ताजा अपडेट »

रुपन्देहीका ६ वटै नगर उपप्रमुखमा एमाले उम्मेदवार अगाडि

मंगलबार, ०३ जेठ २०७९, १९ : ००
4 Shares

रुपन्देही । रुपन्देहीको एक उपमहानगर र पाँच वटा नगरमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपप्रमुखका उम्मेदवारहरुले अग्रता लिएका छन् ।नगरपालिका निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार स्थानीय तह निर्वाचन अन्तर्गत आज दिउँसो सम्मको मत परीणाम अनुसार बुटवल उपमहानगरपालिका, तिलोत्तमा, सैनामैना, देवदह, सिद्धार्थनगर र लुम्बिनी साँस्कृतिक नगरपालिकाको उपप्रमुखमा एमालेका उम्मेदवारले अग्रता लिएका हुन्।

बुटवलमा एमालेका उपप्रमुखका उम्मेदवार सावित्रा अर्याल अगाडि छन् । गठबन्धन दलका तर्फबाट उपप्रमुखका उम्मेदवार नेकपा एकिकृत समाजवादी चिन बहादुर गुरुङ दोस्रो र राष्ट्रिय प्रजातन्त्र पार्टीका भगवती पाण्डे तेस्रो स्थानमा छन् ।

अर्यालले गठबन्धनका चिनबहादुर गुरुङलाई दुई हजार ४३८ मतले पछि पारेकी छन् । अर्यालले आठ हजार ८१४ मत प्राप्त गर्दा गुरुङले गठबन्धन दलबाट ६ हजार ३७६ मत प्राप्त गरेका छन् । । यसैगरि राप्रपाकी पाण्डेले दुई हजार ३६३ मत प्राप्त गरेकीछन्।

तिलोत्तमा नगरपालिकामा जागेश्वरीदेवी चौधरी झण्डै दोब्बर मतका साथ पहिलो नम्बरमा छन् । उनले तीन हजार ७७६ मत प्राप्त गरेकी छन् भने गठबन्धनका उम्मेदवार हेमलाल पाण्डे एक हजार ९१८ मतका साथ चौधरीलाई पछ्याइरहेका छन् ।

रुपन्देहीको देवदह नगरपालिकाको उपप्रमुखमा पनि एमालेले अग्रतालाई कायम राखेको छ । उपप्रमुखका उम्मेदवार विद्यालक्ष्मी गुरुङ फराकिलो मतान्तरसहित अगाडि छन् । उनले नौ हजार ५८९ मत प्राप्त गरेका छन् भने गठबन्धनका उम्मेदवार सुन्दरी गिरीले पाँच हजार १४२ मतका साथ गुरुङलाई पछ्याइरहेका छन् ।

सैनामैना नगरको १७ हजार ८४१ मत गणना हुँदा उपप्रमुखमा एमालेकी बिना राना मगर अग्रस्थानमै छन् । रानाले ७ हजार ३१७ मत प्राप्त गर्दै अग्रता कायम राखेकी छन् । गठबन्धन दलका नारायण महतले ६ हजार ९२१ मत प्राप्त गरेका छन् । उपप्रमुख राना महत भन्दा ३९६ मतले अघि रहेकीछन् ।

सिद्धार्थनगरमा २१ हजार ४६० मत गणना हुँदा एमालेका उपप्रमुख अगाडि छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारलाई ३०७ मतले पछि पार्दै एमालेकी उमा अधिकारी अग्रस्थानमा आएकी छन् । राप्रपाकी विनिता गुप्ता दोस्रो स्थानमा छिन् । अधिकारी ५ हजार ३६ मतका साथ पहिलो बनेकी छन् भने गुप्ताले चार हजार ७२९ मत प्राप्त गरेकी छन् ।

यसैगरी लुम्बिनी साँस्कृतिक नगरपालिकामा आठ हजार ११ मत गणना हुदाँसम्म नेकपा एमालेका उम्मेदवार अगाडि छन् । एमालेका उपप्रमुखका उम्मेदवार कल्पना हरिजन १८ सय ३८ मतका साथ पहिलो नम्बरमा छन् भने जनता समाजवादीकी सबनम जहाँ शेख एक हजार २८३ मतका साथ हरिजनलाई पछ्याइरहेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।