ताजा अपडेट »

लुम्बिनीको पर्यटनमा लागिरहेका जापानका कासाई

आइतबार, ०८ जेठ २०७९, ०९ : २८
8 Shares


भैरहवा । जेठ २ गते बुद्धजयन्तीको एक दिन अगावै प्रधानमन्त्री शेरबहादुर देउवा लुम्बिनी आइपुगेका थिए । करिब ४ बजे नै लुम्बिनी आइपुगेका देउवाको लागि होटल कासाईमा बासको ब्यवस्था मिलाइएको थियो । उनिसंगै करिब १ दर्जन मन्त्रीहरु पनि सोही होटलमा बसेका थिए ।

लुम्बिनी बिकास कोषको हाताभित्रै रहेको होटल कासाईको बसाई सुरक्षित र उत्तम मानिन्छ । लुम्बिनी विकास कोषको प्रधान कार्यालय नजिकै रहेको ३ तारे होटल निर्माण गर्ने ब्यक्ति हुन टोकुशिन कासाई ।

नागरिकताको दृष्टिले जापानका नागरिक हुन् टोकुशिन कासाई । तर, उनलाई लुम्बिनीसंग सम्बन्धित ब्यक्तिहरु नचिन्ने कमै छन । जापानमा बसेरपनि लुम्बिनीको पर्यटन र यसको प्रवद्र्धनमा काम गरेका टोकुशिन कासाइको एउटा प्रयास मात्र हो,त्यहाँ होटल सञ्चालन । लुम्बिनी बिकास कोष स्थापनापछि त्यहाँ आउने पाहुनाहरुको लागि स्तरीय बासको ब्यवस्था नहुँदा कासाईले सन २००९ मा उक्त होटल सञ्चालनमा ल्याएका हुन् ।

ब्यवसाय गर्ने उद्देश्य सबैको हुन्छ । तर, कासाई ब्यवसायको साथै गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा आउने तिर्थालुहरुको लागि सेवा पु¥याउने उद्देश्य सहित सञ्चालनमा आएको कासाईका कन्सल्टेन्ट बिशाल कुमार राजभण्डारी बताउँछन । होटलले बुद्ध जयन्तीको अवसर पारेर ५ हजार जनालाई भोजन दान गर्ने गरेको छ । यस वर्ष पनि बुद्ध जयन्तीमा ४ हजार बढीलाई भोजनदान गरिएको राजभण्डारीले जानकारी दिए । यसको साथै अन्य समयमा लुम्बिनी आउने भिक्षुहरुको बसाईदेखि उनिहरुको भोजनको पनि होटलले प्रबन्ध मिलाउने गरेको छ ।

टोकुशिन कासाईले लुम्बिनीको लागि किन यति गरे त ? यस बारेमा उनिसंग प्रश्न गर्दा उनले बुद्धमा बिश्वास भएको कारण यो सबै गरेको बताउँछन् । “एक पटक म नराम्ररी बिरामी भए, रोगले ग्रसित मेरो धेरै उपचार गर्दा पनि सन्चो नभएपछि कसैको सल्लाहमा लुम्बिनी आए । कासाईले भने “लुम्बिनी आएर पूजा गरे र रोगबाट ग्रस्त म निको भए र त्यसपछि लुम्बिनीकै प्रवद्र्धनमा लागे ।”

उनि भगवान गौतम बुद्धको जन्म भएको र उहाले कपिलवस्तुमा २९ वर्ष बिताएको बिश्वस्त भएको हुनाले यसको प्रचार–प्रचारमा लागेका छन । “जसरी म रोगले ग्रस्त भएर लुम्बिनीमा पूजा गरेर स्वस्थ भए, त्यसरी नै विश्वका समस्त धर्मावलम्बीहरु पनि लुम्बिनीमा आएर पूजा गरे उनिहरुको विश्वास बलियो हुन्छ ।” उनले भने “यसले बुद्धको उपदेश पनि संसारभर फैलिन्छ भनेर मैले सके सम्म लुम्बिनीमा विश्वबाट पर्यटक आवोस भनेर आफ्नो तर्फबाट प्रयास गरि रहेको छु ।”

संयुक्त राष्ट्र संघका तत्कालीन महासचिव उथान्त लुम्बिनीको भ्रमणमा आएपछि लुम्बिनीको विकासमा कोसेढुङ्गा सावित भयो । कासाईको भनाईमा उनले बुद्धकोे जन्म नेपालमा भएको र यसको प्रचार प्रसारमा सहयोग गर्नु पर्छ भनेर नै लुम्बिनीलाई आजको अवश्थामा पु¥याएका हुन् । उनै उत्थान्तको कदर गर्न र उनलाई सबैलाई सम्झनामा राखुन भनेर कासाईले उत्थान्तको शाकिक समेत स्थापना गरेका छन् ।

लुम्बिनी मात्र नभई कपिलवस्तुको तिलौराकोटमा बुद्धले २९ वर्ष ब्यतित गरेका हुन् र यसलाई पनि विश्व सम्पदामा सूचिकृत हुन सहयोग पु¥याउदै आएका छन् । लुम्बिनीपछि कपिलवस्तुको उत्खनन् र संरक्षणका लागि युनेस्कोलाई २ करोड रुपैँया सहयोग गरेको उनले बताए । कपिलवस्तुलाई प्राचीन शाक्य राजधानीको रुपमा विश्व सामु परिचित गराउन यो सहयोग गरेको उनको भनाई छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।