्त ठाकुरसम्म, ज्ञानेन्द्र शाहदेखि प्रचण्डसम्म झलनाथ, माधव, केपीजी, बाबुराम, उपेन्द्र र बालेन शाह जस्ता नया युवाहरू त्यो प्रक्रियामा सहभागी हुन पाउनेछन् । त्यो प्रक्रियाले एकहद सम्म क्षेत्रियता र जातियताको पनि समाधान गर्ने छ।

आजको यो भयावह र फोहोरी राजनीतिबाट अगाडि बढ्नको लागि कार्यकारी राष्ट्रपतीय प्रणाली अनिवार्य सर्त हो । देशमा आज देखा परेको अराजकता, सबै ठाउँहरूमा भएको राजनीतीकरण, भ्रष्टाचार र कमिसनखोरिको जुन महाजाल छ, पार्टी नेतृत्वहरु जुन बदनाम बन्दै गएका छन्, त्यस्ले जनतामा नेतृत्व र व्यवस्था प्रतिनै घृणा उत्पन्न हुन पुगेको छ जस्ले गर्दा गणतन्त्र र सङ्घियता प्रतिनै जनताको गलत धारणाको विकास भएको छ। जस्ले गर्दा जनताहरु पछाडि फर्कन थालेको आभास हुन थालेको छ, तीन पुस्ताले सङ्घर्ष गरेर प्राप्त गरिएको गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दछ भन्ने चिन्तनहरु देखापरेका छन्, ती चिन्तनहरु सङ्गठित रुपमा अहिलेको निर्वाचन प्रक्रियामा पनि देखा पर्याे । त्यसको निराकरणको लागि जनतालाई अग्रगामी दिशामा डोर्याउनको निमित्त नेतृत्वहरुको चिन्तन र व्यवहारमा परिवर्तन हुन आवश्यक छ।

अहिले गरिएको स्थानीय तहको जनमत सङ्ग्रहबाट कोहि हौसिन र कोहि खुम्चिन आवश्यक छैन । जरुरी यो कुराको छकि जनताको अहिलेको अभिमतबाट शिक्षा लिएर सबै पार्टी र तिनका नेतृत्वले आत्मा समीक्षा गरुन, प्रदूषित बनेको राजनीतिलाई स्वच्छ बनाउने दिशामा अघि बढ्न विचार मिल्नेहरुबीचको एकतालाई अगाडि बढाउन सकेमा मात्र हामी सहि दिशामा अगाडि बढ्ने छौँ । भिन्नको अस्तित्व न स्विकार्दासम्म सहि दिशामा अगाडि बढ्न सकिने छैन । बरु त्यो चिन्तनले विघटनलाई नै मलजल गर्नेछ ।

युवाहरूलाई विश्वास गरेर नेतृत्वतहमा नल्याउदा सम्म जनताको विश्वास जित्न सकिने छैन र अगाडि बढ्न सकिने छैन ।आजको परिस्थितिको बारेमा चिन्तन गर्ने युवाहरूले साहस गर्न जरुरी भएको छ । सबै पार्टीहरुमा दशौं हजार युवाहरू रहेका छन्, ती युवा हरु आफ्नो पार्टीका बुढो पुस्ताको गुणगान र प्रशंसामा, जिन्दावाद र मुर्दावादमा मात्र अल्मलिरहँदा विकासको चक्र अगाडि बढ्ने छैन, यो तरिकाले आफ्नो ज्ञान, क्षमता र प्रतिभाको विकास हुने छैन । यथास्थितिवादका विरुद्ध झण्डा उठाउनेहरुले नै इतिहास लेख्ने गर्दछन् । भारतका नेहरु, गान्धी र पटेलहरु यथास्थितिवादका विरुद्ध लडेरै नेतृत्वमा आएका थिए, विपि पुष्पलाल, गणेशमान र मनमोहनहरु पनि त यथास्थितिवादका विरुद्ध लडेरै नेतृत्वमा आएका थिए । केपी, माधव, झलनाथ, मोहनविक्रम, प्रचण्ड, बाबुराम सबै सबै पंचायती यथास्थितिवादका विरुद्ध लडेर अगाडि आएका थिए । अघिल्लो पुस्ता व्यवस्थामा रहेका यथास्थितिवादका विरुद्ध लडेका थिए भने आजको युवापुस्ता पार्टी भित्रै रहेको यथास्थितिवादका विरुद्ध सङ्घर्ष गर्न जरुरी भएको छ ।

अनुशासन र अराजकताको बीचमा पनि द्वन्द्वात्मक सम्बन्ध रहेको हुन्छ, इतिहासमा कहिलेकाही अराजकता वा विद्रोह पनि प्रधान बन्ने गर्दछ । त्यसैले आजका युवाहरू केही मूर्ख बन्न जरुरी छ केही अराजक बन्न जरुरी छ, काठमाडौंमा बालेन शाहले जिते हुन्थ्यो भनेर कामना गर्ने मात्र होइनकि हजारौं हजार युवाहरु सङ्गठित रुपमा बालेन शाह नबन्दासम्म देश अगाडि बढ्ने छाँटकाँट देखिदैँन, युवाहरुलाई हिम्मत गर्नको निमित्त ०७९ सालको निर्वाचनको परिणामले सङ्केत गरिरहेको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

अढाई करोडका सिन्काले दाँत कोट्याउँछन् नेपाली ! पौडी खेल्ने क्रममा दुई भारतीय नागरिकको मृत्यु तत्कालीन नेकपाका बहुमत सदस्यको भेटवार्ता, के भयो कुराकानी ? सरसफाइका लागि कठोर नीति ल्याउँदै तुलसीपुर चट्याङ लागेर ३ बाख्रा र एक भैंसी मरे, एक महिला घाइते जन्ती हिँडेको ट्याक्टर दुर्घटना, १ जनाको मृत्यु फूलहरूलाई के हिउँद, के बर्खा (फोटोफिचर) बुटवल मण्डपको नाम फेर्ने उपमहानगरको निर्णयप्रति व्यवसायिक संघ-संस्थाहरुको असहमति, फिर्ता लिन माग तुलसीपुरका पानी मुहान क्षेत्रमा चुनढुगा उत्खननको तयारी, खानेपानी संस्थाको बिरोध एमालेभित्रको अन्तर्घात छानबिन गर्न कार्यदल तिलोत्तमालाई युवामैत्री स्थानीय शासन घोषणा गर्न प्रतिबद्धता छोरी भएर जन्मिनु विडम्बना हो ! अर्थ मन्त्रालयले लुकायो बजेट भाषणको अघिल्लो दिनको सीसीटीभी फुटेज हस्ताक्षर किर्ते गरी छ्यालिस लाख रुपियाँ अपचलन गर्ने कर्मचारी पक्राउ पन्ध्र प्रतिशत दलित बालबालिका विद्यालयको पहुँच बाहिर पत्रकार पन्थीको ‘अन्ट्रान्सलेटेबल’ विश्वका १२ देशमा अमेजनमार्फत हार्डकभर र पेपरब्याकमा विपद्बाट हुने क्षति न्यूनिकरण गर देशको आर्थिक अवस्था गम्भीर संकटमा : प्रचण्ड सेयर बजारमा हरियाली बुटवलमा साइन्स-म्याथ ओलम्पियाड, कान्ति माविका शिशिर प्रथम