ताजा अपडेट »

५७० पालिकाको सकियो मतगणना, कुन दलले कति पालिका जिते ?

विहीबार, ०५ जेठ २०७९, १४ : १९
4 Shares

काठमाडौं ।  देशका ७५३ पालिकामध्ये ५७० वटामा मतगणना सकिएको छ । मतगणना सकिएका पालिकामध्ये सबैभन्दा बढीमा नेपाली कांग्रेसले जित निकालेको छ । कांग्रेसपछि दोस्रो स्थानमा नेकपा एमाले र तेस्रो स्थानमा नेकपा (माओवादी केन्द्र) रहेको छ । 

निर्वाचन आयोगका अनुसार मतगणना सम्पन्न भएका ५७० पालिकामध्ये कांग्रेस एक्लैले २५३ वटा पालिका प्रमुख तथा अध्यक्षमा जितेको छ । कांग्रेसले मतपरिणाम सम्पन्न भएकामध्ये ४४.३८ प्रतिशत पालिकामा जित निकालेको छ । एमालेले हालसम्म १६४ पालिकाको प्रमुख तथा अध्यक्षमा जित निकालेको छ । यो भनेको मतगणना सकिएका कूल पालिकाको २८.७७ प्रतिशत हो । 

माओवादले हालसम्म १०५ वटा पालिका प्रमुख तथा अध्यक्षमा जित निकालेको छ । मतगणना सम्पन्न भएकामध्ये १८.४२ प्रतिशत पालिकामा माओवादीका उम्मेदवार विजयी बनेका छन् । जनता समाजवादी पार्टी (जसपा), नेपालले हालसम्म १५ वटा पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ । यो भनेको अन्तिम मतपरिणाम आएका पालिकामध्ये २.६३ प्रतिशत हो ।

नेकपा (एकीकृत समाजवादी)ले हालसम्म १२ वटा पालिकाको प्रमुख तथा अध्यक्षमा जित निकालेको छ । मतगणना सकिएकामध्ये २.१० प्रतिशत पालिकामा एकीकृत समाजवादीको उम्मेदवारले जितेका छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपालले हालसम्म दुई वटा पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ । मतगणना सम्पन्न भएकामध्ये ०.३५ प्रतिशत पालिकामा लोसपाले जितेको छ । 

हालसम्म मतगणना सम्पन्न भएका पालिकामध्ये १९ वटामा अन्य तथा स्वतन्त्र उम्मेदवारले जितेका छन् । यो भनेको मतगणना सकिएका पालिकाको ३.३३ प्रतिशत हो । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।