ताजा अपडेट »

भलवारी जेसीजद्वारा मुस्ताङको जन-नर्मल माध्यमिक विद्यालयलाई आर्थिक सहयोग

शनिबार, ०७ जेठ २०७९, २० : ३०

बुटवल । रूपन्देहीको तिलोत्तमामा क्रियाशील भलवारी जेसीजले गण्डकी प्रदेश अन्तर्गत मुस्ताङ् जिल्लाको एक विद्यालयमा सहयोग कार्यक्रम सम्पन्न गरेको छ ।

आफ्ना व्यक्तिगत भ्रमण वा जेसीजका भ्रमण; भलवारी जेसीजले देशका विभिन्न जिल्लामा कार्यक्रम गर्ने क्रममा शनिबार मुक्तिक्षेत्र गाउँपालिकास्थित जन-नर्मल माध्यमिक विद्यालयमा सहयोग गरेको हो ।

भलवारी जेसीज वर्ष २०२२ का अध्यक्ष किशोर पंगेनीले आफ्नो मुस्ताङ् भ्रमणका क्रममा शाखाका तर्फबाट खाद्यान्न सहित तीस हजार रूपियाँ बराबरको सहयोग गरेका हुन् ।

आन्तरिक पर्यटन पवद्र्धनका लागि कास्की, म्याग्दी, मुस्ताङ् तथा चितवनको भ्रमण गर्ने क्रममा भलवारी जेसीजको टोलीले मुक्तिक्षेत्रको घुसाङ्मा पुग्दा सो विद्यालयको अवस्था कमजोर पाएको भन्दै सहयोग गरेको हो ।

भलवारी जेसीजका प्रथम महिला आस्था पंगेनी र वर्ष २०२२ का उपाध्यक्ष मीनप्रसाद तिवारीको उपस्थितिमा विद्यालयका प्रधानाध्यापक श्यामकुमार गुरूङ्लाई रकम हस्तान्तरण गरिएको त्यहाँबाट मुना ज्ञवालीले जानकारी दिए ।

हिमाली भेगमा भएकोले विभिन्न गाउँबाट आई त्यहीँ बसोबास गरी पढ्ने विद्यार्थी समेत अधिक संख्यामा रहेको र नेपाल सरकारले त्यस्ता विद्यार्थीमध्ये ४० जनाको लागि अनुदान दिने गरेकोमा अन्य विद्यार्थीका लागि दान तथा सहयोगमा भर परिरहेको प्रधानाध्यापक गुरूङ्ले गुनासो गरे । सो विद्यालयमा हाल १ सय २० जना विद्यार्थी अध्ययनरत छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।