ताजा अपडेट »

मत गणना सकिएका १२ पालिकामध्ये एमाले ६ र कांग्रेस तीनमा विजयी

शनिबार, ३१ बैशाख २०७९, १७ : ०३
6 Shares

काठमाडौं । हालसम्म मतगणना सकिएका १२ पालिकामध्ये  नेकपा एमालेले ६ स्थानमा विजय हासिल गरेकाे छ भने नेपाली कांग्रेस तीन पालिकामा विजयी भएकाे छ । मनाङकाे  सबै पालिकाको मत गणना सकिएको छ । मनाङका दुई पालिका एमाले र दुई पालिकामा कांग्रेसले जितेको छ ।

त्यस्तै, मुस्ताङको चार पालिकाको पनि मत परिणाम सार्वजनिक भइ सकेकाे छ । जहाँ तीन पालिका एमालेले जितेको छ । त्यस्तै, डोल्पाको एक पालिका पनि एमालेले जितेको छ । 

१२ पालिकामध्ये एमाले पहिलो स्थानमा, कांग्रेस दोस्रो र नेकपा एकीकृत समाजवादी दुई पालिका जितेर तेस्रो स्थानमा छ । नेकपा माओवादी केन्द्रले एक पालिका जितेकाे छ ।  

नेपाली कांग्रेसले मनाङका दुई र मुस्ताङका एक गरी तीन पालिका जितेर दोस्रो स्थानमा छ । नेकपा एकीकृत समाजवादी दुई पालिका निर्विरोध निर्वाचित भएको हाे । भने नेकपा माओवादी केन्द्रले डोल्पाबाट खाता खोलेको छ । 

नेकपा एमाले 

मनाङकाे चामे गाउँपालिकाकाे अध्यक्षमा एमालेका लोकेन्द्रबहादुर घले दोस्रो पटक निर्वाचित भएका छन् । ६ सय १० मत खसेको गाउँपालिकामा उनले तीन सय २० मत ल्याएर विजयी भएका हुन् । 

उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका छिरिङ दोर्जे लामाले दुई सय ७९ मत पाए । उपाध्यक्षमा भने तीन सय २५ मत ल्याउँदै कांग्रेसकी मिङ्मार डोमा लामा विजयी भएकी छिन् ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा यो पालिकाको अध्यक्षमा घले नै निर्वाचन चएका थिए भने उपाध्यक्ष कांग्रेसले जितेको थियो । यो पटक पनि उपाध्यक्ष कांग्रेसले नै जितेको हो । 

त्यस्तै मनाङ ङिस्याङ गाउँपालिकाको अध्यक्षमा एमालेका कान्छा घले निर्वाचित भएका छन् । घले आठ सय ६१ मत ल्याई विजयी भएका हुन् । कांग्रेसका छिरिङ ओङ्मा गुरुङले सात सय १३ मत पाए । उपाध्यक्षमा भने स्वतन्त्र उम्मेदवार छिरिङ गुरुङ सात सय ४४ मत ल्याई विजयी भए । कांग्रेस उम्मेदवार रिन्जेन धोर्जे गुरुङले सात सय १९ मत पाए ।

मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिकामा पनि एमाले विजयी भएको छ । एमाले उम्मेदवार लोप्साङ छोम्पेल विष्ट विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका देवबहादुर गुरुङ एक सय ८५ मत प्राप्त गरेका छन् । विष्ट यसअघि ०७४ सालको स्थानीय तह निर्वाचनमा स्वतन्त्र रूपमा निर्वाचित भएका थिए । 

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा पनि एमाले विजयी भएको छ । एमालेका रिङ्जिन नामगेल गुरुङ आठ सय ६७ मत ल्याई विजयी भएका हुन् । उनका प्रतिस्पर्धी कांग्रेसका आङ्जेन गुरुङले पाँच सय ७७ मत ल्याए । उपाध्यक्षमा एमालेकै ढिकी गुरुङ सात सय ४९ मत ल्याई विजयी भएकी छिन् । कांग्रेसकी धेच आङ्मो गुरुङले ६ सय ७७ मत ल्याएकी छन् । 

मुस्ताङकै लोमान्थाङ गाउँपालिकामा एमालेका टसी गुरुङ विजयी भएका छन् । उनले कांग्रेस उम्मेदवार टासी नुर्वु गुरुङलाई एक सय ५४ मतान्तरले पराजित गरेर विजयी भएका हुन् । टसीले ६ सय ६८ मत पाउँदा टासी नुर्बुले पाँच सय १४ मत मात्रै ल्याए ।  

उपाध्यक्षमा एमालेकै छिमी विष्ट विजयी भएकी छिन् । उनले कांग्रेसकी छिरिङ ढाेका गुरुङलाई ९४ मतान्तरले हराइन् । छिमीले ६ सय ३२ मत पाउँदा छिरिङले पाँच सय ३८ मत पाइन् । 

डोल्पाको शे-फोक्सुण्डो गाउँपालिकाको अध्यक्ष एमाले उम्मेदवार विजयी भएका छन् । एमाले उम्मेदवार धावा सम्डुक गुरूङ निर्विरोध वियजी भएका हुन् । नेकपा एमाले डोल्पाका सचिव समेत रहेका गुरूङबाहेक अन्य कसैको पनि उम्मेदवारी नपरेपछि उनी निर्विरोध भएका हुन् । 

नेपाली कांग्रेस :

नेपाली कांग्रेस अहिलेसम्म तीन पालिकामा विजयी भएको छ । सबैभन्दा बढी क्षेत्रमा अग्रता लिइरहेका कांग्रेसले मनाङको दुई गाउँपालिका र मुस्ताङको एक पालिका गरी तीन पालिकामा विजयी भइसकेको हो । 

मनाङको नार्पा भूमि गाउँपालिका र नासोँ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसले अध्यक्ष जितेको छ । नार्पा भूमिबाट कांग्रेसका कोन्जो तेन्जिङ लामा विजयी भएका छन् । लामा एक सय ५८ मतसहित गाउँपालिकाको अध्यक्षमा विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार कृष्ण लामाले एक सय ११ मत पाए । खसेको तीन सय चार मतमध्ये ३५ मत बदर भएको छ । 

उपाध्यक्षमा भने एमालेका फुन्चो लामा निर्विरोध निर्वाचित भइसकेका छन् । नार्पाभूमि गाउँपालिकाको अध्यक्षमा ०७४ सालमा नेपाली कांग्रेसले नै जितेको थियो । त्यसबेला यहाँ निर्विरोध अध्यक्ष चयन भएका थिए । 

मनाङको नासोँ गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार धनबहादुर गुरुङ विजयी भएका छन् । उनले आठ सय २० मत ल्याएका छन् । एमालेका मनबहादुर गुरुङले ६ सय ४६ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा माओवादीका वेदबहादुर गुरुङ नाै सय १३ मत प्राप्त गरेर विजयी भएका छन् । 

त्यस्तै, मुस्ताङको घरपझोङ गाउँपालिकामा नेपाली कांग्रेसका मोहनसिंह लालचन विजयी भएका छन् । उनी सात सय ६० मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी एमालेका सञ्जयकुमार थकालीले सात  सय ५८ मत ल्याए ।

२०७४ सालमा नेकपा एमालेको तर्फबाट आशबहादुर थकाली विजयी भएका थिए । उपाध्यक्षमा कांग्रेसकी जमुना थापा मगर ६ सय ९३ मत ल्याई विजयी भएकी छन् । एमालेकी मिमकुमारी शेरचनले ६ सय १८ मत ल्याइन् । 

नेकपा माओवादी केन्द्र 

नेकपा माओवादी केन्द्रले पनि खाता खोलेको छ । डाेल्पाकाे जगदुल्ला गाउँपालिकामा उसले खाता खोलेको हो । माओवादीका नारा सिं रोकायले सात सय ७० मत ल्याएर विजयी भएका छन् ।

उनका प्रतिस्पर्धी एमालेका हेमबहादुर महतराले सात सय ४६ मत प्राप्त गरे । उपाध्यक्षमा पनि माओवादीकै अमृता बोहोरा सात सय ५९ मत ल्याई विजयी भएकी छिन् । उनका प्रतिस्पर्धी एमालेकी चन्द्रावती थापाले सात सय ४९ मत प्राप्त गरिन् । 

नेकपा एकीकृत समाजवादी निर्विरोध  

नेकपा एकीकृत समाजवादीले डोल्पाका दुई पालिकामा निर्विरोध भइसकेको छ ।  काइके गाउँपालिका अध्यक्षमा अंगदकुमार राना निर्विरोध भएका थिए । उपाध्यक्षमा कांग्रेसका निमा बुढा निर्विरोध भएका थिए । २०७४ सालमा उनी नेकपा एमालेबाट निर्वाचित भएका थिए । 

डोल्पाकै छर्का ताङसोङ गाउँपालिकमा नेकपा एकीकृत समाजवादी सोनाङ गुरुङ निविरोध भएका थिए । २०७४ सालमा उनी स्वतन्त्रबाटै पालिका अध्यक्ष बनेका थिए । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।