ताजा अपडेट »

भैरहवा मतगणना स्थलमा सीसी टिभी र तारजाली (फोटोफिचर)

विहीबार, २९ बैशाख २०७९, १८ : ३५
6 Shares

भैरहवा । शुक्रबार हुन लागेको स्थानीय तहको निर्वाचनका लागि रुपन्देहीको सिद्धार्थनगर सहित जिल्लाभरका मतदान स्थलको तयारी अन्तिम चरणमा छ । जिल्लाभर २८ मतदान स्थलका सात सय मतदान केन्द्रमा निर्वाचन अधिकृतसहितको जनशक्ति निर्वाचन सामग्रीसहित खटिएका छन् ।

सुरक्षाका लागि नेपाल प्रहरी र म्यादी प्रहरी मतदान स्थलमा तैनाथ छन् । रुपन्देहीको संवेदनशील सूचीमा रहेका १२८ र ६२ वटा अतिसंवेदनशील मतदान स्थलमा सुरक्षा चुनौतीलाई ख्यालमा राख्दै अतिरिक्त सुरक्षाकर्मी परिचालन भएको छ । अधिकांस मतदानस्थलमा सुरक्षाकर्मी, कर्मचारी मतपत्रसहित पुगिसकेका जिल्ला निर्वाचन कार्यालयका प्रमुख अयोध्या भण्डारीले जानकारी दिए ।

मतदान केन्द्रहरुको बाँस गाडेर, रस्सीको सहायताले मतदान केन्द्रहरु तयार गरिएको छ । यस्तै प्रत्येक मतदान केन्द्रमा महिला, पुरुषको लागि अलग अलग लाइन लाग्ने गरि ब्यवस्था मिलाइएको छ भने अपाङ्ग, अशक्त तथा ज्येष्ठ नागरिकलाई लाइन लाग्न नपर्ने गरी छुट्टै व्यवस्था गरिएको छ । ३८ राजनीतिक दल चुनावी प्रतिष्पर्धामा रहेको रुपन्देहीमा रुपन्देही जिल्लामा तीन लाख आठ हजार ५७४ महिला, तीन लाख २३ हजार ७७८ जना पुरुष र आठ जना अन्य गरी कुल ६ लाख ३२ हजार ३६० जना मतदाता रहेका छन् ।

निर्वाचनलाई लक्षित गर्दै २४ सय म्यादी प्रहरीसहित तीन हजार ८०० प्रहरी भित्रि सुरक्षामा रहनेछन् । यसैगरी मतदान स्थलको बाहिरी सुरक्षामा सशस्त्र प्रहरी र त्यसपछि नेपाली सेना खटिनेछ । यसबाहेक प्रहरी अधिकृतसहितको नेपाल प्रहरीको गस्ती टोली, सशस्त्र प्रहरीको गस्ती र नेपाली सेनाले पनि गस्तीमार्फत सुरक्षा दिइने जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ  ।

३८ राजनीतिक दल चुनावी प्रतिष्पर्धामा रहेको रुपन्देहीमा ६ लाख ३२ हजार ३६० मतदाता छन् । सिद्धार्थनगरमा १३ वटा वडा छन, अधिकांश वडामा तयारी पूरा भए पनि केहीमा भने ढिलाई भएको छ, कतिपय साँघुरो मतदान स्थल भएकोले कठिनाइ भए पनि व्यवस्थापन भइरहेको छ । 

मतगणनामा तारजाली र सीसी टिभी 

निर्वाचन आयोगले मतपत्रको सुरक्षाका लागि मतगणनास्थलमा तारजाली र सीसी टिभीको प्रयोग गरिरहेको छ । पालिकास्थित अधिकांस गणना स्थलमा मतगणनाका लागि व्यवस्थापन भइरहेको छ । आयोगले सबै मतगणनामा मतपत्रको सुरक्षाका लागि मतगणना स्थलमा तारजाली र सीसी टिभी अनिवार्यको व्यवस्था गरेको हो । 

सिद्धार्थनगर नगर पालिकाको मतगणना भैरहवा नमुना माध्यमिक विद्यालयमा गर्ने गरी व्यवस्थापन मिलाइएको छ । मतगणनाका लागि दुईवटा हलमा विभिन्न समूहमा मतगणना हुन्छ ।   

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।